भण्टावारी / पूर्वी पहाडी जिल्लामा केहि दिनयता निरन्तर भएको वर्षाले सप्तकोसीमा पानीको सतह बढ्दो क्रममा रहेको छ । कोशी ब्यारेज प्रहरीले दिएको जानकारी अनुसार सप्तकोशीमा पानीको बहाव अढाई लाख नाघेको छ । कोशी ब्यारेज प्रहरीका असई ईश्वरी दाहालका अनुसार शनिबार बिहान ११ बजे गरिएको मापनअनुसार सप्तकोसीमा पानीको बहाव २ लाख ६० हजार २ सय ४५ क्युसेक पुगेको छ । अहिले ५६ वटा ढोका मध्ये ३७ वटा खोलिएको प्रहरीले जनाएको छ । दुवैतर्फको नहर पनि खोलिएका छन् भने खतरा स्वरूप रातो बत्ति बालिएको छ । वर्षा निरन्तर जारी रहेकोले सप्तकोसीमा पानीको बहाव थप बढ्न सक्ने भने प्रशासनले कोसी ब्यारेज क्षेत्रका बासिन्दाहरु लाई सतर्क अवस्था रहन अपिल गरेको छ ।