धरान/ सामान्यतः ओपिडी सेवा पनि निःशुल्कभन्दा अचम्म लाग्ला ? वराहक्षेत्र नगरपालिका–२ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भने ओपिडीसमेत निःशुल्क गर्दै बिरामीको उपचार गर्ने गरिएको छ ।

हेल्थपोष्टबाट स्तरोन्नति भएको केन्द्रमा ३ सय ५६ दिन खुला रहने आकस्मिक कक्ष, वार्ड, एक्सरे, ल्याव र निःशुल्क ओपिडी सेवासहितको अस्पताल सेवा सञ्चालनमा आएको छ । सरकारले सञ्चालन गरेका गाउँ वा शहरका प्राथमिक स्वास्थ्य केन्द्रहरू १०–५ मात्र खुल्छन् । निःशुल्क ओपिड सेवा, आकस्मिक सेवा दिँदैनन् । तर, स्वास्थ्य केन्द्र व्यवस्था पनि समितिका अध्यक्षसमेत रहेका वराहक्षेत्र नगरपालिका–२ का वडाध्यक्ष हरिकृष्ण भट्टराईले भने, ‘चतरा प्राथमिक स्वास्थ्य केन्द्रले दुई वर्षमा यति धेरै सर्वसाधारण र बिरामीको विश्वास जित्नका लागि डा. अनिल गिरीको सत्प्रयास हो । नढाँटी भन्ने हो भने यो सबै डा. गिरीको पहल र प्रयासले भएको हो ।’

उनले महिनामा ३ सयजना पनि बिरामी पनि नआउने स्वास्थ्य केन्द्रको सुधार भएपछि मासिक पाँच हजार जना उपचारका लागि आउन थालेको बताए । केन्द्रलाई नौ शøया पनि राखिएको छ । वराहक्षेत्र नगरपालिकासहित छिमेकी जिल्ला उदयपुर, भोजपुर, धनकुटालगायतका सीमावर्ती क्षेत्रका स्थानीय बिरामीहरू पनि उपचार सेवा लिन आउने गरेकाले पछिल्लो समयमा भीड हुन थालेको भट्टराईले बताए । उनले भने, ‘केन्द्रमा इमरजेन्सी, फार्मेसी, भिडियो एक्स–रे, एक्स–रे सेवा, सुरक्षित गर्भपतनलगायत बहिरङ्ग सेवा सञ्चालनमा ल्याएका छौं । सामान्य रोगका उपचार सेवा लिन निजी र टाढाको अस्पताल जान नपरोस् भनेर हामीले वर्षभरि ३ सय ६५ दिनै बिहान ७ बजेदेखि राति ८ बजेसम्म सेवा दिने वातावरण बनाएका छौं ।’

समितिका अध्यक्ष भट्टराईका अनुसार निःशुल्क ओपिडी, ल्याव र एक्स–रे शुल्क आधा सस्तो गर्ने अवधारणा सबै प्रबन्ध निर्देशकसमेत रहेका डा. अनिल गिरीको हो । डा. गिरीले सरकारी दरबन्दीको चिकित्सकको जागिर छाडेर वराहक्षेत्र नगरपालिकाको बोर्डद्वारा गठित चतरा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समिति मातहत रहेर गाउँका सर्वसाधारणलाई निःशुल्क उपचार सेवा प्रदान गर्न प्रबन्ध निर्देशक भएको भट्टराईले बताए ।

उनले भने, ‘व्यवस्थापन समिति ऋणमा परे डा. गिरीले घरबाट ल्याएर भए पनि तिरिदिने भनेपछि स्वास्थ्य केन्द्र स्तरोन्नति गरेर गाउँका लागि अस्पतालको रूपमा परिणत गरेको हो । जसले गर्दा सर्वसाधारणले सहजरूपमा उपचार सेवा पाएका छन् ।’ जटिल शल्यक्रिया र रोगका उपचारबाहेक अरु सामान्य रोगको उपचार सेवा दिन सकिने वातावरण डा. गिरीले बनाएको पनि भट्टराईले बताए । सरकारी स्वास्थ्य केन्द्रमा कमै बिरामीहरू उपचारका लागि पुग्ने गर्छन् । तर सही उपचार सेवा प्रदान गर्ने वातावरण बनाएमा चिकित्सक खोज्दै गाउँको स्वास्थ्य केन्द्रमा बिरामी आउँछन् भन्ने नमूना भएको उनले बताए ।

उनले चतराको स्वास्थ्य केन्द्र चौबीसै घण्टा उपचार सेवा दिने मुलुककै पहिलो स्वास्थ्य केन्द्र भएको उल्लेख गर्दै भने, ‘सरकारी दरबन्दी ११ जनाको छ । यो जनशक्तिले नपुगेपछि आर्थिक अभावका बीच पनि हामीले समितिमार्फत् थप २१ जना जनशक्ति नियुक्त गरेका छौं । जसको सहयोगले २४ सै घण्टा खुल्ला हुन्छ ।’ पछिल्लो समयमा वराहक्षेत्र नगरपालिकाको नगर अस्पताल र चतरा प्राथमिक स्वास्थ्य केन्द्र दुवैको प्रबन्ध निर्देशकका रूपमा रहेका डा. गिरीले आधुनिक उपकरण, ल्याव, दक्ष जनशक्तिको अभाव हुँदाहुँदै पनि गरिब निमुखा गाउँले सर्वसाधारणलाई लक्षित गरेर निःशुल्क ओपिडी सेवासहितको वर्षभरि खुला रहने स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको बताए ।

आर्थिक सहयोग जुटेमा स्वास्थ्यकेन्द्रमा थप एमडी गरेका चिकित्सक, ल्याव टेक्निसियन, नर्स, कर्मचारी, आधुनिक ल्याव उपकरण, एक्स–रे, भिडियो एक्स–रे, सिटीस्क्यान, अप्रेसन थिएटरको व्यवस्था गर्ने लक्ष राखेको पनि डा. गिरीले बताए । उनले भने, ‘चाँडै नै आँखा, दाँत र फिजियोथेरापी हेर्ने व्यवस्था हुँदैछ ।’ वराहक्षेत्र र आसपासका गाउँबाट सबैभन्दा बढी स्त्रीरोग सम्बन्धी समस्या भएकाहरू उपचारका लागि आउने गरेको डा. गिरीले बताए ।

त्यसपछि छालाको रोग, विभिन्न सङ्क्रमण, रक्तचाप, मधुमेह, प्रोस्टेट र दमका रोगीहरू आउने गरेका छन् । ओपिडी सेवा निःशुल्क गरेको अवस्थामा एक्स–रे र ल्याव रिपोर्टको न्यूनतम् शुल्क र समितिले नै सञ्चालन गरेको फार्मेसीबाट पाँच प्रतिशत छुट दिएर बिक्री गरेको औषधि र स्वास्थ्य केन्द्रमा धेरै बिरामी आउने वातावरण बनेमा उनीहरूले तिरेको न्यूनतम् शुल्कले अतिरिक्त कर्मचारी पालिन सक्ने दाबी डा. गिरीले गरे । उनले भने, ‘यो वर्ष मात्र स्वास्थ्य केन्द्रमा करिब सवाकरोड रुपैयाँको कारोबार भएको छ । अझै स्तरोन्नति गर्दै लैजाने हो भने चतरा स्वास्थ्य केन्द्र मुलुककै नमूना बनाउन सक्छौं ।’