बिर्तामोड पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले पार्टीको स्कुल बिभागमा आफु पनि आकांक्षी रहेको बताएका छन् । गृहजिल्ला इलाम जाने क्रममा झापाको बिर्तामोडमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले स्कुल बिभागका लागि आफु तयार रहेको बताए ।
खनालले पार्टीको स्कुल बिभागका बारेमा मिडियाले बिबाद झिकेको समेत आरोप लगाए । स्कुल बिभागको सन्दर्भमा पार्टीमा कुनै बिवाद नरहेको बताए । मिडियाले स्कुल बिभागलाई बिवाद भन्दै प्रचार गरे, खनालले भने –‘तपाई झापाली पत्रकार साथीहरु कान ठाडो बनाएर सुनिरहनु भएको छ ।’
खनालले स्कुल बिभागका लागि ईश्वर पोखरेल, नारायण काजी श्रेष्ठ र आफुसमेत योग्य रहेको बताए । पार्टीले स्कुल बिभाग मलाई दियो भने किन नलिने ? प्रश्न गर्दै खनालले भने–‘नाइ मलाइ त्यही केटी चाहिन्छ भन्ने गित जस्तो, त्यही बिभाग चाहियो चै भन्दिन ।’ खनालले देश चलाएको मान्छेले बिभाग चलाउन कुनै अप्ठ्यारो नहुने तर्क अघि सारे ।
उनले स्कुल बिभागका बारेमा मिडियामा फैलिएको भ्रममा नपर्न आग्रह गरेका छन् । सोचेभन्दा जटिल तथा चुनौतीपुर्ण भएका कारण पार्टी एकता प्रक्रिया लामो समयसम्म लागेको उनले बताए । सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्चलगायतका पार्टीका संगठनहरु निर्माण गर्न बाँकी रहेको उनले बताए । यद्यपी एकतामा लामो समय लागेका कारण नेपालको कम्युनिष्ट आन्दोलनमा क्षति पुगेको उनले बताए ।