धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडियोलोजी विभागका डा.अरुण गुप्ताले एसियाली युवा न्युक्लियर मेडिसिन अनुसन्धान पुरस्कार प्राप्त गरेका छन् ।
उनलाई न्युक्लियर मेडिसिन सोसाइटी जापानले सन् २०१९ को न्युक्लियर मेडिसिन अवार्ड प्रदान गरेको हो ।

प्रतिष्ठानबाट मेडिकल इमेजिनमा स्नातक र अल इण्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स (एम्स) दिल्लीबाट न्युक्लियर मेडिसिनमा स्नातकोत्तर गरेका उदयपुरको बेलटार घर भएका डा.गुप्ताले दक्षिण कोरियाको सोल नेशनल युनिभर्सिटीबाट गतवर्ष न्युक्लियर मेडिसिनमा विद्यावारिधि गरेका हुन् ।

मानव स्वास्थ्यको हितमा न्युक्लियर मेडिसिनको अनुसन्धान र सही प्रयोगका लागि दिएको योगदानको उच्च सम्मान गर्र्दै डा.गुप्तालाई न्युक्लियर मेडिसिन जापानी सोसाइटीले पुरस्कार प्रदान गरेको प्रमाण–पत्रमा उल्लेख गरेको छ ।

पुरस्कृत डा.गुप्ताले ब्लाष्टसँग खुशी साट्दै भने, ‘न्युक्लियर मेडिसिनको अनुसन्धानमा नेपाली युवाले गरेको योगदानको सम्मानको रूपमा लिएको छु । मैले अरु धेरै गर्न बाँकी छ । पुरस्कारले मलाई नेपालमा न्युक्लियर मेडिसिनको बारेमा थप केही गर्ने हौसला प्रदान गरेको छ ।’

उनले पाएको पुरस्कारको प्रमाण–पत्रमा न्युक्लियर सोसाइटी जापानको एसियन योङ इन्भेस्टिगेटर अवार्ड कमिटीका अध्यक्ष डा.तेरुहितो मोचिजुकीले बधाई र प्रगतिको कामना गर्दै नेपालका ३४ वर्षीय युवा डा.अरुण गुप्तालाई न्युक्लियर मेडिसिन अनुसन्धानमा एसियाली युवा पुरस्कार प्रदान गरेको जनाएका छन् । डा.गुप्ता न्युक्लियर मेडिसिनमा विद्यावारिधि गर्ने नेपालका एकमात्र युवा हुन् ।