– केराबारी गाउँपालिकाले तपाँईंको नेतृत्व पाएको दुईवर्ष पूरा भएको छ, तपाईंको नेतृत्वको जनप्रतिनिधित्वबाट केराबारीले के पाएको छ ?
हामी तेस्रो वर्षमा चलिरहेका छौं । जनप्रतिनिधीहरू आइसके पश्चात् टोल समितिहरू गठन भएर तल्लो तहबाटै योजनाहरू छान्ने,समस्याहरूको छलफल गर्ने र ती कतिपय योजनाहरू वडा तहबाटै सम्पन्न गर्ने र अरू चाहिँ पालिका स्तरमा र ठूला योजना प्रदेश सरकार हुँदै सङ्घीय सरकारसम्म योजना छनौट गरी पठाउने काम भइरहेको छ । हाल यस गाउँपालिकाका सबै वडामा शिक्षा, स्वास्थ्य, पूर्वाधारमा बाटो निर्माण, नदी कटान नियन्त्रण सिंचाइका लागि पैनी निर्माणका कामहरू गाउँ गाउँमा पुगेको हुनाले बजेट विनियोजन भएका कार्यक्रम समयमा सम्पन्न गर्न जनताहरू पनि आतुर छन् र जनप्रतिनिधिहरू पनि वडा समितिबाटै आतुर भएकाले मेरो नेतृत्वमा केराबारीले पाएका जनप्रतिनिधीहरूबाट केराबारीले विकासको खुड्किलो उक्लिन बुरु गरिसकेको छ ।

– तीन वर्षमा लाग्दै गर्दा केराबारीमा देखिनेगरी के के विकास गर्नुभएको छ ?
देखिने र नदेखिने भन्ने विकास निर्माणको काम हुँदैन । हाम्रो नीति तथा कार्यक्रमभित्र के कस्ता कुराहरू छन् र पालिकाले तिनलाई के कति अपनाएको छ, यो मुख्य विषय हो । अथवा मोरङ जिल्ला भरिका १७ वटै पालिकामध्येमा हाम्रो भिन्नता हेर्न खोज्ने हो भने चाहिँ कतिपय पालिकासँग मिल्न पनि सक्छ र कतिपय अन्य पालिकाको रणनीतिक योजनासँग नमिल्न पनि सक्छ । तर, हामीले चाहिँ प्रसस्तै अल्पकालीन र दीर्घकालीन कामहरू गरेका छौँ र धेरैलाई अगाडि बढाएका छौँ । केही बहुवर्षे योजनाहरू पनि अगाडि बढाएका छौँ । कुनै योजनाहरू चाहिँ आर्थिक वर्षभित्रै सम्पन्न गर्ने योजना बनाएका छौँ । आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने योजनामा वडाबाट गाउँपालिकाको सदरमुकामसम्म आउने या एउटा वडाबाट अर्को वडासम्म आउने बाटोको कम्तीमा ट्र्याक खोल्ने भनेर पहिलो वर्ष नै हामीले यस प्रकारको पूर्वाधार विकास चाहिँ गर्याै तर त्यसलाई स्तरोन्नति र दिगोपना दिन अझै काम जारी राखेका छौँ । जस्तै १ नम्बर पाटीगाउँबाट सदरमुकाम केराबारी आउन धनकुटा हुँदै सुनसरी भएर मात्रै आउनुपथ्र्यो भने हाल त्यो समस्याको करिब–करिब अन्त्य भएको छ । त्यस सडकलाई निरन्तर बजेटमा राखेर काम गर्नाले हिउँदमा सजिलै सदरमुकाम आउन सकिन्छ भने बर्खायाममा अलिक कठिनाइ भएको छ अब केही वर्षमै सजिलै बर्खामा पनि सदरमुकाम आउन सक्ने सडक बनाउछौँ । त्यसैगरी ९ नम्बर वार्ड भूगोल क्षेत्रका आधारमा अलिक उपेक्षित वार्ड अथवा घना जङ्गल पार गरेर जानुपर्ने भएकोले सदरमुकामसँग पहुँच राख्न नसकेको वार्ड हो । त्यसलाई हामीले केराबारीसँगको सम्बन्धलाई नजिक बनाउन साढे पाँच किलोमिटर सडक कालोपत्रे गरिसकेका छौँ । त्यसैगरी खदम खोलाबाट पारी याङ्सिला हुँदै ६, ७, ५ र ४ पनि जोडिएर आउने वडाहरू छन् ती वडाहरूमा खोलाको पुलको अभावले सदरमुकामसँग जोडिन समस्या भइरहेको छ । तर, त्यहाँ बाँकी पूर्वाधारहरू निर्माण हुने क्रममा कुनै कमी हुन दिएका छैनौँ । डाँगीलगायतका क्षेत्रहरूमा खानेपानीको समस्या रहेको छ । त्यहाँ यसै आर्थिक वर्षभित्रमा खानेपानीको समस्या केही हल हुनेछ र त्यस्तै कालापानीमा डीप बोरिङ गरेर एक सय घरलाई घरघरमा पानी पुर्याउन सफल भएका छौँ । ९ नम्बरमै २ ठाँउमा डीप बोरिङ गरेका छौँ । यस्तै यस्तै देखिने गरिका कामहरू हामीले गरेका छौँ ।

– एउटै वडामा दुई दुईवटा कार्यालयहरू राखेर सञ्चालन गरी राख्नुभएको छ कसरी व्यवस्थापन गर्नुभएको छ ?
आन्तरिक बजेटबाट आलोपालोको हिसाबले व्यवस्थापन गरिराखेका छौँ । यो दिगो व्यवस्थापन चाहिँ होइन । ९ नम्बर वडामा यो समस्या छ । आउँदो समयमा ९ नम्बर दुईटा वडामा विभाजित हुने सम्भावना पनि छ । त्यसो भएमा त्यो समस्या हल हुनेछ ।

– नजिकिदै गरेको पयटर्न वर्ष २०२० मनाउन केराबारीले कस्तो योजना बनाएको छ ?
विशेष गरी केन्द्र र प्रदेश सरकारको नीतिभित्र रहेर आन्तरिक र बाह्य पर्यटक व्यवस्थापन रहन्छ तर गाँउपालिकाको हकमा सूचक मातहत जस्तै जेफाले डाँडा, चोक थुम्की, चिरी ओख्रेतिर होमस्टेहरू खोल्न सकिने स्थानहरू छन् । त्यसलाई पहिचान गरी राज्यसँग जोड्ने काम चाहिँ पालिकाको हुन्छ । त्यसको सम्पूर्ण पूर्वाधार, आन्तरिक व्यवस्थापन गर्नुपर्ने तथा देशी विदेशी पर्यटकलाई कसरी ल्याउने भन्ने प्रदेश सरकारको नीति तथा कार्यक्रममा पर्छ । हामीले चाहिँ हामीले तत्काल हाम्रो पालिका क्षेत्रभित्र रहेकामध्ये हामीले पहिचान गरेका पर्यटकीय क्षेत्रहरूमा पुनर्निर्माणका काममा लागिरहेका छौँ । जस्तै जेफालेमा सिँढीहरू निर्माण गर्ने, शौचालय निर्माण गर्ने, बाटोमा पाटीहरू निर्माण गर्ने जस्ता काममा लागि सकेका छौँ । त्यस्तै पर्यटकहरूलाई शान्ति सुरक्षाको महसुस गराउन सक्नु, ती क्षेत्रहरूमा कम्तीमा प्राथमिक स्वास्थ्य सेवा पु¥याउन सक्नु हाम्रो दायित्वभित्र पर्छ । प्रदेश सरकारको पनि नीति आउला त्यो आउनुभन्दा अगाडि नै हामीले तयारी गरिसक्नु पर्नेछ, त्यो हामी गर्छौँ । हामी आन्तरिक तयारी गर्ने कुरामा कुनै कमी हुन दिने छैनौँ ।

– पर्यटकीय क्षेत्रहरूको संरचनागत विकास चाहिँ कसरी गरिरहनुभएको छ ?
हामीसँग पहिचान भएकाहरू पार्वती गुफा, सप्त कन्या, पञ्च कन्या गुफा, तोप थुम्की छ । त्यहाँ हामीले डाँडाबजार र यताबाट जाने मोटर बाटो पु¥याइसकेका छौँ, पञ्चकन्या गुफामा हामीले धार्मिक क्षेत्र बनाउने भनेर करिब आधा घण्टाको बाटोमा हिंडेर जाने बाटो बनाउनको लागी सिँढीहरू र सप्तकन्या गुफामा निर्माण कार्य गरिरहेका छौँ । त्यसैगरी हाम्रै गाँउपालिकाभित्र केही छाँगा झरनाहरू पनि रहेका छन् । तिनीहरूको पनि पहिचान भइसकेको छ र कम्तिमा त्यहाँ सम्म पुग्नको लागि मोटरबाटोको ट्र्याकसम्म खोल्ने क्रममामा छौँ । त्यसको लागि वडाबाट पनि र पालिकाबाट पनि बजेट हालेर काम गर्ने क्रममा छौँ ।

– तपाँईंहरूको गाउ“पालिकाको मुख्य स्थानीय आम्दानीको स्रोत के हो ?
स्थानीय स्रोत साधनबाट उठ्ने गाडी–घोडाबाट सडक मर्मतको लागि उठ्ने कर, स्थानीय हाटबजार बाट उठ्ने कर, यहाँको लकडी निकासी भईजाने कर र विशेष गरेर यहाँको खोलानालाबाट ढुङ्गा, गिटी बालुवाको व्यवस्थापन स्थानीय तहमा आइसके पश्चात् यसलाई पनि मुख्य आम्दानीको स्रोतको रूपमा लिन सकिन्छ ।

– खोला उत्खनन प्रक्रियालाई कसरी व्यवस्थित गर्नुभएको छ ?
नेपाल सरकारको सङ्घीय सरकारको नीति अनुसार असार, साउन र भदौ तीन महिना खोला उत्खनन गर्न पाइँदैन । त्यो नियम हामीलाई पनि लागू हुन्छ । त्यसैअनुसार हामीले प्रहरी प्रशासनहरूसँग विपद व्यवस्थापन बैठक राखी सबैलाई पत्राचार गरी उक्त सूचना जानकारी गराउने गरेका छौँ । यो अवधि भित्रमा खोला प्रवेश गर्ने क्रममा ५० वटा ट्याक्टर टिपर नियन्त्रणमा लिएर जरिवाना तिराएका छौँ । साउन महिनामा मात्र हामीले जरीवानावापत् करिब ४ लाख रुपैयाँ सङ्कलन गरिसकेका छौँ । प्रारम्भिक वातावरणीय परीक्षण (आईइइ) को परिणाम अन्तर्गत बसेर आईइइको नियमभित्र रहेर मात्र हामीले ठेक्का बन्दोबस्त गरेका छौँ ।