बीस लाख पर्यटन भित्र्याउने लक्ष्यसहित घोषणा भएको पर्यटन वर्ष २०२० आइपुग्न केही महिनामात्रै बाँकी रहेको छ । पर्यटन वर्ष नजिकिइ रहँदा त्यसको तयारी भने सन्तोष जनक देखिँदैन । देशमा रहेका सम्पूर्ण मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण र विकास गरी तिनको आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई मुलुकको आर्थिक आधारको रूपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पु¥याउन संस्कृति र पर्यटन क्षेत्रको विविधीकरण, विस्तार अनि प्रवर्धन गरिनु आवश्यक छ तर त्यसतर्फ सरकार जिम्मेवार रहेको देखिँदैन ।

नेपालमा जैविक विविधता, भौगोलिक विशेषता, एतिहासिक एवम् पुरातात्वीक महत्वका सम्पदा, प्रकृतिक स्रोत, सांस्कृतिक धार्मिक एवं जातीय विविधताको महत्व तथा फरक पहिचान बोकेको हिसावले नेपाल पर्यटन आकर्षणको लागि उत्कृष्ट गन्तव्य हो । नेपालको तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक क्रियाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउँदै आएको छ । नेपालमा अधिकांश पर्यटकीय गन्तव्यहरू ग्रामीण भेगमा अवस्थित छन् । त्यसमध्ये पनि धेरै जसो अत्यन्तै दुर्गम ठाँउमा रहेका छन् । त्यस भेगलाई पर्यटन क्षेत्रको विकास र विस्तार सहित आन्तरिक र बाह्य हवाई यातायात विकास गरी थप सुरक्षित, स्तरीय र भरपर्दो बनाउन आवश्यक छ ।
समग्र देशको पर्यटन सँगसँगै एक नम्बर प्रदेशको पनि पर्यटन प्रवद्र्धनको बेग्लै महत्व र विषेशताहरू रहेका छन् । सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै सबैभन्दा होचो ठाउँ झापाको केचना यसै प्रदेशमा पर्छन्। इलामको चिया बगान र माईपोखरी, पाँचथरको साधुटार, ताप्लेजुङको पाथीभरा मन्दिर, तेह्रथुममा रहेको एशियाकै अग्लो ह्यात्रुुङ झरना, तिनजुरे मिल्के, धनकुटाको भेडेटार, नाम्जे, नमस्ते झरना, छिन्ताङ देवी मन्दिर, भोजपुरको ट्याम्के, मयुङ, सङ्खुवासभाको गुफापोखरी , मकालु वरुण राष्ट्रिय निकुञ्ज ,सुनसरीको वराहक्षेत्र, पिण्डेश्वरी, खोटाङको हलेसी मन्दिरलगायत पूर्वी नेपालका आकर्षक धार्मिक तथा पर्यटकीय गन्तव्यहरू हुन् ।

केही वर्ष अघिदेखि शुरु भएको तमोर नदीमा ¥याप्टिङ र भेडेटारलगायत अन्य केही डाँडाहरूबाट गरिने प्याराग्लाईडिङले समेत पर्यटक लोभ्याउन सफल भएका छन् । र्याप्टिङ र प्याराग्लाईडिङमा आन्तरिक पर्यटकको बढी घुइँचो लाग्ने गरेको छ । पर्याप्त प्रचार प्रसारको अभावमा विदेशी पर्यटकको उपस्थिति कम भएको हुनसक्ने आँकलन गरिन्छ । नेपालमा विदेशी पर्यटकहरूको आवागमन शुरुवातसँगै पर्यटन क्षेत्रका कार्यक्रमहरूलाई व्यवस्थित ङढ्गले अगाडि बढाउन सर्वप्रथम उचित पर्यटन क्षेत्र पहिचान र प्रवद्र्धन गर्न ढिलो भइसकेको छ ।

प्रदेश एकका पर्यटन व्यवसायी पुण्य भटराईका अनुसार पर्यटन वर्ष २०२० सफल बनाउन सरकार आफै पूर्ण रूपले तयार भइनसकेको बताए । भटराईका अनुसार सातै प्रदेशमा पर्यटन वर्षलाई लक्षित गरेर इमिग्रेसन कार्यलय स्थापना गर्नुपर्ने र जिल्ला जिल्लामा पर्यटन विकास समितिहरू गठन गरिसक्नुपर्र्ने हो तर हालसम्म गठन नभएको गुनासो गरे । उनका अनुसार एक नम्बर प्रदेशमा पर्याप्त पर्यटनका सम्भावना हुँदाहुँदै पनि प्रदेशमै पर्यटनको नयाँ समिति नहुँदा पर्यटन व्यवसायमा काम गर्न असहज भएको बताए । पर्यटन वर्ष २०२० मा नेपाल घुम्न आउने पर्यटकहरूलाई एक नम्बर प्रदेशमा सुविधा सम्पन्न होटलहरू धेरै खुलिसकेका र अझै खुल्ने क्रममा रहेको बताए ।

उनका अनुसार एक नम्बर प्रदेशमा मात्र निजी क्षेत्रबाट करिब सात अर्ब होटल व्यवसायमा लगानी भइसकेको बताए । होटलमात्र होइन प्रदेश एकमा होम स्टेको पनि राम्रो व्यवस्था रहेको छ । प्रदेश एकमा पञ्चवती सामुदायिक होमस्टे र रौतामाई निकास सामुदायिक होम स्टे उदयपुर, गोर्खे सामुदायिक होम स्टे, श्रीअन्तुडाँडा सामुदायिक होम स्टे, माङ्सेबुङ सामुदायिक होम स्टे, जस्केलो सामुदायिक होम स्टे, मावु दोबाटे सामुदायिक होम स्टे, देउराली सामुदायिक होम स्टे र बालनगाँउ सामुदायिक होम स्टे इलाम, सेकाहा सामुदायिक होम स्टे र भाङखर्क सामुदायिक होम स्टे सङ्खुवासभा, जेफाले सामुदायिक होम स्टे, मोरङ, प्रथम नागरिक धिमाल सामुदायिक होम स्टे झापा, डाँडाबजार सामुदायिक होम स्टे, नाम्जेथुम्की सामुदायिक होम स्टे धनकुटा, साँघु कोलडाँडा सामुदायिक होम स्टे, लालीखर्क निकास सामुदायिक होम स्टे ताप्लेजुङ र सप्तकोशी सामुदायिक होम स्टे, बुग्डहरी सामुदायिक होम स्टे सुनसरी गरी जम्मा २० वटा सामुदायिक होम स्टेहरू सञ्चालनमा रहेका छन् भने ७ वटा निजी होम स्टेहरू सञ्चालनमा रहेका छन् ।

इटहरी चोकदेखि ५२ किलोमिटर उत्तरपूर्वमा रहेको डाँडाबजार सामुदायिक होम स्टे धनकुटाकी सचिव सुनिता लिम्बूका अनुसार पर्यटन वर्ष नजिकिँदै गर्दा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । उनले सो हाम स्टेमा आउने पर्यटकहरूलाई स्वगत तथा सम्मान, आरामदायी आवास, स्थानीय खानाका परिकार, मायाको चिनो उपहार लगायत सुविधाहरू दिइरहेको बताइन् । तर, हाल सम्म विदेशी पर्यटक एकपटक पनि उक्त होम स्टेको सेवा लिन आइनपुग्दा दुःख लागेको सचिव सुनिताले बताइन् ।

डाँडाबजार सामुदायिक होम स्टे धनकुटामा १३ घरधुरी आबद्ध रहेका छन् ।
नेपालमा धेरैजसो धार्मिक पर्यटक छिमेकी मुलुक भारतबाट आउने गरेका छन् । ती पर्यटकहरूलाई व्यवस्थित गर्न नसक्दा ठूलो राजस्व सङ्कलन गुमेको छ । पर्यटन वर्ष सफल बनाउन आउने पर्यटकहरूलाई शान्ति सुरक्षाको सुनिश्चतता गराउन सक्नु सरकारको प्रमुख दायित्व हो । त्यस सँगसँगै सहज सडक यात्रा गराउन सक्नुपर्दछ । पहाड तथा हिमाली भेगका पदमार्गलाई पनि सहज र व्यवस्थित गराउन जरुरी छ । पर्यटकलाई भरपर्दो पथप्रदर्शक (गाइड ) राज्यले निजीक्षेत्रसँग सहकार्य गरेर उपलब्ध गराउन सक्नुपर्दछ । त्यसो गर्न नसके पर्यटन वर्ष घोषणामै मात्र सीमित हुनसक्ने खतरा बढेर जान्छ ।