नेपालमा छोटो समयमै सहकारी अभियानले फड्को मार्यो । गाउँ गाउँसम्म सहकारीको विस्तार भयो । अहिले सहरमा टोलै पिच्छे जसो सहकारी संस्थाहरू छन् । साना साना पूँजीलाई एकीकृृत गरेर उत्पादनमूलक काममा लगाउन सकियोस् भनेर नै सरकारले पनि सहकारीलाई प्रवद्र्धन गर्ने नीति लियो । तर, पछिल्लो समयका घटनाक्रमहरू नियाल्ने हो भने सहकारीमा विकृतिहरू बढिरहेका छन् । केही सातादेखि धरानमा सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण विक बचतकर्ताको रकम कुम्ल्याएर भागेको घटना चर्चामा छ । उनले सहकारीमा आफ्नै छोरालाई प्रबन्धक र सालीलाई लेखापाल बनाएका थिए ।

सहकारी नियम विपरीत प्रबन्धक र लेखापाल नियुक्त गर्दा समेत बचतकर्ता र कार्य समितिका पदाधिकारीले थाहा पाएनन् वा थाहा पाएर पनि बेवास्ता गरे । त्यसैको परिणाम अहिले उनी करोडौं रुपैयाँ अपचलन गरेर बेपत्ता भएका छन् । यता दुख गरेर जम्मा गरेको पूँजी बचत गर्नेहरू समस्यामा परेका छन् । धरानको घटनाको चर्चा भइरहेकै बेला झापाको शिवसताक्षी नगरपालिकामा रहेको साना किसान कृषि सहकारीमा पनि अध्यक्षको मनोमानीले ८ सय सदस्यहरूको लगानी जोखिममा परेको खबर सार्वजनिक भएको छ । यी त प्रतिनिधि घटना मात्र हुन् । अहिले देशैभरका धेरै सहकारी संस्थामा यस्ता खाले आर्थिक अपचलनका घटना बढिरहेका छन् । यस्ता घटना बढिरहँदा आम जनमानसमा सहकारी प्रति नै नकारात्मक धारणा र शंङ्काको अवस्था बढ्न थालेको छ ।

सानो रकम बचतकर्ताका सानातिना समस्या समाधान गर्न मद्दत पुग्ने विश्वासका साथ सहकारीको अभियान फस्टाएको हो । सहकारीबाटै धेरै बचतकर्ताले बचत रकमलाई लगानी गरेर आर्थिक अवस्थामा सुधार ल्याएका पनि छन् । कतिपयले आफ्ना सानातिना समस्या सहकारीकै कारण समाधान पनि गरेकै हुन् । तर, पछिल्ला घटनाक्रमले सहकारी उल्टै समस्याको जड बन्न थालेका छन् । शुरुका दिनमा सामान्य बचतकर्ताहरूको बाहुल्यता रहेका सहकारीहरूमा पछिल्लो समय अवैध कारोबार गर्ने व्यापारी, गलत मानसिकताका व्यक्तिहरूको प्रवेश बढ्यो । त्यससँगै २५ जना आफन्त र चिनेजानेका व्यक्तिका नागरिकता जम्मा गरेर एक वा दुई जनाले सहकारी खोल्ने लहर चल्यो । यस्तो क्रम बढिरहँदा पनि सरोकारवाला निकायले चासो लिएनन् । अझ कतिपय अवस्थामा त नियामक निकायकै कर्मचारीको मिलेमतोमा यस्ता व्यक्तिगत सहकारीहरू खुले । तिनै सहकारीहरू अहिले समस्याका रूपमा खडा भएका छन् । सहकारी सामान्य आम्दानी गर्ने तर बचत गर्ने बानी नभएकाहरूका लागि बचत गर्न सिकाउने राम्रो अभियान हो तर यसमा भित्रिएका विकृतिहरूले तिनै साना बचतकर्ताहरूको रकम हिनामिना गरेर बिचल्ली पारिदिने क्रम बढ्नु चिन्ताको विषय हो । सहकारी समस्या होइन आम नागरिकका साथी बन्न सक्नुपर्छ । अहिले समस्याका रूपमा देखिएका सहकारीका सञ्चालकहरूलाई कानूनी कारबाही गरी आम नागरिकको रकममा मनोमानी हुन नदिन स्थानीय सरकारहरू पनि सक्रिय बन्नु जरुरी छ ।