धरान । धरानकी बिना घलेको तेस्रो कृति ‘आफ्नै धरा आफ्नै आकाश’ विमोचन भएको छ ।
अमेरिकाको सियाटल वाशिङ्गटनमा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्की र २०१९ की मिस नेपाल वल्र्ड अनुष्का श्रेष्ठले संयुक्तरूपमा विमोचन गरेका हुन् ।
अमेरिका बसाइलाई यात्रानुभूतिको रूपमा लेखेको पुस्तकमा नयाँ पुस्तामा अमेरिकी सपना र उनीहरूका अभिभावकको मनोभावनालाई सुन्दररूपमा समेटेका छन् ।

सियाटलको सेरोफेरोमा बसोबास गरिरहेको तीनसय भन्दा बढी नेपालीहरूको उपस्थितिमा नेपाल सियाटल सोसाइटीद्वारा आयोजित वार्षिक समारोहमा विमोचित पुस्तककाबारेमा राजदूत कार्कीले भने, ‘हामी धेरै ठाउँमा पुग्छौं, देख्छौं तर देखेको भोगेको कुरालाई पठनीयरूपमा लेख्ने गरेका छैनौं । लेखिका बिना घलेले अमेरिका बस्ने आफ्ना सन्तानसँगको अनुभवलाई पुस्तकमा सँगालेकी रहिछन् ।’

नेपाल सियाटल सोसाइटीका अध्यक्ष माधव भण्डारीको अध्यक्षतामा सम्पन्न विमोचन समारोहमा लेखिका घलेले भनिन्, ‘अमेरिका जस्ता ठूला–ठूला देशमा नेपालबाट युवाहरू आफ्नो भविष्य खोज्दै जान्छन् र उतैको बासिन्दा भएर रहने गरेका छन् । वृद्ध भएका बाबुआमा छोराछोरी फर्केर नआएपछि आफै उनीहरूलाई भेट्न अमेरिका जान्छन् ।

तर सारा जीवन आफ्नो देशको माटोमा बिताएका बाबुआमालाई अमेरिकाको जीवनशैली केही दिन त रमाइलो लाग्छ तर पछि आफ्नै गाउँ शहरको यादले सताउँछ, कति त फर्किन्छन् र आफ्नै देशमा आएर रमाउँछन्, फर्किन नपाउनेहरू देश सम्झँदै एक्लै रुन्छन् ।

पुस्तकका यिनै विषयलाई समेटेको छु ।’ घलेका कान्छो छोरा अमेरिकी आर्मीमा छन् । छोराको मायाले तानेर अमेरिका पुग्दाको तीता–मीठा मनोभावनालाई पुस्तकमा समेट्ने प्रयास गरिएको लेखिका घलेले बताइन् ।

यसअघि लेखिका घलेको आफ्नो जीवनमा आधारित पारिवारिक, जागिरे जीवन, जीवनको अन्य अनुभवको बारेमा पहिलो कृति ‘यात्रा’ तथा दोस्रो कृति ‘आख्यायिका’ प्रकाशित भइसकेका छन् । आफ्नो दैनिक जीवनलाई डायरीमा लेख्ने बानीले गर्दा आफूले पुस्तकको रूपमा सबै सामु राख्न पाएको उनले बताइन् ।