सिरहा/जनकपुर–महेन्द्रनगर सडक खण्डमा दुई सवारी एकआपसमा ठोक्किदा तीन जनाको ज्यान गएको छ ।

दुर्घटनामा टेम्पु चालकसहित तीन जनाको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । दुई जना गम्भीर घाइते भएका छन् । महेन्द्रनगरबाट जनकपुरतर्फ आउँदै गरेको ना १ ज ७०२२ नम्बरको गाडी र जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ज १ ह ४८९६ नम्बरको टेम्पो क्षिरेश्वरनाथ नगरपालिका–४ मा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा क्षिरेश्वरनाथ नगरपालिका–३ रमेशपुरका ७२ वर्षीय रामदेव साह, सिरहाका ५० वर्षीया रेखा यादव र टेम्पो चालक क्षिरेश्वरनाथ नगरपालिका–४ कुम्हरौलका २३ वर्षीय रोशन साहको मृत्यु भएको हो ।

चालक साहको उपचारको क्रममा जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते बनेका दुई जनाको जानकी मेडिकलमा उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुर पठाइएको इलाका प्रहरी कार्यालयका महेन्द्रनगरका इन्स्पेक्टर अमीर दाहालले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनामा गणेशमान चारनाथ नगरपालिकाको बिरेन्द्र बजारकी गीता पासवान र पहिचान नखुलेको एक यात्रु गम्भीर घाइते छन् ।