मकुण्डोका शिल्पकार

alt
  • भदौ ३, २०७६
  • २३३ पटक पढिएको
  • सन्तोष गौतम

धरान/ आयातकार तामाको पाताकोलम्बाइ, चौडाइ नापजाँचसँगै शुरु हुन्छ, मुखाकृतिको आकार । करिब २० दिनपछि आयातकार पाताले मकुण्डोको आकार पाउँछ ।

धरान–३ का गणेश शाक्यले मकुण्डोको आकार दिन थालेको सोह्र वर्ष बितिसकेको छ । लाखे जात्राका बेला मकुण्डो (ख्वापाः) को अत्यन्तै माग हुन्छ । साउन शुक्ल प्रतिपदा शुरु हुनु अगावैदेखि लाखे जात्रामा प्रयोग हुने मकुण्डो आकार दिन शाक्य सक्रिय हुन्छन् । प्रत्येक वर्ष ५ देखि ७ वटा लाखेको मकुण्डोबनाउँछन् । त्यो मागलाई पूरा गर्न उनलाई झण्डै दुई महिनाको हाराहारी लाग्छ । ‘यसैमा लाग्दा एउटा बनाउन हप्ता–दश दिन लाग्छ’ उनी भन्छन्, ‘अरू पनि काम छ भने २०–२२ दिनमा फिनिसिङ हुन्छ ।’

शाक्यले मकुण्डो हेरेरै बनाउन सिके । हातमा खड्कुलो बनाउने सीप थियो । १२ वर्षको उमेरदेखि खड्कुलो बनाउन थाले । त्यो सीप २३ वर्षको उमेरमा आएपछि मकुण्डो बनाउन थाले । ‘कलासम्बन्धी ज्ञान पनि थिएन, हेरेरै सिकेको हुँ’–उनले भने । पहिलो पटक सिक्दा १५–२० दिन लगाएर माटोको मकुण्डो तयार गरेको उनले बताए । उनले माटोको मकुण्डोमा माड लगाएर झुनाको कपडा लगाए पनि फिनिसिङ आउँदैनथ्यो । तर, हिम्मत हारेनन् । ‘फिनिसिङ निकाल्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो’ उनले भने, ‘त्यो त अहिले पनि हुन्छ ।’

माटोबाट उनी आल्मुनियममा सरे । आल्मुनियमको पाताबाट सफल बनेपछि बल्ल तामा र पित्तलमा ‘ग्रेड वृद्धि’ भयो । उनी दुई प्रकारको मकुण्डो निर्माण गर्छन् । नेवार समुदायका अनुसार भोजपुरे र चैनपुरे मकुण्डोको माग आउँछ । भोजपुरे मुखुण्डोको आँखा खुला हुन्छ भने चैनपुरेमा आँखा बन्द हुन्छ ।

धरान, इटहरी, विराटनगरमा बढी भोजपुरे मकुण्डो प्रयोगमा आउँछ भने तेह्रथुम, धनकुटा र विराटचौकमा चैनपुरे मकुण्डोे प्रयोगमा ल्याउँछन् । उनी दुवैखालका मकुण्डोबनाउँछन् । तर, उनलाई त्यसको अर्थ थाहा छैन । उनी भन्छन्, ‘यस्तो बनाइदिनू भनेर फोटो लिएर आउँछन्, बनाइदिन्छु, अर्थ थाहा छैन ।’

धरानका उनी दोस्रो मकुण्डो बनाउने शिल्पकार हुन् । पहिलो नम्बरमा धरान–१० का विष्णुलाल ताम्राकार आउँछन् । हाल उनी दिवङ्गत भइसके । उनैबाट प्रभावित बने । ६५ वर्षको उमेरमा युवा जोशका साथ मकुण्डोको आकार दिएको देख्दा शाक्यलाई पनि लाग्थ्यो, ‘यतिको त म पनि बनाउँछु’ । त्यही हिम्मतले काम गर्यो ।

‘बूढामान्छेले त बनाइरहेको छ भने म किन बनाउन सक्दिन होला भन्ने हिम्मत आयो’–उनी भन्छन् । एउटा मकुण्डोको मूल्य १२ देखि १५ हजार रुपैयाँको हाराहारीमा पर्न जान्छ । तर, उनले यसपटक १८ हजार रुपैयाँसम्म मूल्य पाए । ‘शुरुमा बेच्दा २५ सयमा बेचेको थिएँ, यसपालि १८ हजार रुपैयाँ पाए’ उनी भन्छन्, ‘नत्र १२ देखि १५ हजारसम्ममा बेच्छु ।’

अहिले लाखे नाच्ने समूह बढेको छ । नेवार बस्ती भएका क्षेत्रहरूबाट मकुण्डोको माग आउँछ । जेठदेखि माग शुरु हुन्छ । लाखे जात्रा सकिएपछि पनि अर्डर आउँछ । आठ इञ्चदेखि १८ इञ्चसम्मको मकुण्डो बनाउँछन् । ‘धेरै चाहिँ १५ इञ्चको प्रयोग हुन्छ’ –उनी भन्छन् । उनका अनुसार तेह्रथुम, मोरङ, झापा, सुनसरीबाट बढी माग आउने गरेको छ ।

अहिले लाखे नचाउने नेवारी सङ्घ–संस्था बढेको छ । मकुण्डो मात्रै बनाउँदैनन् उनी, ढोल नेवारी भाषामा ‘धा’ पनि बनाउँछन् । ‘तीन वर्ष भयो धा बनाउन थालेको’–उनी भन्छन् । उनी लाखे नाच्ने शैलीहरू पनि सिकाउँछन् । त्यो शैलीलाई के भनिन्छ, उनलाई ज्ञान छैन । उनले बाजाको ताललाई भने ‘धा ताल, ढोलक ताल, दाफा ताल’ भन्ने गरेको बताए ।

लाखे जात्रालाई चाहिने सबै सरसामान तयार गर्छन् । यसैबाट उनको जीविकोपार्जन हुन्छ । जात्राको समयमा भ्याई नभ्याई हुन्छ । ५०–६० हजार रुपैयाँ कमाउँछन् । ‘जात्राको सिजनमा ५०–६० हजार हुन्छ’ –उनी भन्छन् । उनी आफ्नो पेशाप्रति सन्तुष्ट छन् । अझ बढी सन्तुष्ट त, नेवार संस्कृति झल्काउन पाएकोमा उनी खुशी छन् । नेपालमा मजिपा लाखे र गुँला लाखे नाचिन्छ । पूर्वतिर गुँला लाखे नाचिने उनको भनाइ छ ।
–भोजराज श्रेष्ठ

प्रतिपक्षको विराेधको

विराटनगर  / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसक

होमस्टेमा भ्रमण बर्ष

धरान / होमस्टे (घरबास) पर्यटनमा आउने सबै पाउनाहरूल

चार महिनाको अभ्यासमा

जिरोपोइन्ट /  यहि असोज ३ र ४ गते वीरगञ्जमा सम्पन्न

धेरैका भरोसा डा. प्र

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुटुरोगीको उप


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved