बिर्तामोड/ झापाको बजारमा पाइने पानी पिउनयोग्य नरहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले गरेको परीक्षणमा झापाको बजारमा बिक्री हुने पानी पिउनयोग्य नरहेको पाइएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पानीमा पीएचको मात्रा न्यूनतम् ६ देखि ८.५ प्रतिशतसम्म हुनुपर्ने प्रावधान तोकेको छ । तर, झापाको बजारमा पाइने पानीमा पीएचको मात्रा न्यूनतम्भन्दा कम भेटिएको छ ।

झापाको बिर्तामोडमा मङ्गलबार विभिन्न २० वटा उद्योगको पानीको नमूना सङ्कलन गरी पिएचको मात्रा परीक्षण गर्दा त्यस्तो पाइएको हो । ‘पिउने पानीको गुणस्तरः अवस्था र नियमनको आवश्यकता’ विषयमा भएको कार्यशालास्थलमै बजारबाट सङ्कलित पानीको नमूनाको पिएच परीक्षण गरिएको थियो ।

बिर्तामोडबाटै उत्पादित शास्वत्, लाइफ केयर, सुरुङ्गाबाट उत्पादित माईधाम नामक पानीमा पिएचको मात्रा न्यून पाइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरीले स्वास्थ्यका दृष्टिकोणले उक्त पानी पिउन अयोग्य रहेको बताए ।

पिएचको मात्राको दृष्टिकोणले पिउन सबैभन्दा उत्तम पानी सुनमाई झरना पाइएको थियो । बिर्तामोड खानेपानीसहित विभिन्न १८ ब्राण्डका पानी झापाबाट उत्पादित र अन्य दुईवटा झापा बाहिर उत्पादन भई झापाको बजारमा आउने पानीको समेत पिएच परीक्षण गरिएको हो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपमेयर पवित्रा महतारा प्रसाईंले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने पानी उद्योगलाई कारवाहीको दायरामा ल्याउने बताइन् । उनले गुणस्तरीय उत्पादन तथा उपभोक्ताको हित संरक्षणमा जोड दिएकी छन् ।

पानीमा अम्लीय र क्षारीयपनको मात्रालाई पिएच भनिन्छ । नेपाल गुणस्तरले ६ देखि ८.५ पिएचसम्मको पानीलाई पिउनयोग्य भनेको छ । तर, अन्तर्राष्ट्रिय गुणस्तरले ६.५ देखि ८.५ पिएचसम्मको पानीलाई पिउनयोग्य मानेको छ । पानीमा ७ पिएच सबैभन्दा उत्तम मानिन्छ । ६ पिएचभन्दा तलको पानीलाई अम्लीय अर्थात् एसिडिक भनिन्छ ।

८.५ पिएचभन्दा माथिको पानीलाई क्षारीय अर्थात् अल्कालाइन भनिन्छ । नेपालमा उत्पादित धेरै पानीमा पिएचको मात्रा न्यूनतम्भन्दा कम रहेको बताइन्छ । ६ पिएचभन्दा कमको पानी पिउँदा मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुने र दीर्घरोग लाग्ने विज्ञहरूले बताएका छन् ।

मङ्गलबार बजारबाट विभिन्न २० ब्राण्डका पानीको नमूना सङ्कलन गरी डिजिटल प्रविधिबाट पिएचको मात्रा मापन गरियो । जसमा शाश्वत्को पिएचको मात्रा ५.६ पाइयो । त्यस्तै हिमालयन ६.५, प्युरिकम ६.५, मकालु ६.७, सुनमाई झरना ७.३, बेला ६.४, बेल्ली ६.७, तृष्णा ६, कञ्चन ६.४, लाइफ केयर ५.७, एक्वामेरी ६.२, ओसिस जल ६.२, माईधाम ५.६, कन्काई ६.१, लाइफ लाइन ६.१, इस्ट स्प्रिङ ६.२, किन्ले ७.१, डियु ड्रप्स ६ .२, जिरो एक्वा ६.२ रहेका छन् । बिर्तामोड खानेपानी तथा उपभोक्ता संस्थाले वितरण गर्ने पानीमा पिएचको मात्रा ६.८ फेला परेको छ ।