पाँचथर/ पाँचथरको याङ्वरक र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सङ्गममा रहेको तिम्बुङ पोखरीमा निर्माण भइरहेको मन्दिरको विषयलाई लिएर विभिन्न आदिबासी जनजातिजन्य सङ्घ–संस्थाले विरोध जनाएका छन् ।

पोखरीको डिलैमा कङ्क्रिट प्रयोग गरी मन्दिर बनाउँदा प्राकृतिक सुन्दरता हराउने भन्दै उक्त कार्यको विरोध जनाइएको हो । नेपाल आदिबासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् पाँचथर, याक्थुङ प्रज्ञा प्रतिष्ठान, किरात याक्थुङ चुम्लुङ, किपट संरक्षण मञ्च, तङ्सिङ एग्रो टुरिजमलगायतका सङ्घ–संस्थाले पोखरीको डिलमा मन्दिर बनाउने कार्यको विरोध गरेका हुन् ।

पोखरी रहेको स्थानदेखि केही वरपर मन्दिर निर्माण गर्न सकिने भए पनि पोखरीको प्राकृतिक सौन्दर्य नै नष्ट हुने गरी कङ्क्रिट, रडलगायतका सामग्री प्रयोग गरी मन्दिर बनाउनु राम्रो कार्य नभएको याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जवेगुले बताए ।

जो–कोहीको धार्मिक आस्थालाई सम्मान गर्नुपर्ने तर त्यस्ता संरचना बनाउँदा त्यसले पुर्याउने असरलाई ख्याल गर्नुपर्ने चुम्लुङ पाँचथरका अध्यक्ष नरेन्द्रराज केरुङले बताए ।

तिम्बुङ पोखरीमा पर्यटन मन्त्रालयको ५० लाख रुपैयाँ र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको पाँच लाख रुपैयाँ लागतमा मन्दिर निर्माण भइरहेको हो । उक्त कार्यको सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ ।

विभिन्न १८ वटा आदिबासीजन्य सङ्घ–संस्थाले समेत विज्ञप्ति निकालेर विरोध जनाएका हुन् । उक्त विवादलाई छलफलको माध्यमबाट समाधान गरिने सिदिङ्वा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकप्रसाद फागोले बताए ।

तिम्बुङ पोखरी क्षेत्र तीर्थयात्रा र दृश्यावलोकनका लागि अब्बल गन्तव्य मानिन्छ । समुद्री सतहदेखि ४,४८० मिटर उचाइमा रहेको तिम्बुङ क्षेत्रमा हरेक वर्षको असारदेखि भदौ महिनासम्म तीर्थयात्रीको लर्को लाग्ने गर्दछ ।

पहिले बन्दुक जस्तो आवाज निकालेर पड्किने हुनाले लिम्बू भाषाको ‘तिम्बक’ (बन्दुक) बाट अप्रभंश भई पोखरीको नाम ‘तिम्बुङ’ पोखरी हुन पुगेको जानकारहरू बताउँछन् ।