धरान/ तीसको दशकसम्म व्यापार–व्यवसायले गुल्जार बन्ने गरेको धरान–१३ को फुस्रेलाई धरान–१३ र २० वडाको सीमाक्षेत्रमा रहेको बीपी पार्कले पुनः गुल्जार बनाउँदै छ ।

चार दशकसम्म मृत प्रायः बनेको फुस्रेलाई पुनर्जीवन भर्ने काम बीपी पार्कले गरिरहेको छ । ‘तीसको दशकसम्म जुन चहलपहल थियो, त्यो २०३४ सालमा धरान–धनकुटा बाटो बनेपछि हरायो,’ धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले भन्छन्, ‘ऐतिहासिक बजारलाई पुनः पर्यटक भिœयाएर चहलपहल गराउने उद्देश्यले पार्क निर्माण गरिएको हो ।’ जुन उद्देश्यले निर्माण गरिएको हो त्यो उद्देश्य विस्तारै पूरा हुँदै गएको अध्यक्ष काफ्ले देख्छन् ।

फुस्रे बजारले कुनै बेला पूर्वी पहाडी जिल्लाको नूनदेखि सुनसम्म पूर्ति गर्ने काम गरेको थियो । त्यो बेला यहाँ हरेक साँझ गुल्जार हुन्थ्यो । तर, धरान–धनकुटाको सडक बनेसँगै फुस्रे बजारको चहलपहल पूर्ण रूपमा हट्यो । जसले गर्दा त्यहाँका स्थानीयहरू चिन्तित हुने गरेका थिए । ‘यहीँबाट काठमाडौं बसाइँ सर्नेहरूले सबै ठाउँमा डेभलप भयो, यो ठाउँ त जस्ताको त्यस्तै छ भनेर गुनासो गर्थे, अहिले यो बनेपछि उनीहरू पनि खुशी छन्’ बीपी पार्क नजिकै व्यवसाय सञ्चालन गर्दै आइरहेकी राधिका लामा भन्छिन्, ‘अहिले मान्छेको चहलपहल हुन्छ । दैनिक भीडभाड हुन्छ ।’

सांसद क्षेत्र विकास कोषमार्फत् प्रतिनिधिसभाका सांसद जयकुमार राईले २० लाख रुपैयाँ र स्थानीयको ४ लाख ७७ हजार रुपैयाँको जनसहभागितामार्फत् बनेको पार्क हेर्नका लागि भीडभाड हुने गरेको छ । धरान–१३ र २० नम्बर वडालाई जोड्ने सर्दु खोलाको पुलमाथि फ्लावर ब्रीज निर्माण गरिएको छ । जसमा सेल्फी खिच्न जानेहरूको लर्को लाग्न थालेको छ ।

गत जेठ १ गतेदेखि निर्माण शुरु गरेर असार ३१ गते सम्पन्न गरिएको फ्लावर ब्रीज धेरैका लागि आकर्षणको केन्द्र बन्दै गएको बीपी पार्क निर्माण समितिका अध्यक्ष चक्रबहादुर खड्का बताउँछन् । फ्लावर ब्रीजसँगै ढुङ्गामा आकर्षक हाँस, सर्प तथा चितुवाका तस्विर अङ्कित गरिएका छन् । जसले गर्दा यो ठाउँ आन्तरिक पर्यटकको लागि आकर्षणको केन्द्र बनेको हो ।

यो बेला सर्दु खोलामा पानीसमेत हुने भएकाले त्यहाँ नुहाउन पुग्नेहरूको पनि भीड बढ्ने गरेको छ । सर्दुमा पौडी खेल्नेहरूका कारण पनि आकर्षण थपिएको छ । अहिले दैनिक अढाइसयदेखि ३ सयको हाराहारीमा आन्तरिक पर्यटकहरू भित्रिने गरेका छन् । ‘यहाँ झापाको दमक, बिर्तामोडसम्मका मान्छेहरू आएको पायौँ,’ समितिका अध्यक्ष खड्काले भने, ‘स्वास्थ्य उपचारमा धरान झरेकाहरू पनि आउने गरेका छन् ।’

park

सार्वजनिक विदाका दिन बीपी पार्कमा अत्यधिक भीड हुने गरेको छ ।’ धनकुटाको पाख्रिबासबाट आइपुगेका असिम राई पनि पहिलो पटक बीपी पार्क आइपुगेका भेटिए । उनले आफूलाई आफन्तले नै राम्रो घुम्ने ठाउँ छ भनेकाले आइपुगेको प्रतिक्रिया दिए । ‘ठीकै रहेछ, राम्रै लाग्यो’– उनले भने । उनीसँगै रहेकी धरान–११ सयपत्री मार्गकी आफन्त तुलसा राईले पाहुनाहरूलाई घुमाइ दिनका लागि यता ल्याएको बताइन् । ‘म पनि पहिला त आएको थिइन । यो बनेपछि नै आएको हुँ’ उनले भनिन्, ‘दुई तीनपल्ट आइपुगिसकेँ, आज चाहिँ पाहुनालाई घुमाइदिन ल्याएको ।’

२०७१ सालमा काङ्ग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलले उद्घाटन गरेको बीपी पार्कले जीवन प्राप्त गर्दै छ । तर, अर्कातिर जैविक विविधतासँग पार्कको नाम पनि जोडिन थालेपछि नामका विषयमा विवाद आउन थालेको छ । बीपी पार्कको नाममा सांसद मीन विश्वकर्माको पालामा १० लाख बजेट विनियोजन गरे पनि ५ लाख रुपैयाँ फ्रिज भएर गएको थियो भने ५ लाख रुपैयाँले सामान्य कामको थालनी गरिएको थियो ।

उक्त ठाउँमा एक वर्षअघि साहसिक खेल फ्लाइङ फक्स पनि गराइएको थियो । जसले गर्दा पनि थप प्रचार हुन पुगेको थियो । त्यसयता भने धरानमा आउने पाहुँनाहरू पनि धरान–१३ पुग्ने गरेका छन् । ‘आन्तरिक पर्यटकको घुइँचो छ । तर यहाँ आउने भीडको राम्ररी व्यवस्थापन हुन सकेको छैन,’ वडाध्यक्ष नेत्र काफ्लेले भने, ‘व्यापार व्यवसाय आफ्नै तरिकाले चलेका छन् । त्यसको राम्ररी व्यवस्थापन गर्ने सोचमा नगरपालिका रहेको छ । त्यो विषयमा कुरा भइसकेको छ ।’ विदाको समयमा झण्डै ५ हजार आन्तरिक पर्यटकहरू आइपुगेको अनुमान वडा कार्यालयले गरेको छ ।