धरान । नेपाल स्वास्थ्य व्याबसायी परिषद (एनएचपिसि) ले मेडिकल माइक्रोबायोलोजी र पव्लिक हेल्थ माइक्रोबायोलोजी अध्ययन गरेकाहरुलाई दर्ता प्रमाणपत्र नदिएपछि धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका विद्यार्थीहरु बुधबारदेखि आन्दोलित भएका छन् ।

माइक्रोबायोलोजीका विद्यार्थीहरुले परिषदले आफ्नो भविष्य अन्यौलमा पारेको भन्दै हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् । परिषदले दर्ता नगरिदिँदा माइक्रोबायोलोजी अध्ययन गरेर दक्ष जनशक्तिका रूपमा रहे पनि लोकसेवा आयोग, सरकारी सेवा र अन्य निजी तथा सरकारी अस्पतालमा सेवा गर्ने अवसर गुमेको केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका माइक्रोबायोलोजी विभागका प्रमुख धिरेन लिम्बूले बताए ।

त्रिवि सेवा आयोगबाहेक अन्य निकाय, विभिन्न अस्पताल, सरकारी तथा गैर सरकारी सङ्घसंस्थामा सेवा गर्न परिषदको प्रमाण–पत्र माग्ने गरिन्छ । नेपालमा माइक्रोबायोलोजी अन्तर्गत स्नातकोत्तर तहमा मेडिकल माइक्रोबायोलोजी, पव्लिक हेल्थ माइक्रोबायोलोजी, एग्रीकल्चर माइक्रोबायोलोजी र फुड माइक्रोबायोलोजीको अध्ययन अध्यापन हुने गरेको छ ।