धरान/ देशभरका २४ नेपाली सैनिक उदयपुरको बेलका नगरपालिका ८ मा प्याराग्लाईडिङ प्रशिक्षण लिइरहेका छन् ।

एसियन प्याराग्लाइडिङ एकेडेमीको आयोजना र नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ एसोसिएसन (नेफा) प्रदेश नं.१ को संयोजनमा साउन २५बाट प्रशिक्षण भइरहेको छ । यो प्रशिक्षणबाट नेपाली सेनाले प्याराग्लाइडिङ पाइलटको पहिलो ब्याच उत्पादन गर्ने सेनाको पश्चिम पृतनाका प्रमुख सेनानी अर्जुन बस्नेतले जानकारी दिए । फुटबल, भलिवल लगायतका खेलमा विभागीय टिम सञ्चालन गरिरहेको सेनाले साहसिक खेलमा पर्ने प्याराग्लाइडिङको पनि विभागीय टोली बनाउँदैछ ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सेनाले करारमा नियुक्त गरेका प्यारा पाइलटहरूले सेनालाई स्वर्ण दिलाएका थिए । तिनै खेलाडी मध्येका सागर जलारी पनि अहिले नेपाली सेनामा भर्ना पाएर उदयपुर प्रशिक्षणमा छन् । प्रशिक्षणमा सेनाका ५ महिला र १९ पुरुष सहभागी छन् । उनीहरूलाई प्रमुख प्रशिक्षक भारतका अजयकुमार शर्मा सहित एसियाडमा रजत पदक विजेताहरू विजय गौतम र विशाल थापा तथा प्रशिक्षकहरू देशमणि जिमी र खुमबहादुर गुरुङले प्रशिक्षण गराइरहेका छन् । प्याराग्लाइडिङको विगिनर्स कोर्ष १५ दिनसम्म सञ्चालन हुनेछ ।

नेपालमा पहिलो पटक उत्पादन भइरहेका सेनाका प्याराग्लाइड पाइलटको प्रशिक्षण अवलोकन गर्न सोमबार उदयपुर पुगेका नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीका उपरथी अनन्त कार्कीले प्याराग्लाइडिङको विकासका लागि सेनाले सघाउने बताए । उनले भने, ‘सेनाले आफ्ना पाइलट उत्पादन गर्ने मात्र नभएर विदेशी पर्यटकलाई सुरक्षित वातावरणको महसुस गराउन उद्धार टोलीको व्यवस्थापन गर्न सक्छ ।’ उनले आगामी दिनमा प्याराग्लाइडिङ सम्बन्धी सङ्घ संस्थासँग सहकार्य गरेर यस क्षेत्रमा काम गर्न सकिने बताए ।

देशका विभिन्न भागका सैनिकहरूको प्रशिक्षण अवलोकन गर्न उदयपुर आइपुगेका पश्चिम पृतना मुख्यालय पोखराका उपरथी काजीबहादुर खत्री आफैं पनि पाइलट प्रशिक्षण लिइरहेका छन् । प्याराग्लाइडिङबाट नेपालले छोटो समयमा प्रगति गर्ने बुझेका खत्री सरकारले अघि सारेको भ्रमण वर्ष २०२० सफल पार्न पनि सेनाले प्याराग्लाइडिङ पाइलट उत्पादन गरेको बताउँछन् । खत्री भन्छन्, ‘सरकारले घोषणा गरेको भ्रमण वर्षका अवसरमा नेपाली सेनाले आफ्नो सम्बन्ध रहेका मुलुकहरूबाट सेनाहरू बोलाउन सक्छ । त्यसले अन्तर्राष्ट्रियस्तरमा राम्रो सन्देश फैलिएर नेपालको पर्यटनमा ठूलो मद्दत पुग्छ ।’

उदयपुरमा सञ्चालित एशियन प्याराग्लाइडिङ एकेडेमीका संस्थापक प्रिन्सिपल प्रकाश पोखरेल नेपाली सेनापछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय सरकारहरूबाट पनि प्याराग्लाइडिङ पाइलट उत्पादन गर्ने कुरा भइरहेको बताउँछन् । एशियन प्याराग्लाइडिङ एकेडेमी नेपालमा तेस्रो र प्रदेश १ मा पहिलो प्याराग्लाइडिङ स्कूल हो । प्याराग्लाइडिङ उदयपुरको वोप्ताङबाट उडान गरेर डुम्रीबोटे नजिक सप्तकोशी किनार छेउको मैदानमा अवतरण गर्ने गरिएको छ ।