धरान । साउदी अरबमा महिलाहरुले अब कोही पुरुष अभिभावकको अनुमति बिना नै विदेश यात्रा गर्न सक्नेछन् । शुक्रबार शाही आदेश जारी गरिएको छ ।

नयाँ नियमअनुसार अब २१ वर्षभन्दामाथि उमेर भएका महिलालाई कुनै पुरुष अभिभावकको अनुमतिबिनै पासपोर्टका लागि आवेदन दिन सक्नेछन् । यो नियम लागू भएपछि साउदी अरबमा सबै वयस्क विदेश यात्राका लागि पासपोर्ट अप्लाई गर्न सक्नेछन् । अब महिला र पुरुषमा भेदभाव हुने छैन ।

शाही आदेशका अनुसार महिलालाई आफ्नो बच्चाको जन्म, आफ्नो विवाह र सम्बन्धविच्छेदका लागि दर्ता गर्ने अधिकार हुनेछ ।
जागिरमा समेत महिलालाई बढी अधिकार दिइने छ । नयाँ नियमका अनुसार साउदीका सबै नागरिकलाई बिना कुनै भेदभाव काम गर्ने अवसर प्राप्त हुनेछ ।

हालसम्म साउदी अरबमा महिलालाई विदेश यात्रामा जान, पासपोर्ट अप्लाई गर्नका लागि पुरुष अभिभावकसँग अनुमति लिनुपथ्र्यो ।

साउदी अरबका शासक राजकुमार मोहम्मद बिन सलमानले यस अघि पनि केही सुधारको घोषणा गरेका थिए । यसअन्तर्गत महिलालाई गाडी चलाउने अनुमति दिइने व्यवस्था गरिएको थियो ।

सन् २०३० सम्ममा देशको अर्थव्यवस्थामा सुधार गर्ने योजना सलमानले सन् २०१६ मा घोषणा गरेका थिए । यसको उद्देश्य महिलालाई २२ प्रतिशतले वृद्धि गर्दै ३० प्रतिशत काममा सहभागी गराउने थियो ।

यद्यपि साउदी अरबमा केही हाइप्रोफाइल व्यक्तिले प्रताडना खेपेको आरोप लगाउँदै क्यानडालगायतका देशमा शरण लिएको खबर पनि सार्वजनिक भएको थियो ।

यसै वर्ष जनवरीमा क्यानडाले १८ वर्षीय रहाफ मोहम्मद अल कुनूनलाई शरण दिएको थियो । पीडितले साउदी अरबबाट भागेर अस्ट्रेलिया जाने प्रयास गरेका थिए । तर थाइल्याण्डको राजधानी बैंककमा एयरपोर्टको एउटा होटलमा उनी फँसेका थिए र सहायताको अपिल गरेका थिए ।

कयौं अन्तर्राष्ट्रिय मानवअधिकार संगठनको दावीअनुसार अरबमा महिलाहरुले दोस्रो दर्जाको नागरिकसरह व्यवहार भोग्नु परिरहेको छ ।

ladydriver

परिवर्तन हुँदै साउदी सरकार
पछिल्ला केही वर्षदेखि साउदी अरबले महिला अधिकारका बारेमा गरेको परिवर्तन चर्चाको विषय बन्दै आएको छ । साउदीका महिलाहरु पहिलो पटक स्टेडियममा गएर फुटबल प्रतियोगिता हेर्न सफल भए ।

त्यहाँको सरकारले महिलालाई सैन्य र गुप्तचर निकायमा भर्ती हुन सक्ने पनि स्वतन्त्रता दिने घोषणा ग¥यो । साउदीका महिलाहरूले पहिलो पटक साइकल रेसमा भाग लिन पाए । ड्राइभिङमा लगाइएको प्रतिबन्ध हट्यो ।

केही प्रतिबन्ध हट्न बाँकी
साउदी अरबका रेष्टुराँमा महिलाहरूलाई आफ्नो पुरुष मित्रसँग बस्ने अनुमति हुँदैन । रेष्टुराँहरुमा महिला र पुरुष बस्ने स्थान छुट्टाछुट्टै हुन्छ । त्यहाँ परिवार र एकलै जाने पुरुषहरुलाई स्थान छुट्याइएको हुन्छ । महिलाहरुले रेस्टुराँमा जाँदा परिवार बस्ने स्थानमा बस्न पर्ने बाध्यता हुन्छ ।

साउदी अरबका महिलाहरुलाई सार्वजनिक स्थानमा अनुहार छोप्नुपर्ने बाध्यता नभए पनि खुकुलो र सम्पूर्ण शरिर छोपिने लुगा ‘अबाया’ लगाउनुपर्ने बाध्यता भने रहन्छ । यो नियम पालना नगर्ने महिलामाथि धार्मिक प्रहरी अर्थात् ‘मुतावा’ कारवाही गर्दछ ।

साउदीका केही सपिङ सेन्टरहरुमा सीमित तलामा महिलाहरुले आफ्नो ‘अबाया’ हटाउन सक्छन् । यस वर्षको शुरुआतमा एक धर्मगुरुले महिलाहरुले ‘अबाया’ नलगाए पनि हुने बताएका थिए । उनको बयानले भविष्यमा साउदी अरबमा ‘अबाया’ का विषयामा कानून बनाउन सघाउने अपेक्षा गरिएको छ ।

driving1

यद्यपि गैर–साउदी महिलाहरुको ‘ड्रेस कोड’ का बारेमा भने कानुन लचिलो छ । साउदीमा गैर मुसलमान महिलाले कपाल ढाक्ने बाध्यकारी कानुन छैन ।

साउदी अरब महिला अधिकारमाथि सबैभन्दा बढी प्रतिबन्ध लगाउने देशहरुमा पर्दछ । विश्व आर्थिक मञ्चको विश्व लिंगभेद सूचकांङ्कमा समावेश १४४ देशहरु मध्ये साउदी १३८ औं स्थानमा रहेको छ ।

विगत तीनवर्ष अघिमात्रै महिलालाई मताधिकार प्रयोग गर्न दिएको साउदी अरबमा रुढीवादी सोचका कारण अहिले पनि महिलाहरुमाथि प्रतिवन्ध यथावत् रहेको छ ।

–  न्युज एजेन्सीकाे सहयाेगमा