विराटनगर /  प्रहरीले कडाइ गर्न थालेपछि लागूऔष प्रयोगकर्ताहरूले विभिन्न जुक्ति लगाउँदै अवैध लागूऔषध नेपाल भित्राउन थालेका छन् । मोरङ प्रहरीले बुधबार दिउँसो विराटनगर – ४ पिपलचौक अगाडीबाट भारतको बैरानी डिपोबाट डिजेल बोकेर आएको ट्याङकरबाट अवैध लागूऔषध फेला पारेपछि यस्तो खुलसा भएको छ । २० हजार लिटर डिजेल लोड गरेर आएको ना ४ ख ६६५० नम्बरको ट्यांकरमा लागूऔषध सहित सह–चालक भारतको अररिया बथनाहा अमुनाका १९ वर्षीय मोहम्मद राजुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भारतको अररिया बथनाहास्थित सोनापुरका अन्दाजी ३२ वर्षीय मोहम्मद सफिक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले ट्यांकरबाट चार बोतल कोडिन नामक अवैध लागुऔषध फेला परेको बताए । उनले लागुऔषधको तीनवटा खाली बोतल पनि भेटिएको जनाए । ट्यांकरमा चालक बस्ने नजिकै रहेको बक्सा भित्र प्लाष्टिकमा प्याक गरेर राखेको अवस्थामा लागुऔषध फेला परेको हो ।
प्रहरीको अनुसार ट्यांकरका चालक र सह–चालक दुवै जना लागुऔषध सेवनकर्ता भएको खुलेको छ ।