धरान/पुराना बाम नेता बिए कृष्ण श्रेष्ठ दुई महिनादेखि बिरामीले थलिएका छन् । प्रोस्टेटको समस्याबाट पीडित बनेका श्रेष्ठ उपचाररत रहेका छन् ।

अहिले उनी घरबाहिरसमेत हिँडडुल गर्न सकिरहेका छैनन् । झण्डै २०३७ सालदेखि मुटुको बिरामीबाट ग्रसित बनेका उनी पछिल्लो केही समययता भने प्रोस्टेटको समस्याले पीडित बनेको परिवारजनले बताएको छ । ‘बाहिरफेर हिँडडुल पनि गर्न सकिरहेको छैन,’ श्रेष्ठले भने, ‘ढेड महिना अगाडि एक्कासी पिसाब बन्द भयो । इमरजेन्सीमा गएर उपचार गराए, अहिले अप्रेशन गर्न भनेर डाक्टरले सुझाइरहेका छन् ।’

उनी विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय रहेका थिए । वि.सं. १९९१ सालमा जन्मिएका श्रेष्ठ विष्णुबहादुर मानन्धर समूहमा रहँदा पोलिटव्यूरो सदस्यका रूपमा रहेका थिए । पछिल्लो पटक नेकपा संयुक्तमा रहेका उनी माओवादीमा पार्टी बिलय भएपछि भने पार्टीमा निस्क्रिय रूपमा रहेका छन् । त्यसो त, उनी विगत ७ वर्षदेखि पार्टी राजनीतिबाट टाढा रहेका थिए । उनलाई अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक बी प्रधानले स्वास्थ्य जाँच गरिरहेका छन् ।