धरान/ श्रीलङ्का टप्पुमा मृत फेला परेका ४४ गाईवस्तुको बारेमा विराटनगरस्थित पशुपन्छी रोग अन्वेषणशालाको प्रारम्भिक रिपोर्टमा एन्थ्रेक्स देखापरेको बताइरहेको बेला कोशीटप्पु वन्यजन्तु आरक्षले भने कसैले विष प्रयोग गरेको अनुमान गरेको छ ।

आरक्षको मध्यवर्तीक्षेत्रमा पर्ने वराहक्षेत्र ९ र ६ वडाको बीचमा पर्ने श्रीलङ्का टप्पुमा गत बिहीबार ४४ वटा गाईगोरु मृत भेटिएका थिए । पशुपन्छी रोग अन्वेषणशालाले मृत गाइगोरुको रगतमा प्राणघातक जीवाणु एन्थ्रेक्स ब्याक्टेरिया देखिएको जनाएको थियो ।

तर आरक्ष प्रशासनले एन्थ्रेक्स सङ्क्रमण नभएर कसैले विष प्रयोग गरेर गाईवस्तु मारेको भनेपछि अब केन्द्रीय प्रयोगशालाको रिपोर्ट पर्खिनु पर्ने भएको छ । केन्द्रीय प्रयोगशालाका चिकित्सक डा. प्रज्ञा कोइरालाले विस्तृत रिपोर्ट बिहीबारमात्र आउने बताइन् । उनले मरेका गाईवस्तुको रगतको परीक्षण भइरहेको तर एन्थ्रेक्स हो, होइन भन्नका लागि पिसिआर रिपोर्ट नै पर्खिनु पर्ने बताइन् ।

आरक्ष प्रमुख रामदेव चौधरीले कोशी टप्पुको मध्यवर्ती क्षेत्रमा एन्थ्रेक्स जीवाणुले गाईगोरु मरेका भए त्यही ठाउँमा चरिरहेका अरु गाईगोरु मर्नुपर्ने तर्क गरे । उनले भने, ‘एन्थ्रेक्स सङ्क्रमणले गाईगोरु मरेको भएको भए अरु चौपाया पनि मर्नुपर्ने थियो । कसैले विष दिएर मारेको हुनसक्ने अनुमान मध्यवर्तीका स्थानीय बासिन्दाले पनि गरेका छन् ।’

श्रीलङ्का टप्पुमा मरेका गाईवस्तुको शारीरिक लक्षण र रगत जाँचको प्रारम्भिक रिपोर्टमा एन्थ्रेक्स जीवाणु देखिएको पशपन्छी रोग अन्वेषणशालाका चिकित्सक डा. सञ्जय यादवले बताएका थिए । वराहक्षेत्र नगरपालिका–९ का वडाध्यक्ष दीपक लिम्बूले गाईगोरुलाई विष दिएर मारेको भन्ने कुरामा विश्वासिलो तर्क नभएको बताए ।

उनले केन्द्रीय प्रयोगशालाबाट आउने रिपोर्टको मात्र विश्वास गर्ने बताए । कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले ती गाईगोरुलाई विष नदिएर एन्थ्रेक्स जीवाणु सङ्क्रमण भएरै मरेको बताए । उनले आरक्ष प्रशासनले एन्थ्रेक्स जीवाणुको सङ्क्रमण बारे सही सूचना लुकाइरहेको आरोपसमेत लगाए । उनले आरक्षको मध्यवर्ती क्षेत्रका गाईगोरु मृत फेला परेपछि स्थानीय बासिन्दामा थप त्रास फैलिएको बताए ।

केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका माइक्रोबायोलोजी विभाग प्रमुख धीरेन लिम्बूले लामो समयसम्म खाना नपाउँदा पनि बाँच्न सक्ने र उच्च तथा कम तापक्रम, उच्च तथा न्यून अम्ल र क्षारमा पनि सहजै रहने घातक जीवाणु नै बेसिलस एन्थ्रेक्स भएको बताए । त्यसैका कारण मृत्यु भएको हुनसक्ने उनको भनाइ छ ।