भद्रपुर । ट्राभल सङ्घ झापाले भ्रमण वर्ष २०२० कार्यक्रम सफल बनाउनका लागि प्रचार–प्रसार गर्ने उद्देश्यले ५ दिने भारतको सिक्किम राज्यको भ्रमण गर्ने भएको छ ।
सङ्घका अध्यक्ष निरबहादुर कार्की (नेत्र)को नेतृत्वमा आइतबारबाट शुरु हुने भ्रमणमा विभिन्न विधाका १४ जना सहभागी हुनेछन् ।

टोलीमा प्रदेश नम्बर १ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि, पर्यटन व्यवसायी, सञ्चारकर्मीलगायत रहने महासचिव पृथुराज (पृथम) गौतमले बताए । उनका अनुसार सिक्किमका पर्यटन व्यवसायीहरूको निमन्त्रणामा टोली त्यसतर्फ जान लागेको हो । टोलीले उत्तर, दक्षिण, पूर्वी सिक्कमको स्थलगत अवलोकन गर्नेछ ।

नेपाली टोलीलाई सिक्किमका पर्यटन व्यवसायी तथा सरकारी अधिकारीहरूले नाम्चीमा स्वागत तथा सम्मान गर्ने कार्यक्रम छ । कोषाध्यक्ष पेमा तामाङका अनुसार टोलीले सिक्किमका निजी तथा सरकारी अधिकारीहरूसँग समेत भेट गरी भ्रमण वर्ष २०२० सफल पार्नका लागि पर्यटक पठाइदिन आग्रह गर्नेछ ।

उनका अनुसार नेपाली टोलीले सिक्किमको टोलीसँग दुई देशबीच पर्यटन प्रवद्र्घन गर्न के कस्तो भूमिका निर्वाह गर्नुपर्ने हो सो बारेमा अन्तरक्रियात्मक छलफल गर्नेछ । ‘यो भ्रमणको मुख्य उद्देश्य भारतबाट कसरी बढीभन्दा बढी पर्यटक नेपाल ल्याउन सकिन्छ, त्यहाँ पुगेर छलफल गर्नु र भ्रमण वर्षलाई सघाउनु नै हो’ अध्यक्ष कार्कीले भने, ‘हामी सिक्किमका पर्यटन व्यवसायीलाई समेत पर्यटक पठाइदिन आग्रह गर्नेछौं ।’ टोलीले विभिन्न सङ्घ–संस्थालाई भ्रमण वर्ष २०२० सफल पार्नका लागि नेपाल आउन निम्तोसमेत दिनेछ ।

नेपाली टोलीलाई त्यहाँका पर्यटन व्यवसायीहरूले चारधाम, बुद्घ पार्कको स्थलगत अध्ययन अवलोकन गराउनेछन् । त्यसपछि सिक्किमको राजधानी गान्तोकस्थित होटल लोनार्क लेस्यिर्समा पुनः दुई देशबीचको पर्यटनका बारेमा छलफलको कार्यक्रम तय भएको अध्यक्ष कार्कीले बताए । सिक्किमको लाचुङमा समेत यस्तै छलफल हुनेछ ।

टोलीमा सङ्घका अध्यक्षसहित महासचिव, सचिव टीकाप्रसाद खरेल, कोषाध्यक्ष पेमा तामाङ, सदस्य हस्त तामाङ, दमक नगरअध्यक्ष केदार बस्नेत, भद्रपुर नगर सचिव निर्मलकुमार राजवंशी, पर्यटनकर्मी साङ्गामा खड्का, विराटनगर एशोसिएशन अफ ट्राभल एजेण्ट अध्यक्ष फणिन्द्र अधिकारी, सञ्चारकर्मीहरू लक्ष्मी उप्रेती, राधा खनाल, उत्तम नेपालसहित रहनेछन् ।