धरान/ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मोबाइलको भ्वाइस मेसेजमार्फत् धरान उपमहानरपालिकालाई आइतबार पूर्णखोप सुनिश्चित नगर घोषित गरेका छन् ।

धरानस्थित किरात याक्थुङ चुम्लुङ हिममा उपमहानगरपालिकाद्वारा आयोजित बृहत् भेलामा विराटनगरबाट निर्धारित समयमा मुख्यमन्त्री आउन नसक्ने भएपछि मुख्यमन्त्री कार्यालयबाटै धरानलाई पूर्णखोप सुनिश्चित नगर घोषित गरिएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरबाट पठाएको भ्वाइस मेसेजमार्फत् धरान उपमहानगरपालिका पुर्णखोप सुनिश्चित भएको घोषणा गरे ।

अविरल वर्षाको कारण जनधनको क्षति र जलमग्न भएपछि प्रदेश १ को संसद्मा जरुरी बैठक बस्नु परेकाले धरानको निर्धारित घोषणा कार्यक्रममा आउन नसक्ने भएको जनाउँदै मुख्य मन्त्री राईले भ्वाइस मेसेजबाट पूर्णखोपको घोषणा गरेका थिए । उनले भ्वाइस मेसेजमा भने, ‘नेपालको संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा परिभाषित गरेको छ । त्यसमा खोपसेवा प्रत्येक बालबालिकाले प्राप्त गर्नु उनीहरूको नैसर्गिक अधिकार हो ।

सोही अन्तर्गत नवजात शिशुदेखि माथिका बालबालिकालाई दिइने खोप सेवालाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ ।’ उनले खोपको माध्यमबाट नै प्राणघातक रोगहरू उन्मूलन भइसकेकाले हाल ११ वटा रोगविरुद्ध निःशुल्करूपमा प्रदान गरिने खोपसेवा नेपाल सरकारको सफल जनस्वास्थ्य कार्यक्रम भएको पनि उनले बताए ।

उनले दिगो विकास लक्ष प्राप्त गर्न सरकारले बहुवर्षीय खोप योजना सन् २०१७–०२१ अनुसार खोपको माध्यमबाट रोकथाम गर्न सकिने रोगबाट हुने बिरामी, मृत्यु, अपाङ्गता घटाउने मुख्य लक्ष रहेको पनि मुख्यमन्त्री राईले बताए ।

सरकारले सन् २०२१ सम्ममा सबै स्थानीय तहहरू गाउँपालिका, नगरपालिकामा पूर्णखोप शतप्रतिशत पुर्याउने लक्ष राखेको र सन् २०३० सम्ममा स्वस्थ जीवन सुखी जीवन प्रवद्र्धनको लागि सबैको लागि खोप तय गरिसकेको छ । सुनसरीका १२ स्थानीय तहमध्ये १० वटा स्थानीय तहले यसअघि नै पूर्ण खोप घोषणा गरिसकेका छन् । पूर्णखोप घोषणा गर्नेमा सुनसरीमा धरान ११ औं हो । अब सुनसरीमा देवानगञ्ज गाउँपालिका पूर्णखोप घोषित हुन बाँकी छ ।

धरान नगरक्षेत्रमा रहेका सबै बालबालिकाले नेपाल सरकारले उपलब्ध गराएको सबैखाले खोप प्राप्त गरेकाले पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको कार्यवाहक प्रमुख मन्जु भण्डारीले बताइन् । धरानमा अन्तिम सर्वे गर्दा १६ महिनादेखि २३ महिनासम्मका बालबालिका १ हजार ९६ जना रहेको र ती पनि सबै पूर्णखोप पाइसकेको तथा अरू जन्मेकाहरूलाई पनि खोप केन्द्रले नियमित खोप दिएकाले पूर्णखोप घोषणा गरिएको कार्यवाहक प्रमुख भण्डारीले बताइन् ।

धरानका २० वटा वडाहरूमा नियमित सञ्चालित २० वटै खोप केन्द्र रहेका छन् । तीबाहेक धरानको छाताचोकस्थित धरान स्वास्थ्य चौकीमा प्रत्येक आइतबार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि बिहीबारसम्म, परिवार नियोजन सङ्घमा आइतबार र बिहीबार नियमित खोप सञ्चालनमा रहेको भण्डारीले बताइन् ।

पूर्णखोप घोषणाका लागि धरान उपमहानगरपालिकाले ०७४ सालदेखि शुरु गरेको संयोजक तथा वडा नं. १५ का वडाध्यक्ष नरेश इवारमले बताए । उनले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन २० वटै वडामा समन्वय समिति गठन गरेर स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविकालाई व्यापक परिचालन गरिएको इवारमले बताए ।