इनरुवा/ सुनसरी खोला किनारमा निर्माण थालिएको स्वर्गद्वारी घाट अझै बन्न सकेको छैन । घाट निर्माण थालिएको झण्डै साढे तीनवर्ष हुन लाग्यो । यद्यपि निर्माण कार्यले अझै पूर्णता भने पाउन सकेको छैन ।

२०७२ साल चैत्र १ गते स्थानीय पहलबहादुर कटवालको अध्यक्षतामा गठित कार्यसमितिले घाट निर्माणको काम थालेको थियो । त्यसयता संरचना निर्माणका लागि बेग्लाबेग्लै पाँच उपभोक्ता समिति बनिसकेका छन् । राजनीतिक खिचातानी र व्यक्तिगत स्वार्थ हाबी बन्दा सार्वजनिक चासोको विषयमा ढिलासुस्ती हुन पुगेको स्थानीयको बुझाइ छ ।

पछिल्लो अवस्थासम्म आइपुग्दा स्वर्गद्वारी घाटका नाममा १ करोड बढी रकम खर्च भइसकेको छ । बढीमा दुईदेखि तीन वर्षभित्र पर्याप्त पूर्वाधार सहितको आधुनिक घाट निर्माण गरिसक्ने योजना अझै अधुरै छ ।

इनरुवा–४ सुनसरी खोला किनारमा निर्माणाधीन संरचनाले पूर्णता नपाउँदा लथालिङ्ग संरचनालाई लिएर समितिउपर विभिन्न आरोपसमेत लाग्न थालेका छन् । पछिल्लो समय आवश्यक संरचना निर्माणका क्रममा आर्थिक अनियमितता गरिएको भन्ने आरोपसमेत समितिउपर लाग्दै आएको छ ।

स्थानीय छविलाल कोइरालाले घाट निर्माण कार्य रकम अभावमा अलपत्र परेको भन्ने सुनिन आएकाले हरहिसाब सार्वजनिक हुनुपर्ने बताए । लामो सयम बित्दासमेत निर्माण कार्य पूरा नभएकोले हरहिसाबको बारेमा यथाशीघ्र जानकारी गराउनु पर्ने उनको भनाइ छ । कतिपयले संरचना निर्माणको कार्य बेलैमा सम्पन्न हुन नसक्नुको पछाडि समितिभित्रैको असन्तुष्टि र गुटगत राजनीति हाबी हुनपुगेको बताएका छन् ।

घाटमा दाहसंस्कार स्थानसहितका संरचना निर्माणका लागि झण्डै एक करोड बढी रकम खर्च भइसकेको छ । प्रवेशद्वार निर्माणका लागि स्वयम् अध्यक्ष कटवालको एकल लगानीमा थालिएको निर्माण कार्यसमेत अधुरै छ ।

पछिल्लो पटक जिल्ला समन्वय समिति सुनसरीले २० लाख रकम उपलब्ध गराएको छ । घाट समितिले आजीवन सदस्यहरूबाट करिब १ लाख २५ हजार रकम जुटाएको जनाएको छ । उपभोक्ता समिति, जनश्रमदान, सहयोगी दाताहरूबाट घाटस्थलमा आवश्यक अन्य संरचना निर्माणका लागि झण्डै ३० लाख रकम उठेको बताउने समितिले अन्य केही रकम अझै उठ्न बाँकी रहेको बताएको छ ।

सबैभन्दा बढी तत्कालीन समयमा इनरुवा नगरपालिकाका प्रशासकीय अधिकृत रहेका रामचरित्र मेहताले नगरपालिकाबाट दुई पटकमा गरी ३३ लाख ३९ हजार घाट निर्माणका लागि उपलब्ध गराएको समिति अध्यक्ष कटवालले बताए । त्यसयता भने इनरुवा नगरपालिकाले करिब ११ लाख १६ हजार रकम मात्र घाटका लागि उपलब्ध गराएको छ ।

मेयर राजन मेहताले आफ्नो दुई महिनाको व्यक्तिगत तलबसहित आवश्यक सहयोग जुटाउने प्रतिबद्धता जनाएको बताउने घाट समितिका पदाधिकारीहरू वाचाअनुरूपको सहयोगको पर्खाइमा रहेको बताउँछन् ।

अध्यक्ष कटवालले आफूले बनाउने वाचा गरेको प्रवेशद्वारको कामसमेत बेलैमा सक्ने बताए । वर्षायाम भएकाले निर्माण कार्य अघि बढाउन समस्या परेको बताउने कटवालले बाढी रोकिनासाथ काम सुचारु गर्ने बताए । उनले आफू र आफ्नो समितिउपर लगाइएको अनियमिततालगायतका आरोपमा कुनै सत्यता नभएको भन्दै प्रमाण भए सार्वजनिक गरी देखाउन आग्रहसमेत गरेका छन् ।