पछिल्लो समय शहरमा ठगी धन्दा बढेको देखिन्छ । धरानमा सहकारी र सुनपसल खोलेर करोडौं ठगी गरेको घटनाको अनुसन्धान जारी छ । पूर्वका विराटनगर, झापालगायतका ठाउँमा पनि विभिन्न प्रकारका ठगी धन्दा दैनिकजसो सार्वजनिक भइरहेका छन् । सुनसरीको इटहरीमा केही समययता चेक बाउन्सबाट ठगी हुने गरेका घटना बढिरहेको प्रकाशमा आएको छ । यसरी लगातार ठगी घटना हेर्दा यो एउटा जटिल सामाजिक रोगका रूपमा विकास भइरहेको छ ।‘अरूले हात्ती चढे भन्दैमा आफू धुरी नचढ्नु’ भन्ने नेपाली उखानै छ । अर्को नेपाली उखान छ, ‘घाँटी हेरी हाड निल्नु’ दुवै उखानले आफ्नो जीवनशैली आफ्नो हैसियत अनुसार सञ्चालन गर्नुपर्छ भन्ने सन्देश दिन्छन् । तर, अहिलेको नेपाली समाज अरूको देखासिकीमा अभ्यस्त हुँदै छ । छिमेकीले गाडी चढे, महँगा गहना लगाए र खर्चालु गतिविधि गरेको देखे अर्को छिमेकीले पनि उसैको शैली अपनाउन खोज्छ । यी सबै गतिविधि गर्न धेरै पैसा आवश्यक पर्छ र पैसा पाउन मान्छे जे सुकै गर्न तयार बन्दै गएको छ ।

त्यसैले पैसाका लागि अरूलाई ठग्न, झुक्याउन मात्र होइन हत्या गर्न पनि पछि पर्दैन अहिलेको पैसामुखी मान्छे । त्यसैको परिणाम हुनुपर्छ जताततै ठगहरूको बिगबिगीका खबर । अहिले आम सर्वसाधारण महँगो ब्याजको लोभमा पर्दा डुब्ने समस्या पनि ठूलो छ । ठग मानसिकता भएकाहरूले ऐन कानूनले तोकेभन्दा बढी ब्याजको लोभ देखाएपछि त्यसैमा लोभिएर आफ्नो भएभरको पैसा दिंँदा डुब्ने गरेका छन् । विगतका दिनमा नेपाली समाजमा आफ्नो क्षमता अनुसारको खर्च गर्नुपर्छ भन्ने मान्यता स्थापित थियो । तर अहिले त्यो मान्यता भत्किँंदै गएको छ अनि मान्छेको इज्जत पैसामा खोजिन थालेको छ । अहिलेको समयमा इमान्दारिता भन्दा पैसाले समाजदेखि परिवारसम्मलाई तानेको छ । त्यसपछि त सहकारी खोलेर सर्वसाधारणको पैसा बचत गराउने अनि त्यही पैसाले मोज गर्ने र अन्तमा तिर्ने उपाय नभएपछि भाग्नेहरू बढिरहेका छन् । कतै विभिन्न कारोबार गरेर पैसा नभएको खाताको चेक दिने प्रचलन बढ्दो छ । यी सबैको मुख्य जड मिटर ब्याज पनि देखिन्छ ।

विभिन्न कारणबाट आर्थिक समस्यामा परेकाहरूलाई तुरुन्तै पैसा दिने र दैनिक हजारौंसम्म ब्याज लिने अवैध धन्दा अहिले शहरको चर्को रोग बनिरहेको छ । शहरका गुन्डा, डन भनिनेहरू र राजनीतिक पहुँचवालाहरू यस्तो धन्दामा बढी सक्रिय रहेका छन् । यस्तै मिटर ब्याज धन्दावालहरूलाई पैसा तिर्न नसक्दा डुब्ने र भाग्ने क्रम बढिरहेको छ । ठगी नियन्त्रण गर्न प्रहरी प्रशासनले सर्वप्रथम मिटरब्याज धन्दावाललाई कारबाही गर्नु आवश्यक छ । त्यसपछि सरोकारवालाहरूले समाजलाई देखासिकीप्रति निरुत्साहित गर्ने कार्यक्रम सञ्चालन गर्नु जरुरी भइसकेको अवस्था छ । समाजको ‘जसरी पनि पैसा’ भन्ने मानसिकतालाई परिवर्तन गर्न त्यति सजिलो त छैन तर अहिलेदेखि सचेतना फैलाउने हो भने एक समय समाजले बुझ्छ भन्ने विश्वास गर्न सकिन्छ । नत्र आफैं डुबेपछि मात्र चेतना फैलिने अवस्था छ । त्यसैले यस्ता विषयमा समाजलाई सजग गराउन र सुरक्षाको प्रत्याभूति गराउन पनि आवश्यक छ ।