इटहरी/ जनता माविको जग्गामा कानून विपरीत भवन निर्माण गरेको भन्दै विवाद सिर्जना भएको छ । विद्यालयमा निर्माणाधीन व्यापारिक भवन निर्माणसँगै कानून प्रश्नहरू खडा भएका छन् । इटहरी–९ स्थित २ कठ्ठा १० धुर जग्गामा व्यापारिक भवन निर्माण भइरहेको छ ।

जुन भवनको नक्सा पाससमेत नगरी निर्माण गरिएको भन्दै चौतर्फी विरोध शुरु भएको छ । विद्यालयले नियम विपरीत भवन निर्माण अनुमति दिएको भन्दै इटहरी उपमहानगरपालिकामा उजुरीसमेत परेको छ । इटहरीको मुख्यचौकमा रहेको उक्त विद्यालयको जग्गा शहरी क्षेत्रमै पर्छ । विद्यालयको जग्गामा निर्माणाधनी भवन नियम विपरीत नै रहेको इटहरी उपमहानगरपालिकाका घरनक्सा शाखाका इञ्जिनियर विकास भट्टराईले बताए । ‘अहिलेसम्म नक्सापास भएको छैन, हामीले कार्यालयको माथिल्लो निकायसम्म कुरा पुर्याएका छौं’–उनले भने ।

निर्माणाधीन भवन १५ वर्षको लागि मासिक १ लाख ७ हजार रुपैयाँ भाडा लिने सहमतिसहित निर्माण भइरहेको छ । मनसुन प्लाजाको लगानी र विद्यालय व्यवस्थापन समितिको निगरानीमा भवन निर्माण भइरहेको छ । भवन दुई तले निर्माण गरिँदै छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दङ्गालले विद्यालयले मासिक १ लाख ७ हजार रुपैयाँ भाडा लिने सहमतिमा भवन निर्माण गरिरहेको बताए । विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन शुरु गरेपछि खर्च बढेकाले भाडा लगाएको बताए । विद्यालयको जग्गा अतिक्रमणसमेत हुन थालेकाले भवन निर्माण गरिएको पनि उनले बताए ।

खाली रहेको जग्गामा विमला ढकालको संयोजकत्वमा बनेको समितिले दिएको प्रतिवेदनको आधारमा भवन निर्माण थालिएको उनले बताए । ‘हामीले नक्सापासको विषयमा उपमहानगरपालिकामा आवश्यक कागजात बुझाइसकेका छौं, केही दिनमै नक्सापास हुन्छ’ –उनले भने । विद्यालयको आन्तरिक आम्दानी वृद्धि गर्न निर्माण थालिएको दङ्गाल बताउँछन् । ‘विद्यालयले गलत नियतले काम गरेको होइन, लामो समयदेखि लथालिङ्ग रहेको जग्गामा हामीले व्यवस्थापनमात्र गर्न खोजेका हौं’ –उनले भने ।

जनता क्याम्पसको लेखा शाखामा ताला
इटहरी (ब्लाष्ट) इटहरीको जनता बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक शत्र शुरु हुनै लाग्दा क्याम्पस प्रशासनले शुल्क वृद्धि गरेको भन्दै विद्यार्थी सङ्गठनले विरोध गरेका छन् ।

विद्यार्थी सङ्गठनलाई नसोधी क्याम्पस प्रशासनले आफूखुशी विद्यार्थीको भर्ना शुल्क तथा अन्य शुल्क वृद्धि गरेको भन्दै चर्काे विरोध भएको हो । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), नेपाल विद्यार्थी सङ्घ, समाजवादी विद्यार्थी फोरम, अखिल क्रान्तिकारी र नयाँशक्ति विद्यार्थी युनियनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शुल्क वृद्धिको विरोध गरेका हुन् । शुल्क वृद्धिको विरोध गर्दै क्याम्पसको लेखा शाखामा विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका छन् ।