धरान । तीजको अवसरमा महिला सञ्जाल धरानको आयोजनामा तीन दिने महिला उद्यमी मेला बिहीबारदेखि शुरु भएको छ ।

मेलामा सुनसरीलगायत विभिन्न जिल्लाका ३० वटा स्टल रहेका छन् । जहाँ महिला उद्यमीले उत्पादन गरेका हस्तकलादेखि खाद्य परिकारसम्म रहेका छन् । महिलाहरूले उत्पादन गरेका वस्तुलाई बजारीकरण गर्ने उद्देश्यका साथ मेला शुरु भएको हो । मेला शनिबारसम्म चल्ने छ ।

धरान–१२ स्थित छाताचौक नजिकै लागेको मेलाको उद्घाटन प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले गरे । महिला उद्यमीहरूलाई प्रदवद्र्धन गर्नका लागि गरिएको मेलाले महिला उद्यमीलाई टेवा पुग्ने कार्यक्रममा सहभागी नेताहरूले बताए । गत वर्षदेखि तीजको अवसरमा सञ्जालले मेला लगाउँदै आएको सञ्जालकी अध्यक्ष सविता चाम्लिङ राईले बताइन् ।

पछिल्लो समय तीज भड्किलो बन्दै गइरहेको सन्दर्भमा सञ्जालले भने महिला उद्यमीहरूलाई प्रवद्र्धन गर्नका लागि मेला आयोजना गरिरहेको छ । मेलामा हस्तकलाका विभिन्न सामग्री, खाद्य सामग्रीलगायत बिक्रीका लागि राखिएका छन् । सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा, काठमाडौंसम्मका महिला उद्यमीले स्टल राखेका छन् । उद्घाटनको दिन स्टलमा अवलोकन गर्नेहरू सामान्य रहेका छन् ।