फोहोर विसर्जन ठीक ठाउँमा नगर्ने नेपालको पुरानै रोग हो । स्थानीय तहमा फोहोर विसर्जनको समस्या व्यापक छ । त्यसमा अस्पतालहरू पनि पर्ने नै भए । अझ अस्पतालमा त विभिन्न प्रकारका फोहोरहरू निस्काशन हुन्छन् । जसलाई ठीक ठाउँमा विसर्जन गरिएन भने त्यसले रोगको ठूलै प्रकोप निम्त्याउँछ । दमकस्थित लाइफलाइन अस्पतालमाथि स्थानीयको यस्तै आरोप छ । अस्पताले परिसरभित्रै फोहोर जलाउँदा भाइरल ज्वरो, श्वासप्रश्वासमा समस्या निम्तिएको स्थानीयको जुन दाबी छ, त्यो केही हदसम्म अध्ययन, अनुसन्धानले पुष्टि पनि गरेको छ । अस्पतालजन्य फोहोरको विसर्जनमा लाइफलाइन अस्पताल प्रशासनले जुन उत्तर स्थानीयलाई दिएको छ, त्यो न्यायसङ्गत छैन । जलाइएको हो र १ भन्ने जस्ता आश्चर्यबोधक उत्तर दिने काम अस्पताल प्रशासनले गरेर नागरिकको मौलिक अधिकारमाथि प्रहार गरेको छ ।

विश्वमा धुँवाधुलोको कारण वर्षेनी लाखौं मानिसको ज्यान जाने गरेको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठनले हरेक वर्ष सार्वजनिक गर्दै आइरहेको छ । सङ्गठनले सन् २०१५ मा सार्वजनिक गरेको एउटा तथ्याङ्कमा नेपालमा वायु प्रदूषणका कारण वार्षिक २२ हजार ८ सयको मृत्यु हुन्छ भनेर भनिएको छ । विश्वमा प्रतिवर्ष २० लाख भन्दा बढी मानिसहरू घरभित्रको धुँवाका कारण मर्ने तथ्याङ्क डब्लुएचओले सार्वजनिक गरेको थियो । यो डरलाग्दो तथ्याङ्क आइरहेको परिस्थितिमा अस्पतालले वातावरण अनुकूलनलाई ध्यान दिनुको सट्टा उल्टो गैरजिम्मेवारपना देखाइरहेको छ । सरकारले अस्पतालजन्य फोहोर विसर्जन गर्ने मामलामा स्पष्ट निर्देशिका नै जारी गरेको छ । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० ले स्पष्टसँग अस्पतालबाट निस्कने सामान्य ता चिकित्साजन्य फोहोरमैला प्रकृतिअनुसार स्रोतमै अलग–अलग छुट्याउने, सङ्कलन तथा उचित विसर्जन गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । निर्देशिकाले स्पष्ट भनेको अवस्था पनि अस्पतालले मनोपोली ढङ्गमा जुन काम गरिरहेको छ, त्यो दण्डनीय छ । फोहोर जलाउँदा त्यसले वातावरणलाई पनि प्रत्यक्ष असर गर्छ, वातावरणसँगै मानवलाई त्यसले असर नर्गने भन्ने प्रश्न उठ्दैन । रोग निदान गर्ने अस्पतालले रोगको कारण बन्नु न्यायसङ्गत हो ?

नागरिक हित पहिलो सर्त हो । सार्वजनिक निकायहरू आम नागरिकप्रति उत्तरदायी बन्नु दोस्रो सर्त हो । आम नागरिक तथा वातावरणलाई असर पु¥याउने गरी काम गर्ने कुनै पनि निकाय कारबाहीका भागीदार हुन् । अझ अस्पतालजस्तो संवेदनशील निकायले गरेको गैरजिम्मेवारी पन त अक्षम्य नै हो । जसरी स्थानीयले विभिन्न रोगहरु देखा पर्न थालेको जिकिर गरेका छन् । त्यो भोलि प्रकोपको रूप धारण गरेको अवस्थामा के होला ? मननीय छ । स्थानीय तह तथा सम्बन्धित निकाय यसप्रति गम्भीर हुनैपर्छ । अस्पतालले जुन हर्कत गरिरहेको छ, त्यसलाई आजकै मितिबाट बन्द गराउने र दण्ड सजाय गर्न जरुरी छ । भोलि त्यही कारण महामारी भएमा त्यसको जवाफदेही को ? अस्पताल प्रशासन वा सम्बन्धित निकाय । कुनै पनि खतरा आउनु अघि सतर्कता अपनाउनु श्रेयस्कर हुन्छ । सतर्कताले प्रकोप न्यूनीकरणमा भूमिका खेल्छ । अस्पतालले भोलिका दिनमा पनि यही स्थिति दोहो¥याइ रहे रोग निदान गर्ने अस्पताल रोगी उत्पादन गर्ने थलो नबन्ला भन्न सकिँदैन । सचेतता अपनाउनु अस्पतालको जिम्मेवारी हो ।