रङ्गेली । विराटनगर–१९ मा रहेको वैजनाथपुर क्षेत्रीय रङ्गशालामा क्रिकेट पिचबेस बनाउँदा लाखौं रकम हिनामिना भएको भन्दै सांसद्ले छानबिन गर्न माग गरेका छन् ।
प्रदेश १ को शुक्रबारको बैठकको शून्य समयमा सांसद् नवोदिता चौधरीले प्रदेश सरकारको बजेटमा क्रिक्रेटको पिचबेस बनाउन भन्दै हदैसम्मको भ्रष्टाचार भएको भन्दै छानबिन गर्न माग गरिन् । नेपाली काङ्ग्रेसकी सांसद् चौधरीले सामाजिक विकास मन्त्रालयबाट क्रिक्रेटको मैदान बनाउन निकासा भएको रकममा हदैसम्म भ्रष्टाचार देखिएको बताइन् ।

उनले क्रिक्रेट पिच बनाउन दुई लाखको काम गरेर २६ लाख रुपैयाँ भ्रष्टाचार गरेको खुलिसकेकोले दोषीलाई कारबाही गर्न माग गरिन् । उनले प्रदेशलाई नै बदनाम गराउने घटना भएकोले छानबिन गरेर कारबाही गर्न जोड दिइन् । मोरङ क्रिक्रेट सङ्घका अध्यक्ष नवीन घिमिरे अध्यक्ष रहेको उपभोक्ता समितिले गतवर्षको बजेटबाट सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य कार्यालय मोरङमार्फत् मैदानमा दुई फिट गहिरो खाल्डो मात्र बनाएर काम सम्पन्न भएको भन्दै २६ लाख रुपैयाँ रकम भुक्तानी लिएको थियो ।

त्यस्तै शुक्रबारकै बैठकमा बोल्दै सांसद् श्रीप्रसाद मैनालीले प्रदेश सवारी नीति नबनाउँदा समस्या बढेको भन्दै चाँडै नीति बनाउन प्रदेश सरकारसँग माग गरे । उनले नीति बनाएर प्रदेशको यातायात व्यवस्था सुदृढ नबनाएसम्म नेपाल भ्रमण वर्ष २०२० पूर्णरूपमा सफल हुन नसक्ने बताए । सांसद् जयराम यादवले प्रदेश सरकारका दुई मन्त्रीहरू भर्खरै चीन भ्रमणमा गएर फर्किएकोले उक्त भ्रमणको किसिम र उद्देश्य प्रदेशसभालाई जानकारी गराउन माग गरे ।

सांसद् प्रतापप्रकाश हाङ्गामले प्रदेशसभाका विषयगत समितिका सभापतिहरू ६० लाखको मोटर चढ्दैमा समृद्धि आउँदैन भन्दै सबैलाई समान व्यवहार गर्न माग गरे । उनले देशमा गरिबी बढिरहेको अवस्थामा सांसद्हरू भने झन् सुविधाभोगी बन्दै जानु असुहाउँदो कार्य हो भने ।