विराटनगर /  प्रदेश १ सरकारले बाढी, पहिरो र डुवानमा परेर मृत्यु हुनेका परिवारलाई राहत स्वरूप २ लाख रुपैयाँ दिने निर्णाय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार साझ बसेको बैठकले मन्त्रिपरिषदको बैठकले बाढीपहिरोबाट घाइते भएकाहरूको सरकारी अस्पतालमा उपचार गराएको सम्पुर्ण खर्च पनि प्रदेश सरकारले व्यहोर्ने निर्णाय गरेको हो ।

बाढीपहिरोबाट घाइते भइ निजि अस्पतालमा उपचार गराए बढिमा ५० हजारसम्मको भुक्तानी प्रदेश सरकारले गर्ने निर्णाय गरेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रवक्ता हिक्मतकुमार कार्कीले जानकारी दिए । उद्वार राहत पुनःस्थापना र बेपत्ताको खोजीको निम्ति प्रदेश सरकारले अपिल गरेको छ । अमेरिका भ्रमणमा रहेका मुख्यमन्त्री शेरधन राई स्वदेश फर्किसकेका र आइतबार विराटनगर आएलगत्तै मन्त्रीपरिषदको बैठक बसेको थियो ।

मन्त्री कार्कीले बाढी र डुबानका कारण अबरुद्ध बाटो खुलाउने र तीनवटै सुरक्षा अंग परिचालन गरिएको जानकारी दिए । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलाई बाढी र डुबानमा परेका मानिसको खोज तथा उद्धारमा परिचालन गरिएको पनि उनले बताए । प्रदेश १ मा १९ को मृत्यु लगातार परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा आएको बाढीपहिरोले प्रदेश १ मा आइतबाररातिसम्म मुत्यु हुनेको संख्यामा १९ पुगेको छ । बाढी पहिरोमा परि १६ जना घाइते र ८ जना वेपत्ता भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोर कुमार दाहालले जानकारी दिए ।

उनका अनुसार भोजपुरमा ५, खोटाङमा ३, झापामा २, ओलढुंगामा ४, ईलाममा १, सुनसरीमा १, उदयपुरमा २ र पाँचथरमा १ जना गरि १९ जनाको मृत्यु भएको एसएसपी दाहालले बताए । शनिबार बिहान मात्रै भोजपुरको रामप्रसादराई गाउँपालिका–५ मा एकै परिवारका तीन जनाको पहिरोमा परेर मृत्यु भएको शव फेला छ । पहिरोले बगाएको भान्छा घरले किचेर ३५ वर्षे मनकुमारी राई, छोराहरु १७ वर्षीय शिवकुमार र १५ वर्षीय शक्तिकुमारको शव फेला परेको हो ।