विराटनगर/ पाँच दिनयतादेखि लगातार परेको वर्षाको कारण पानी जमेर घर वरिपरि डुबान छ । भान्सा पनि हिलाम्य, घरमा पानी पसेपछि पाँच दिनदेखि चुलो बलेको छैन । विराटनगर –८ बालगोपाल टोलका सुकुम्बासी बस्तीका बाढीपीडितले भोगिरहेको दुःख हो यो ।

‘सिङ्गिया खोलामा आएको बाढीले घरभित्र पानी पस्दा घर डुबानमा परेको छ । भान्सा हिलाम्य छ, चुलोभरि पानी जमेको छ, कसरी खाना पकाउनु’, विराटनगर–८ बालगोपाल टोलका अशोक कामतले भने, ‘राहत स्वरूप पाएको चिउरा र भुजामा जसोतेसो दिन कटाएका छौं । ओढ्ने ओछ्याउने सबै पानीले भिजायो सुत्ने ठाउँसम्म पानीको आहाल छ ।’

ओत लाग्ने ठाउँसम्म पानी जलमग्न भएपछि ७ जनाको परिवार अहिले खुला चौरमा रात कटाउनु परेको उनले बताए । ‘घर डुबानमा परेपछि शुक्रबारदेखि खुला चौरीमा त्रिपालको टेन्ट बनाएर रात कटाउँदै आएका छौं,’ उनले भने, ‘ठूलो पानी आउँदा त्रिपालबाट पनि पानी चुहिने गरेको छ ।’

सिङ्गिया खोलाको बाढी यो बस्तीमा पस्दा १ सय घर परिवारका करिब ५ सयभन्दा बढी बिस्थापित भएका छन् । उनीहरू नजिकको खुल्ला ठाउँमा रहेको अस्थायी रूपमा त्रिपालको टेन्ट बनाएर रात काट्न बाध्य छन् । कामतजस्तै अन्य बाढी पीडितहरूको पनि बेथा उनको जस्तै छ । बाढीपीडित विजय राजवंशी विराटनगर–८ मै खुला ठाउँमा त्रिपालको टेण्ट बनाएर रात काट्दै आएका छन् ।

निरन्तर परेको वर्षा अनि घरछेउमै उर्लिरहेको सिङ्गिया खोलाले दुःखले बनाएको घर बाढीले बगाउने हो कि भनेर राम्ररी निन्द्रा पनि नलाग्ने गरेको उनले बताए । ‘ओत लाग्ने पाँच जनाको परिवारको लागि सानो घर बनाका थियौं,’ उनले भने, ‘लगातार परेको पानीसँगै आएको बाढी पस्दा डुवानमा पर्यो । पानीको बहाव घटेको छैन ।’

घर बगाउने चिन्ताले सताएको उनले बताए । ‘ओत लाग्ने एउटा त्रिपालको टेन्ट बनाएको छु, रात परेपछि सुत्न खोज्छु । बाढी उर्लिएको आवाजले निद्रा हराउँछ,’ उनले भने ।

विराटनगर महानगरपालिका–१, २, ६, ७, ८, ११, १२, १५, १६, १८ र १९ नम्बर वडाका मानिसहरू विशेष गरी बाढीवाट बढी प्रभावित छन् । विराटनगरस्थित वडा नम्बर १ को विजयपुर टोल नयाँ बस्ती, पाथीभरा मन्दिरको धर्मशाला र शान्तिचोकमा सेल्टर बनाएर बाढीपीडितहरूलाई राखिएको भए पनि ८ नम्बर वडाको बालगोपाल टोका सुकुम्बासीहरू भने खुला ठाउँमा टेण्ट टाँगेर रात कटाउँदैछन् ।

बाढी प्रभावितहरूलाई विराटनगर महानगरले खानपिनको ब्यवस्था मिलाएको बताएको छ । बाढी प्रभावितहरूको अवस्था बुझ्ने र सङ्ख्या यकिन गर्ने काम भइरहेको विराटनगर महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिए । विराटनगरमा राहत तथा उद्धारका लागि विभिन्न सामाजिक सङ्घ–संस्थाहरू समेत खटिएको जनाएको छ ।

सबै वडाहरूमा मेयर पराजुलीसहित उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीसहितको टोली पुगेर वस्तुगत अवस्था बुझ्ने काम गर्नका साथै आवश्यक प्रबन्ध गर्ने काममा जुटेको महानगरले जनाएको छ ।