पिण्डेश्वर आरतीः पर्यटनको खुड्किलो

alt तस्बिरः गुगल
  • श्रावण १३, २०७६
  • २१५ पटक पढिएको
  • विष्णु बराल

अमृतको शेषबाट स्थापित भगवान् शिवलाई हामी धरानवासीहरूले धरानको शिरमा चाहना अनुरूप दर्शन गर्न पाइरहेका छौँ । अझ श्रावण महिनामा नेपाल तथा भारतका लाखौँ भक्तजनहरूले कोशी नदीबाट पवित्र जल ल्याई पिण्डेश्वरमा अर्पण गर्ने गरेका छन् । यही श्रावण महिनामा विगत ३ वर्षदेखि पिण्डेश्वरको अग्रभागमा रहेको सरस्वती कुण्डमा शिव आरती गर्न पनि थालिएको छ । वटुकहरूद्वारा विभिन्न स्तोत्र र भगवान्को गुणगान गाउँदै आरती गर्ने गरिएको छ र यो आरतीमा सरिक हुूदा पुण्य लाभ हुने विभिन्न पुराणहरूमा उल्लेख गरिएको पाइन्छ ।

के हो आरती भनेको ?
आरती शब्द संस्कृतको आ उपसर्ग पूर्वक रम् धातुबाट क्तिन् (ति) प्रत्यय जोडिएर निर्माण भएको पाइन्छ । यसको अर्थ सम्पूर्ण रूपले प्रेम वा भक्ति प्रकट गर्नु भन्ने हुन्छ । अर्काे व्युत्पत्तिअनुसार आरती शब्द संस्कृतमा “आत्र्तिः” को प्राकृत रूप हो । जसको अर्थ रोग, पीडा वा दुःख भन्ने बुझिन्छ । आरती बाल्नु भनेको आत्र्ति निवारण वा भगवान्को कृपाले पीडा, रोग र दुःख निवारण गर्नु भन्ने बुझिन्छ ।

इष्ट देवतालाई प्रसन्न बनाउन पूजा गरेपछि अन्त्यमा आरती गर्ने गरिएको छ । यसमा भगवान्लाई आरती देखाएर गुणगान पनि गाइन्छ । बात्तीको उज्ज्वलता देखाएर भगवान्लाई आलोकित गर्न सकियोस् र उनको सौन्दर्य हेर्न सकौं भन्ने अभिप्रायः पनि आरती गर्नु हो ।

अनादिकालदेखि नै हिन्दू संस्कृति र संस्कारमा आरति गर्ने परम्परा रही आएको छ । युद्ध गर्न रणभूमिमा जाँदा विजयको कामना गरी आरती गरेर विदाइ गर्ने वा विजय भएर घर फर्किंदा आरती गरेर स्वागत गर्ने परम्परा पनि रहँदै आएको छ । तिहारमा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गरेर आरती गर्ने गर्दछन् भने नयाँ बुहारी घर भित्र्याउँदा पनि आरती उतारेर गृह प्रवेश गराइन्छ ।

यस्ता उदाहरणले पनि हाम्रो घरको दिनचर्यामा समेत आरतीको महत्व रहेको पाइन्छ । आरती गर्दा, हेर्दा र आरतीमा सहभागी हुँदा पनि आरतीको आलोकबाट आँखालाई आनन्दमात्र प्राप्त हुँदैन, हृदयमा पनि पवित्र र सकारात्मक भाव उत्पन्न हुन्छ, र जीवन सुखमय बन्दछ । आरती लोकाचार नभएर हिन्दू संस्कृतिको सुसंस्कार पनि हो । यसै सन्दर्भमा, श्रीमद्भागवत् पुराणको सप्तम स्कन्ध, पाँचौं अध्यायको २३ औँ श्लोकमा
“श्रवणं कीर्तनं विष्णोः स्मरणं पादसेवनम् ।
अर्चनं वन्दनं दास्यं सख्यमात्मनिवेदनम् ।।” भनेर उल्लेख गरिएको छ ।

अर्थात् श्रवण गर्नु (सुन्नु), कीर्तन गर्नु, स्मरण गर्नु, पाउको सेवा गर्नु, पूजा गर्नु, स्तुति गाउनु, भगवान्को सेवक (दासभाव) हुनु, सख्यभाव हुनु, आत्मनिवेदन गर्नु भनेर नवधा भक्ति अर्थात् नौ प्रकारका भक्तिको उल्लेख गरेको पाइएको छ । नवधा भक्तिमध्ये पाँचौं भावमा पूजा गर्नु भनेको हुनाले पूजा १६ प्रकार (षोडशोपचार विधि) ले गर्ने गरिन्छ, जसमा आरती प्रमुख रहेको छ । पूजामा केही त्रुटि भयो भने आरती गरिन्छ, जसले पूजा पूर्ण हुन्छ र गल्ीतमा पनि क्षमा प्राप्त हुन्छ भन्ने हिन्दूहरूले विश्वास गर्दै आएका छन् ।
यस्तै स्कन्द पुराणअनुसार पनि
मन्त्रहीनं क्रियाहीनं यत् कृतं पूजनं हरः ।
सर्वं सम्पूर्णतामेति कृते नीराजनं शिवे ।
अर्थात् पूजा, अनुष्ठान मन्त्रहीन वा क्रियाहीन (कार्यमा कुनै त्रुटि) हुँदा पनि नीराजन अथवा आरती गर्दा त्यसले पूर्णता प्राप्त गर्दछ भन्ने उल्लेख गरिएको छ ।

आरती कसरी गर्ने ?
‘पञ्चनीराजनं कुर्यात् प्रथमं दीपमालया ।
द्वितीयं सोदकाब्जेन तृतीयं धौतवाससा । चूताश्वत्थादिपत्रैश्च चतुर्थं परिकीर्तितम् ।
पञ्चमं प्रणिपातेन साष्टाङ्गेन यथाविधि ।।’

कालोत्तरतन्त्र
अर्थात् पहिलो आरती दीपमालाले गर्ने, दोस्रो शङ्खजलले गर्ने, तेस्रो ( धोएको शुद्ध कपडाद्वारा गर्ने भनेर भनिएको छ । त्यसै गरी आरती चौथो आँप, पिपल आदिको पातद्वारा र पाँचौं निहुरेर अथवा साष्टाङ्ग दण्डवत् गरेर गर्ने भनिएको छ । त्यसैगरी, कालोत्तरतरतन्त्रकै उत्तरखण्डमा ( “कुङ्कुमागरुकर्पूरघृतचन्दननिर्मिताः ।
वत्र्तिकाः सप्त वा पञ्च कृत्वा वन्दापनीयकम् । कुर्यात् सप्तप्रदीपेन शङ्खघण्टादिवाद्यकैः ।
हरेः पञ्च–प्रदीपेन बहुशो भक्तितत्परः”

कुमकुम, अगरु, कपूर, घिउ, चन्दन, आदिद्वारा आरती निर्माण गरिएको हुनुपर्नेछ र आरतीको बात्ती कि त सातसुते या पाँचसुते हुनुपर्नेछ र भगवान् विष्णुको हकमा भने पाँचसुतेले आरती गर्नुपर्दछ, अन्य सातसुते वा पाँचसुतेले गरे पनि हुन्छ, भनेर उल्लेख गरिएको छ । धर्मशास्त्रमा आरतीको बात्तीको सलेदो पूर्वतिर राख्दा आयुवृद्धि, पश्चिमतिर राख्दा दुःखवृद्धि हुनेकुरा उल्लेख छ । दक्षिणतिर राख्दा हानि हुने र उत्तरतिर राख्दा धनलाभ हुने समेत उल्लेख गरिएको छ । त्यसै गरी दियोको मध्यभागमा वा चारैतिर प्रज्ज्वलित गर्दा शुभ हुने समेत उल्लेख छ ।

आरती किन दर्शन गर्ने ?
शास्त्रका अनुसार आरती गर्दा मात्र हैन, दर्शन गर्दा पनि ठूलो पुण्य वा सौभाग्य प्राप्त हुन्छ भनेर उल्लेख गरिएको छ । त्यस्तै विष्णु धर्माेत्तर पुराण (उपपुराण) मा जसले आरती दर्शन गरेर दुवै हातले आरती लिन्छ, उसले करोडौँ पितृको उद्धार गर्छ र भगवद्भक्ति समेत प्राप्त गर्छ भनेर उल्लेख गरिएको छ ।

वास्तवमा, आरतीले व्यक्तिको भावना त पवित्र हुन्छ नै, आरतीमा प्रयोग गरिने कपूरको गन्धले दुर्गन्धलाई हटाउनुको साथै बालिने गाईको घिउले वातावरणको हानिकारक कीटाणु पनि निर्मूल गर्ने कुरा विभिन्न लेखहरूमा उल्लेख गरिएको पाइन्छ । आरतीमा बजाइने शङ्खको ध्वनिलाई सुख, शान्तिको ध्वनि पनि भनिन्छ । यसले कीटाणुहरू नाश गर्ने, श्रवण शक्तिमा अझ सुधार ल्याउने वैज्ञानिक कारणहरू पनि देखिएको छ । सन् १९२८ मा बर्लिन यूनिभर्सिटीले शङ्खध्वनिको अनुसन्धानबाट, प्रति सेकेण्ड २७ घनफिट वायु शक्तिको बलले बजाएको शङ्खले १२०० फुटसम्म रहेका सङ्क्रमित रोगका ब्याक्टेरिया नष्ट गर्ने प्रमाणित गरेको पाइएको छ । त्यसैगरी घण्टको कम्पनबाट मानसिक शान्ति ल्याउने कुरा वैज्ञानिकहरूले पुष्ट्याइँ गरेका छन् ।

कहाँ दर्शन गर्ने आरती ?
हामीले पूजा गरिसकेपछि आरती त गरेकै हुन्छौँ । भारत तथा नेपालका विभिन्न धार्मिक स्थलमा प्रत्येक दिन भव्य रूपमा हुने आरती दर्शन गर्न हामीले पाउने गरेका छौँ । भारतको हरिद्वारको गङ्गा आरती, काशीको गङ्गा आरती र हृृषीकेशको गङ्गा आरती धेरै नै प्रचलित आरती हुन् ।

भारतको हरिद्वारमा सन् १९१० मा गङ्गारतिको शुरुआत भएको पाइन्छ । पण्डित मदन मोहन मालवीयले गङ्गानदीको किनारमा आरती शुरु गरेपछि हरकीपौडी घाट नामकरण गरेको पनि पाइन्छ । साँझमा करिब ३ हजार देखि ३० हजारसम्म भक्तजनहरूले दर्शन गर्ने यस आरतीको व्यवस्थापन स्थानीय सरकारको सहयोगमा स्थापित गङ्गासभाले गर्ने गरेको छ । त्यसैगरी हृषीकेशको परमार्थ निकेतन घाटमा स्वामी चिदानन्द सरस्वतीले आरतीको शुरुवात गर्नुभएको थियो । हृषीकेशसँगै बनारसको दशाश्वमेध घाटमा पनि गङ्गा आरती हुने गर्दछ ।

बनारसको गङ्गा आरती त्यहाँ काशी हिन्दू विश्वविद्यालयमा शास्त्रीय सङ्गीतको अध्ययन गर्न गएका नेपाली विद्यार्थी धर्मदास बुढाथोकी, सागर खतिवडा, पुरुषोत्तम खतिवडा, मदन न्यौपानेको समूहबाट प्रारम्भ भएको कुरा प्रसिद्ध पुराणवाचक पं.यदुनन्दन भारद्वाजले बताए । नेपालमा वि.सं. २०६४ साल श्रावण २१ गते सोमबारदेखि काठमाडौंको पशुपतिनाथमा वाग्मतीको किनारमा आरती हुन थालेको पाइन्छ ।

डा. रमेश पोखरेल, धर्मदास बुढाथोकी, सागर खतिवडा, वासुदेव कृष्ण शास्त्रीको आदिको समूहबाट बाग्मती किनारको आरतीको प्रारम्भ भएको हो । श्रद्धालु भक्तजनहरूको सहभागितामा हुने सो मनमोहक आरतीले साूच्चै नै दर्शनार्थीहरूलाई भक्तिभावमा समेटिएको पाइन्छ । त्यसैगरी जनकपुर धाम र नवलपरासीको शास्वत धाममा पनि आरती हुने गरेको छ । प्राचीन हरिद्वार धाम (चतरा) को कोशी नदीको तटमा जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यज्यू महाराजको सान्निध्यमा प्रत्येक दिन आरती हुने गरेको छ । विशेष पर्वका दिन विशेष किसिमले हुने सो आरतीमा स्थानीय र अन्य भक्तजनहरूको सहभागिता हुने गरेको पाइएको छ ।

धरानको पिण्डेश्वरको आरती
वि.सं. २०७४ सालको श्रावण महिनामा धरानको पिण्डेश्वरमा पनि आरती हुन थालेको छ । पहिलो वर्ष भारतको काशीबाट आरती गर्ने पण्डितहरू झिकाइएको थियो भने हाल धरान–१४ का प्रताप भट्टराईको संयोजकत्वमा आरती गर्ने गरिएको छ ।

पिण्डेश्वर बाबाधाम समितिको आयोजनामा हुने सो आरतीले भारतको आरती बिर्साइ नै दिने गरेको छ । धेरै नै भक्तजनहरूको घुइँचो लाग्ने धरानको आरतीको व्यवस्थापन सो समितिले नै गर्ने गरेको छ । पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले यस वर्ष श्रावणको १५ देखि २१ गतेसम्म हुने आरतीमा मन शान्त र भगवद्भक्तिका लागि सरिक हुन सबैलाई आह्वान समेत गरेका छन् ।

धरानको आकर्षणका रूपमा समेत रहेको सो आरतीमा सबै जात–जाति, धर्मावलम्बीहरूले समेत सहभागी भएर धरानको गौरवको रूपमा बाबाधाम आरतीलाई स्थापित गर्न जरुरी देखिएको छ । जसबाट धार्मिक पर्यटनका रूपमा धरानलाई अझ एक खुड्किलो माथि चढ्न सजिलो हुनेछ ।

जानै परेन पशुपति, जानै परेन काशी
आरती गर्न पिण्डेश्वर जाऔं, हामी धरानबासी ।।
अस्तु ।
(लेखक सुनसरी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवम् धरान जेसीजका पूर्व अध्यक्ष हुनुहुन्छ ।)

झापामा हम्मर प्रहार

बिर्तामोड । झापाको मेचीनगरमा मादक पदार्थ सेवन गरेका एक

प्रदेश नम्बर १ बाट प

हाम्रो सस्कृती हाम्रो संस्कार: प्रदेश नम्बर १ बाट प्रथम

योजना आयोगका कर्मचार

धरान  / राष्ट्रिय योजना आयोगको कार्यालयमा एक

नेकपा प्रदेश २ का अध

धरान / नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले अध्यक्ष पद


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved