आदिकवि भानुभक्त आचार्य (वि. सं. १८७१ असार २९ – वि सं. १९२५ असोज ६) नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।

उनले प्रश्नोत्तर (वि.सं. १९१०), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा(वि सं. १९१९) लगायतका कृतिहरू लेखेका छन् । उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन ।

भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँको रम्घामा विक्रम सम्वत् १८७१ असार २९ गते भएको थियो । बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका यिनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए । त्यो कविता यस्तो थियो :

पहाड्को अति बेस देश् तनहुंमा श्रीकृष्ण ब्राह्मण् थिया ।
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।

भानुको योगदान
भानु राणाकालीन सङ्कटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन् । मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे ।

नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवम् समष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाएका हुन् ।

नेपाली वाङ्मयका नेपाली लेखक कविहरूका आधारस्तम्भ भानुभक्तलाई देशविदेशका अध्येता, समालोचक एवं अनुसन्धाताहरूले विभिन्न दृष्टिले हेरेका छन् । नेपाली वाङ्मयमा सागर बनेका भानुलाई आ–आफ्ना विवेक र बुद्धिले भ्याएसम्म कतिले गाग्रीले उघाएका छन् त कतिले लोहोटा, कचौरा, गिलास पञ्चपात्रो, आचमनी जेले जति पाइयो उघाउने काम भएको छ ।

भानुभक्त बहुआयामिक व्यक्तित्व भएको कुरा उनका समग्र रचनाले पुष्टि गरेको छ । संस्कृतभाषामा लेखिएको अध्यात्मरामायणमा छन्दगत विविधता भेटिए पनि अनुष्टुप्छन्दको बाहुल्य छ तर आदिकविले आफ्नो रामायणमा शिखरिणी, मन्दाक्रान्ता, वंशस्थविलं, मालिनी, स्रग्धरा जस्ता १३ वटा शास्त्रीयछन्दको अनुपम उदाहरण प्रस्तुत गरेका छन् भने शार्दूलविक्रीडित छन्दलाई सबभन्दा बढी प्रयोग गरेका छन् ।

जसले गर्दा शार्दूलविक्रीडित छन्दलाई नेपाली जनमानसले भानुभक्तको छन्दसमेत भन्ने गरेको पाइन्छ । अनुष्टुप् जस्तो सामान्य छन्दमा लेखिएको संस्कृत श्लोकको भावानुवादलाई स्रग्धरा जस्तो अत्यन्त लामो छन्दमा बदल्न सक्नु र त्यसमा पनि अनुप्रास अलङ्कारादि गुणले सजाउनु भानुभक्तको काव्यकौशल हो ।

भानुभक्तको जीवन चरित्र वि.सं. १९४८ मा प्रकाशित गरेर पहिलोपल्ट भानुभक्तलाई तनहुँ चुँदीबाट बाहिर निकाल्ने काम गरे मोतीराम भट्टले । अनि मात्र त्यस बेलाको नेपाल (काठमाडौंं उपत्यका) र वरपर रामायणका श्लोकसँग भानुभक्त गाइन थाले ।

वि.सं. १९८६ तिरबाट सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधानजस्ता व्यक्तिहरूले नेपालबाहिरका विभिन्न क्षेत्रमा भानुभक्तलाई यात्रा गराएपछि भानुभक्तले राष्ट्रिय सीमा नाघेर अन्तर्राष्ट्रिय (नेपालीभाषी सबै क्षेत्रमा) मान्यता पाए ।

बहुआयामिक व्यक्तित्व
भानुभक्तमा केवल साहित्यिक ज्ञान मात्र थिएन, ज्योतिषशास्त्रमा पनि उनको राम्रै पहुँच देखिन्छ । उनका फुटकर कवितामा लेखिएको आफ्नो जन्मकुण्डलीस्थित लग्न, ग्रहस्थान, भाव, नवांश, स्वगृहीग्रह तथा घटी पला विपलाको प्रदर्शनले यो पुष्टि गर्दछ । सामान्य लेखपढका मानिसलाई तिथि, वार, नक्षत्र आदिको जानकारी भए पनि ग्रहस्थान, नवांश, स्वगृही–परगृही,द्वादशभाव, ग्रहमैत्री जस्ता प्राविधिक पक्षको गणना ज्योतिषको राम्रो अध्ययन नगरी बताउन सकिन्न ।

हालसम्म पनि उत्कृष्ट उपचार पद्धतिका रूपमा परिचित आयुर्वेद उपचारविधि र औषधिनिर्माण प्रक्रियाका सम्बन्धमा आदिकविको रचना पढ्दा उनी कुशल वैद्य भएको हुनुपर्छ । भैषज्यरत्नावली, चरकसंहिता आदिमा वर्णित औषधि निर्माण र प्रयोगविधिमा आधारित उनका पद्यहरूले उनको वैद्यत्व प्रमाणित गर्छ ।

ग्रामीण परिवेशको सामान्य परिवारमा जन्मेर पनि संस्कृत शिक्षाको राम्रो अध्ययन गरी समग्र नेपालीभाषीलाई एकताका सूत्रमा उन्न नेपाली भाषामा रामायण लेख्नु कवि भानुभक्तको विशिष्ट योगदान हो । कारावासमा बस्दा समेत अटुटरूपमा काव्यसाधना गरी २५ हजार श्लोक भएको संस्कृतको रामायणलाई १२ सय श्लोकमा सीमित गरी शास्त्रीय छन्दमा सम्पूर्ण रामायणी कथालाई उतारी नेपाली भाषामा काव्यात्मक गति प्रदान गर्नु अत्यन्त कठिन कर्म हो ।

यसर्थ पनि उनलाई ‘आदिकवि’ को उपाधि दिइयो । हरेक असार २९ गते देश र विदेशमा रहेका नेपालीहरूले भानुजयन्ती मनाउने गरेका छन् । औपचारिक शिक्षा नलिए पनि यति धेरै ज्ञान लिएका भानुभक्तबाट आजका विद्यार्थीहरूले पनि धेरै कुरा सिक्न सक्छन् । मान्छेले अभ्यासबाट पनि धेरै कुरा सिक्न सक्दोरहेछ भन्ने ज्ञान लिन सक्छन् ।