धरान/ सुनसरीको धरानस्थित पिण्डेश्वर धाम धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ ।
पिण्डेश्वर धाममा पूजापाठ गर्न र घुम्न आउनेको घुइँचो लाग्ने गरेको छ । पिण्डेश्वर महादेवको मन्दिर धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित छ । यहाँको प्राकृतिक वातावरणले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ । पिण्डेश्वरमा अरु बेलाभन्दा साउनमा अत्यधिक भीड लाग्ने गरेको छ । भक्तजनले यहाँ पूजापाठसँगै जल चढाउने गरेका छन् । उक्त मन्दिर गुठी संस्थानअन्तर्गत सञ्चालित रहेको मन्दिरका पुजारी विनोद पोखरेलले बताए ।
“सन्तान प्राप्ति होस भनेर आउनेको सङ्ख्या धेरै छ”, उनले भने । पछिल्लो समय पिण्डेश्वरमा बाह्य पर्यटकसमेत घुम्न आउन थालेका छन । यहाँ पूजाआजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । गत सोमबारसम्म झण्डै ८० हजार भक्तजनले पिण्डेश्वरको दर्शन गरेको पुजारी पोखरेलले जानकारी दिए ।
“मन्दिरको भित्री भाग जीर्ण बन्दै गएको छ । मन्दिरको कलाकृति पनि लोप हँुदै गएको छ”, उनले भने । भवन जीर्ण हुँदा डराइडराइ बस्नुपरेको पोखरेल बताउछन् । मन्दिरबारे स्थानीय तहले ध्यान नदिएको उनको गुनासो छ । मन्दिर परिसरमा स्थानीयवासीले फूलपाती र प्रसादको व्यापार गर्दै आएका छन।
सुनसरीको दुहबीबाट पूजा गर्न आउनुभएकी सपना चौधरी आफू हरेक वर्ष साउनमा पिण्डेश्वरमा भगवान शिवको पूजा गर्न आउने गरेको बताउदैं पहिलाभन्दा मन्दिर वरपर फोहर बढेको बताइन । शौचालय व्यवस्थित गर्न सकेका छैनन ।, चौधरीले भनिन ।