ताप्लेजुङ/ एलाभेन एरोज सुनसरी ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा रेडहर्ष इलामलाई २–० गोल अन्तरले पराजित गर्दै सुनसरी फाइनलमा प्रवेश गरेको हो । खेलको ४५ औँ मिनेटमा यानिक ओनाले पहिलो गोल गरेका थिए भने ९१ औँ मिनेटमा श्याम चौधरीले दोस्रो गोल गरेका थिए । पहिलो गोल गर्ने ओना दाउफिन्स क्यामरुनका खेलाडी हुन् ।

ओना बुधबारको खेलको म्यान अफ दि म्याचसमेत घोषित भएका छन् । उनले नगद ५ हजार प्राप्त गरे । सुनसरीले क्यमरुनका ३, थ्रिस्टारका २, एनआरटि, मनाङ मस्र्याङ्दी र सरस्वतीका १÷१ जना खेलाडीलाई आफ्नो टिममा सहभागी गराएको थियो ।

यु.के.एफ.सि दार्जेलिङ भारतलाई २–० गोल अन्तरले पराजित गर्दै सुनसरी सेमिफाइनलमा प्रवेश गरेको थियो । यु.के.एफ.सि विरुद्धका दुवै गोलसमेत यानिक ओनाले नै गरेका थिए । यता फिदिम स्पोर्टिङ क्लबलाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै रेडहर्ष सेमिफाइनलमा प्रवेश गरेको थियो ।

बिहीबार हुने सेमिफाइनल चरणको अन्तिम खेलमा रेडस्टार झापा र डाँगीहाट मोरङबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । सदरमुकाम स्थित भानुजन माविको खेल मैदानमा भइरहेको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त भने भदौ ६ गते हुनेछ । प्रतियोगिताको विजेतालाई नगद ३ लाख ११ हजार सहित ट्रफी प्रदान गरिनेछ । उपविजेतालाई १ लाख ५१ हजार नगद सहित ट्रफी दिइनेछ ।