धरान । उपकुलपतिको कुर्सीमा बसेलगत्तै एकपछि अर्को विवादमा तानिएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजकुमार रौनियार अन्ततः स्वतः निलम्बनमा परेका छन् । प्रतिष्ठानमा निर्माणाधीन भवनका एक ठेकेदारसंग ८ लाख रुपैया घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनको निवासबाटै बिहीबार साँझ रङ्गेहात पक्राउ गरेपछि उनी उपकुलपतिबाट स्वतः निलम्बनमा परेका हुन् ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले पक्राउ परेका रौनियार उपकुलपति पदबाट स्वतः निलम्बनमा परेको बताए । रौनियारसँगै घूसको सेटिङ मिलाउन सहयोगी उनका भतिजा डा.रामहरि रौनियार पनि पक्राउ परेका थिए । उनीहरू दुवैलाई बिहान चार बजे इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा कार्यालयमा पु¥याइएको थियो । त्यहाँबाट विराटनगर हुँदै हवाईजहाजबाट काठमाडौं पु¥याइएको अख्तियारका प्रवक्ता कोइरालाले बताए ।

अख्तियारले उपकुलपति रौनियार र उनका भतिजा रामहरिलाई बिहीबार ८ लाख रकमसहित पक्राउ परेको भन्दै विज्ञप्ति नै जारी गरेको थियो । रौनियार र उनका भतिजालाई पक्राउ गरेपछि सर्जमिन मुचुल्का गर्न अख्तियारको टोलीलाई राति १ बजेसम्म लागेको थियो । घूस मागेको मोबाइल रेडर्कसहित अख्तियार केन्द्रीय कार्यालयमा उजुरी पुगेपछि आयोगको टोलीले रौनियार र रामहरिलाई पक्राउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालयका प्रहरी उपरीक्षक (एसपी) हेम थापाको नेतृत्वमा खटिएको टोलीले रौनियारले घूस रकम लिएलगत्तै प्रतिष्ठानपरिसरकै उपकुलपति निवासबाट पक्राउ गरेको थियो ।

अख्तियारको केन्द्रीय कार्यालयका प्रवक्ता कोइरालाले भने, ‘बीपी प्रतिष्ठानको एउटा भवन निर्माण गर्ने ठेकेदारबाट ८ लाख रुपैयाँ घूस लिँदालिँदै रङ्गेहात पक्राउ परेका हुन् । दुवैलाई थप अनुसन्धानको लागि काठमाडौं कार्यालयमा पुर्याएपछि विशेष अदालतमा म्याद थप गरेर अनुसन्धान गर्नेछौं ।’

अख्तियारले प्रतिष्ठानमा निर्माणाधीनमध्ये कुन भवनको ठेकेदारबाट घूस लिएको हो, त्यो भने खुलाएको छैन । प्रतिष्ठानमा हाल करिब १२ करोड लागतको फार्मेसी भवन, दुई करोड ३० लाख लागतको इमर्जेन्सी विस्तारका लागि अर्को भवन र छात्रावासको भवन मात्र निर्माण भइरहेको छ । धेरैले छात्रावास भवन वा इमर्जेन्सी भवन निर्माण गर्ने ठेकेदारबाट कमिसन लिएपछि अख्तियारको टोलीले रौनियारलाई पक्राउ गरेको अनुमान लगाएका छन् ।

यसअघि रौनियारले प्रतिष्ठानको नेतृत्व र जिम्मेवारी पूरा नगरेको र आफूखुशी गरेको भन्दै गत फागुनमा बसेको ४२ औं सिनेट बैठकले कुलपति प्रधानमन्त्रीसमक्ष बर्खास्तीका लािग सिफारिस गरेको थियो । सिनेटको सिफारिसलगत्तै सरकारले पदबाट बर्खास्त गरे पनि रौनियारले सर्वोच्च अदालतमा रिट दायर गरेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश गरेर पुनर्बहाली भएका थिए ।

पुनर्बहाली भए पनि सर्वोच्चमा उनको मुद्दा विचाराधीन अवस्थामा रहेको छ । एमआरआई प्रकरण, एमसिएच भवन, अङ्कोलोजी र कार्डियोलोजीको भवन निर्माणमा पनि कमिसन लिएको आरोप खेप्दै आएका रौनियारले रजिष्ट्रार तुलबहाुदर श्रेष्ठ र शिक्षाध्यक्ष डा. गुरु खनालले प्रतिष्ठानको ऐनविपरीत आफूहरूको अधिकार कटौती गरेर मनोमानी गरेको आरोप लगाउँदै आएका थिए ।