साङ्गीतिक क्षेत्रमा चर्चा कमाउँदै आएकी गायिका अनुका राईको पछिल्लो ‘पलाएन हुन्छ रे’ भन्ने बोलको गीत भर्खरै सार्वजनिक भएको छ । बाबुल गिरीको शब्द, सङ्गीत र ऐरेन्जमा बनेको यो गीतमा कलाकार आँचल शर्माको अभिनय रहेको छ । नृत्य निर्देशन तेन्जु योञ्जनको रहेको छ भने यो म्युजिक भिडियोको निर्देशन गोविन्द राईले गरेका छन् । छायाङ्कन वीरेन्द्र भट्टको रहेको छ । निर्माण एवम् स्वर अनुका राईको हो ।

धरानक्षेत्रबाट आफ्नो गायन यात्रा शुरु गरेकी अनुकाले यसअधि थुप्रै गीतहरूमा आवाज दिइसकेकी छिन् र म्युजिक भिडियोहरू पनि सार्वजनिक गरिसकेकी छिन् । यसअधिको उनको ‘गीत मन पराई मायाले’, ‘तिम्रो न्यानो साथ’, ‘कसरी बिर्सने‘, ‘मैले चाहे तिमीलाई’, ‘देउसी भैलो, हल्ला नगर’, ‘म साथी बन्न सक्छु', ‘दुई चार क्षितिज’ लगायतको बोलका गीतहरूले यु ट्युब च्यानलमा निकै चर्चा एवम् पहिचान कमाएका थिए ।

अनुकाको गायन कर्म सानैदेखिको रुचिको विषय हो । विद्यार्थी कालमा धरानमा बस्दा उनी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुने गर्थिन् । त्यही समयदेखि उनको कलायात्राले सक्रिय मोड लिएको हो । उनी भन्छिन्–‘२०४६÷४७ सालताका म उत्सर्ग जनसांस्कृतिक मञ्चमा आबद्ध थिएँ । त्यही संस्थामा क्रियाशील रूपमा आबद्ध भएदेखि नै मेरो गायकी जागरणले सार्वजनिक रूपमा अधि बढ्ने उत्प्रेरणा पाएको हो ।’ उक्त जनसांस्कृतिक मञ्चमा धरान १ नम्बर क्षेत्रका प्रतिनिधि सभाका वर्तमान सांसद जयकुमार राई समेत आबद्ध रहेका थिए ।

गायन क्षेत्र सानैदेखिको रुचिको विषय रहेता पनि उनले यो क्षेत्रलाई आफनो पेशाको रूपमा बनाउन चाहेकी छैनन् । उनी भन्छिन्– ‘गायन मेरो नितान्त सौखको विधा हो । यसैमा म रमाउँछु ।’ आजसम्म साङ्गीतिक क्षेत्रलाई उनले सौखको क्षेत्रमात्र बनाएर अधि बढिरहेको देखिन्छ । उनी आफैं पनि भन्छिन्–‘म्युजिक मेरो पेशा होइन, सौख हो । मेरो हार्दिक र आत्मिक सौख, जसबाट म सन्तुष्टि पाउँछु ।’ पेशागत रूपमा उनी कर्मचारी हुन् । उनी निजामती सेवामा कार्यरत छिन् । हाल उनी जागिरको सिलसिलामा काठमाडांैमा बस्दै आएकी छिन् । तत्काल धेरै साङ्गीतिक सङ्घ–संस्थामा आबद्ध उनी जनजाती चलचित्र प्रवद्र्धन समितिकी एक सदस्य पनि हुन् ।