विषयप्रवेश
विश्वको सर्वोच्च हिमशृङ्खलाको टाकुरा सगरमाथाद्वारा सुशोभित देश नेपाल मानव सभ्यता र संस्कृतिको एक प्रमुख उद्गम स्थल हो । यहाँका हिमाली लेक, पाखा, उपत्यका बेँसी फाँटमा बस्ने हाम्रा पितृ पुर्खाहरूले प्राचीन कालदेखि नै अनेक परम्परा र मान्यता तथा धारणा र विश्वास आत्मसात गरी समय समयमा विविध प्रकारका चाडबाड व्रत, पर्व, उत्सव, जात्रा र मेलाका परम्परा र रीतिथितीहरू चलाएर जीवनलाई सरल, सुन्दर र सारपूर्ण बनाएर गए । आजका हाम्रा सांस्कृतिक वैभव र परम्पराहरू ती हाम्रा पुर्खाहरूले हामीलाई छोडेर गएका नासो हुन् ।

युगको प्रवाहमा नेपालमा अनेक वंशहरूको उदय भयो । किराँतवंश, लिच्छवि वंश, मल्ल वंश, शाहवंशको उदय भयो र आज गणतन्त्रको उदय भएको छ । ती सबै वंशले नेपालको परम्परागत सांस्कृतिक वैभवलाई आत्मसात गरे । आत्मसात गरेका नेपाली लोक सांस्कृतिक उत्सवहरूमा मृत्युपछिको जीवनकला र संस्कृति झल्कने उत्सव मध्ये एक हो ‘गाईजात्रा’ । नेपाल संवत् ७७५ का लोन राजा प्रताप मल्लका पालादेखि नेपालमा नेवार समुदायद्वारा मनाइने गाईजात्रा विश्वको इतिहासमा नै अद्वितीय र अनुपम चाड रहिआएको छ ।

एउटै चाडमा कहिले रुने र हाँस्ने परम्परा विश्वका अन्य कुनै चाडमा छैन । यो नेपाली गाईजात्राको विशेषता र मौलिकता हो । गाईजात्रा पर्वले मृत्युलाई जीवनको सहचर मानी त्यसलाई हाँसी–हाँसी स्वीकार गर्ने शिक्षा विश्वलाई नै दिएको छ । गाईजात्रामा एकातिर दिवङ्गत आफन्तहरूको सम्झनामा पूर्वजहरूप्रति श्रद्धाञ्जली र कृतज्ञता प्रकट गरिन्छ भने अर्कातिर आफन्तहरूको विछोडमा रोइरहेको व्यक्तिमा हास्य व्यङ्ग्यका माध्यमबाट हाँसो र खुशीको सञ्चार गराइन्छ । वस्तुतः संसारमा जो जन्मेको छ, त्यसले एक दिन अवश्य मर्नुपर्छ ।

गीताले मृत्युलाई पुरानो लुगा फेरेको सरह शरीर फेरेको मानी आत्मालाई अमर मानेको छ । यसै कारणबाट हामी कहाँ प्रत्येक वर्ष भाद्र कृष्ण पक्ष प्रतिपदा (रक्षा बन्धन, जनै पूर्णिमा) को भोलिपल्टका दिन गाईजात्रा मनाइन्छ । यस वर्ष तिथिअनुसार श्रावण ३१ गते शुक्रबार गाईजात्रा परेको छ ।

गाईको महत्वले जन्माएको गाईजात्रा
सनातन कालदेखि हाम्रो धर्म संस्कृति तथा सभ्यताको विकासमा गाईको भूमिका महŒवपूर्ण रहिआएको छ । हाम्रा धार्मिक सांस्कृतिक, सामाजिक परम्परा र चाडपर्वबाट गाईलाई अलग्याउन सकिँदैन । नेपालको राष्ट्रियताको प्रतीक गाईलाई संसारकै आदि ग्रन्थ वेदले समेत विश्वकै रूप र पृथ्वीका समस्त प्राणीहरूको आमा मानेको छ । पुराणहरूमा उल्लेख भए अनुसार गाईको पिठ्युँमा ब्रम्हा, गलामा विष्णु, मुखमा शिव, मध्य भागमा देवता र राैं–रौंहरूमा अनेकौं देवीदेवता महर्षिहरूको निवास हुन्छ भन्ने बताइएको छ । यसर्थ एउटै गाईको सेवा गरेर अनेकौं देवी देवताहरूलाई प्रसन्न गर्न सकिन्छ ।

शास्त्रीय मान्यताअनुसार मानिसले मरेपछि स्वर्ग जाने बाटोमा पर्ने एउटा वैतरणी नदी तर्नुपर्दछ । वितरण शब्दबाट वैतरणी शब्द बनेको छ । वैतरणी शब्दमा त्याग र दानको महŒव लुकेको छ ।

जसले समाजमा वितरण अर्थात् दान गरेर योगदान पु¥याएको छ, त्यसैले वैतरणी नदी सहजै तर्न सक्छ भन्ने गाईजात्राको लक्ष्यार्थ रहेको छ । वैतरणी नदीमा भयङ्कर जलचर गोही आदि जीव हुन्छन् । यो नदी पार नगरी स्वर्ग जान सकिँदैन र मोक्ष पाइन्न । यस्तो अवस्थामा जसले गाईको पुच्छर समातेर नदी तर्ने अवसर पाउँछ, त्यसले मात्र वैतरणी नदी पार गर्न सक्छ भन्ने पुराणमा उल्लेख रहेको छ ।

आफ्नो जीवनकालमा जसले गाईको सेवा र दान गरेको छैन, त्यस व्यक्तिलाई गाईले नदी तराउन सहयोग नगर्ने र सो व्यक्ति नदी पार उत्रन नसकी अलपत्र पर्ने कुरा प्रसिद्ध रहेको छ । प्राचीन कालदेखि नै यसरी नेपाली सांस्कृतिक जीवनमा चल्दै आएका गाई सम्बन्धी अनेकन धार्मिक आस्था, निष्ठा विश्वास र उपयोगिताको दृष्टिकोणको पृष्ठभूमिमा गाईजात्राको जन्म भएको पाइन्छ ।

आफन्तहरूको दिवङ्गत आत्मालाई गाईको अनुग्रह प्राप्त भई कुनै दुःख नहोस् र वैतरणी नदी तर्न सजिलो होस् भन्ने उद्देश्यले नै गाईलाई खुशी पार्न गाईजात्रामा गाईलाई नै पूजा गरी सिंगारेर विशेष महŒव दिइन्छ । गाईलाई अघि लगाएर शहर घुमाउने वा मान्छेलाई नै गाईका रूपमा सिँगारेर सहर परिक्रमा गर्ने गराइने विशेष यात्रालाई नै गाईजात्रा भनिन्छ ।

पहिले धार्मिक भावनाबाट जन्मेको गाईजात्राले आज सामाजिक, साहित्यिक र राजनीतिक रूप लिई देशमा व्याप्त विकृति र विसङ्गतिलाई हाँस्य व्यङ्ग्यका माध्यमबाट उदाङ्गो पार्दै आइरहेको छ ।

गाईजात्राको चलन
गाईजात्रा जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्ण पक्षको प्रतिपदा तिथिका दिन मनाइन्छ । विक्रम सम्वत्को पन्ध्रौं शताब्दीमा लिखित गोपालराज वंशावली मा तथा काठमाडौं उपत्यकाका तीनवटा मल्ल राजाहरूको राज्यस्थापना कालमा लेखिएका ठ्यासपूmमा (एउटै लामो कागजलाई पट्याएर बनाइएको एकप्रकारको पुरानो ढाँचाका पुस्तकहरूमा) समेत सायात शब्दको उल्लेख भएबाट प्राचीन कालदेखि नै गाईजात्राले हाम्रो जनजीवनमा ठाउँ ओगटेको कुरा प्रमाणित हुन आउँछ ।

नेपाल भाषा (नेवारी) को सायात शब्दको नेपाली भाषामा गाईजात्रा अर्थ लगाइन्छ । गाईजात्रालाई नेवारी भाषामा सापारु पनि भन्दछन् । कान्तिपुरका राजा प्रताप मल्लले आफ्ना पुत्र राजकुमार चक्रवर्तेन्द्र मल्लको मृत्युपछि शोकले व्याकुल रानी रूपमतीलाई मानिसहरू अन्यत्र पनि मरेका छन् र मर्छन् भनी देखाई चित्त बुझाउन दुनियाँलाई वर्ष दिनभित्र मृत व्यक्तिहरूको सङ्ख्या थाहा पाउन मरेका व्यक्तिहरूको नाउँमा तिनका आफन्तहरूले गाईजात्रा निकाली शहर घुमाउन हुकुम गरे । नेपाल संवत् ७७५ देखि यसरी निकालिएको गाईहरूको जात्रा हेरी रोइरहेकी रानीको शोकहरण हुनगई उनी हाँस्दै प्रसन्न भएबाट यस गाईजात्राको शुरुवात भएको प्रसिद्धि छ ।

वस्तुतः गाईजात्राको मूलमा धार्मिक भावना लुकेको पाइन्छ । यदि कुनै परिवारले आर्थिक वा अन्य कुनै कारणले गाईदान गर्न नसके र त्यस परिवारको सदस्यको मृतआत्मा यदि कतै भौंतारिरहेको छ भने त्यस परिवारबाट कुनै व्यक्ति गाईको प्रतिरूप बनेर पनि आप्mना मृत पूर्वजहरूलाई मुक्ति दिलाउने त्यसले अवसर पाउँछन् । प्रचलित आख्यानअनुसार वर्षभरि यमलोकको ढोका बन्द हुन्छ । अतः मरेका व्यक्तिहरूको आत्मा यमलोकभित्र पस्न नपाई भड्किरहेको हुन्छ ।

जब गाईजात्रा मनाइन्छ, तब स्वर्गको ढोका खुल्छ र आत्माले त्यसभित्र प्रवेशगरी मुक्ति पाउँछ । यसरी धार्मिक भावनाबाट जन्मेको यस जात्रामा गाईको रूप बनेर जाने मानिसलाई विशेष रूपले सजिसजाउ गरिएको हुन्छ । हाम्रा पितृपूर्वजहरूको आत्मालाई मुक्ति मिलोस् । यहि सन्देश आज हामीलाई गाईजात्रा पर्वले दिइरहेको छ ।

धरानमा पहिलो पटक गाईजात्रा
वि.सं.२०१० सालमा धरानमा पहिलो पटक गाईजात्रा र रामायणको श्री गणेश भएको हो । वि.सं.१९५० मा जन्म भई २००७ सालमा गठित श्री राधाकृष्ण मन्दिरको प्रथम कार्यकारिणी समितिका उपसभापति भई साहसी, परिश्रमी तथा धार्मिक प्रवृत्तिका मन्दिरको पुनर्निर्माण कार्यमा महत्वपूर्ण योगदान पुर्याउनुहुने भावुक व्यक्ति स्थानीय पुरानो बजार वडा नं.३ धरान निवासी श्री मनीराज ताम्राकार (समाजसेवी श्री मोतीराज ताम्राकार ज्यूका पिता) ज्यूको २०१० सालमा स्वर्गारोहण भयो ।

उहाँको स्मृतिमा पारिवारिक निजीतवरबाट केही युवाहरुलाई भेला गरी गाईको चित्र अङ्कित श्रीपेच मुकुट बनाई शिरमा लगाई सिँगारेर जोगी बनाई बाजागाजाका तालमा गाईजात्रा र रामायण यात्रा निकाली नगर परिक्रमा गरिएको थियो ।

धरानको सांस्कृतिक इतिहासमा यो गाईजात्रा र रामायण यात्रा नै पहिलो हो । प्राचीन नेवार संस्कृतिको रूपमा रहेको गाईजात्रालाई भाद्रकृष्ण प्रतिपदाका दिनदेखि हिन्दू धर्ममा आस्था राख्ने धरानका खड्गी शाही परिवारले यसपछि विभिन्न देवीदेवताहरूको पूजा अर्चना गर्दै गाईजात्रा पर्व ठाकठुके नाच घोडाजात्रा, बाघजात्रा, रोपाइँ जात्रा आदि पर्वहरू संस्थागत रूपमा नेपाल खड्गी सेवा समिति धरानबाट क्रमशः ७ दिनसम्म मनाउँदै आएको पाइन्छ ।

धरान–७ स्थित स्थानीय सिद्धिनेवा परिषद्बाट २०५२ सादलेखि सामूहिक रूपमा धरानका सम्पूर्ण नेवार समुदायका दिवङ्गत व्यक्तिहरूको नाममा गाईजात्रा कार्यक्रमको आयोजना हरेक वर्ष चिरशान्तिको कामना गर्दै हुँदै आइरहेको छ । स्मरण रहोस् २०५८ साल जेष्ठ १९ गते राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत राजपरिवारको वंश विनाश भयो । दिवङ्गत राजपरिवारको आत्माको चिरशान्तिको कामना गर्दै २०५८ भाद्र २१ गते शोकाञ्जली रामायण गाईजात्रा दुई दिनसम्म धरानका चोक चोकमा नगरपरिक्रमा गरी सफलतापूर्वक प्रस्तुत भएको थियो ।

धरानमा नेवारी रीति, रिवाज संस्कारअनुसार हिजो आज मृत्युपश्चात् मृतकको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी श्रद्धाञ्जली दिने परम्परा गाईजात्राको माध्यमबाट सामूहिक रूपमा हरेक वर्ष सिद्धिनेवाः परिषद् धरानबाट हुँदै आइरहेछ ।
(कर्माचार्य तथ्याङ्क खोजमूलक स्तम्भकार हुन् ।)