बिर्तामोड / एकपछि अर्काे नीति ल्याउँदै फिर्ता लिने सरकारको गतिविधिको सर्वत्र आलोचना हुन थालेको छ । सरकारले आफ्नो अडानमा टिक्न नसकेको आरोप लागेकै समयमा भारतीय कृषि उत्पादनको परीक्षण नगरी आयात गर्न रोक लगाउने नीति फिर्ता लिए पछि सरकारको आलोचना थप चुलिएको हो ।
सरकारले भारतबाट आयात हुने तरकारी र फलफुलमा बिषादी परीक्षण नगर्ने निर्णय गरेपनि नेपाली कृषि उत्पादन भारत निर्यात हुँदा बिषादी परीक्षण गर्ने काम रोकिएको छैन । बिगत ६ बर्षदेखि नेपाली कृषि उत्पादनको भारतमा परीक्षण गरेर मात्र निर्यात हुँदै आएको छ ।
कोलकाता र लखनउमा रहेको खाद्य क्वारेन्टाइनमा परीक्षण नगरी नेपालका कृषि उत्पादन भारत निर्यात गर्न नपाइएको गुनासो ब्यवसायीले गरेका छन् । परीक्षणको झन्झटका कारण चाँडै सड्ने कृषि उत्पादन नेपालबाट निर्यात हुने गरेको छैन । खासगरी नेपालबाट अलैंची, अदुवा, अम्लिसो, चिया र हिमाली जडिबुटीहरु भारत निर्यात हुँदै आएका छन् ।
सरकारले एक साता अघि नाकामा बिषादी परीक्षण गरेर मात्र भारतीय फलफुल तथा तरकारी नेपाल भित्र्याउन पाइने नीति लागु गरेको थियो । सरकारको यस नीतिको सर्वत्र प्रशंसा भएपनि त्यो लामो समयसम्म टिक्न सकेन । भारतबाट तरकारी र फलफुल ल्याएका ट्रक परीक्षणका क्रममा सिमानामा रोकिएपछि भारतीय दुतावासको दवावमा सरकारले ‘तत्काल परीक्षण नगर्ने’ निर्णय गरेको हो ।

६ महिनाका लागि नाकामा विषादी परीक्षण नगर्ने’ निर्णय
भारतीय राजदुत मञ्जिवसिंह पुरीले पत्र पठाएर विरोध गरेपछि बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले तयारी नपुगेको भन्दै ‘६ महिनाका लागि नाकामा विषादी परीक्षण नगर्ने’ निर्णय गरेको छ । सरकारले बिषादी परीक्षण गर्ने निर्णय फिर्ता लिए पछि आयात भने सहज भएको छ । तर, नेपाली निर्यातकर्ताले सिमामा थप सास्ती ब्यहोर्दै आएको बताएका छन् । नेपाली उपभोक्ताले परीक्षण नगरी नेपाल भित्र्याइएको कृषि उत्पादन उपयोग नगर्न आह्वान पनि गर्दै आएका छन् । उनीहरुले आयात निर्यातमा भारतले गर्दै आएको असमान ब्यवहारको अन्त्य गर्नुपर्ने माग पनि गरेका छन् ।

भारतले भने परीक्षण नगरिकन निर्यात गर्न दिंदैन 

‘भारतको पश्चिम बंगालस्थित कलकत्तामा बिषादी परीक्षण प्रयोगशाला छ, सिमामा ट्रक रोकेर १५ दिनसम्म पर्खिनुपर्छ, इलामका अदुवा ब्यवसायी मात्रिका घिमिरेले भने–‘छोटो समयमा सड्ने कृषि उत्पादन परीक्षणका नाममा निर्यात गर्न पाइएको छैन ।’ उनले सरकारले नेपाली उपभोक्ताको स्वास्थ्यमाथी खेलवाड गरेको आरोप लगाए । एक पटक परीक्षण गर्दा २० हजार रुपैयाँ खर्च हुने उनले बताए ।
‘नेपाली उत्पादनमा बिषादीको मात्रा न्युन हुन्छ, तर पनि भारत सरकारले यो वा त्यो बहाना देखाउँदै परीक्षण नगरिकन निर्यात गर्न दिंदैन, उनले प्रश्न गर्दै भने भारतले ‘नेपालकै लागि’ भनेर उत्पादन गरेका बिषादी युक्त तरकारी हामीले खानुपर्ने, स्वास्थ्य बीमा ल्याएको छ भनेर नेपालीलाई बिषादीयुक्त तरकारी खान बाध्य पार्ने सरकारको नीति हो ?’ यही मौका छोपेर सरकारले कृषिमा आत्मनिर्भर हुने कार्यक्रम ल्याउनु पर्ने धारणा उनले राखे ।

सरकारले निर्णय तत्काल संसोधन गरोस
नेपाल अलैंची ब्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीले नेपालको अलैची भारतको बिहार राज्यस्थित लखनउमा लगेर परीक्षण गरे पश्चात मात्र निर्यात गर्दै आएको बताए । यति मात्र नभएर बिभिन्न बहानामा भारतले नेपाली उत्पादनलाई निरुत्साहित गर्दै आएको आरोप कार्कीको छ । ‘केही निश्चित बिचौलियाको इशारामा नेपालको सरकार सञ्चालन भएको देखिन्छ, कार्कीले भने–‘सरकारले गरेको यो निर्णयको राय जनताबाट लिएर तत्काल संसोधन गरोस ।’ सरकारले भारतीय कृषि उत्पादनमा बिषादी परीक्षण गर्ने काम कडा बनाए अलैंची ब्यवसायी महासंघले डटेर समर्थन गर्ने कार्कीले बताए ।
भारतीय कृषि उत्पादनले आफुखुशी मुल्य तय गरेर पनि नेपाली किसान र ब्यवसायीमाथि अन्याय गर्दै आएको आरोप कार्कीले लगाए । ‘५ बर्ष अघि सुकमेल भन्दा महङगो रहेको अलैचीको मुल्य अहिले ५ गुणा सस्तो छ, जबकी सुकमेल भारतमा उत्पादन हुन्छ भने, बिश्व बजारमा अलैचीको ठुलो हिस्सा नेपाली उत्पादनले लिएको छ, नेपाली उत्पादन भएकै कारणले अहिले भारतले अलैचीमाथि अन्यायपुर्ण मुल्य निर्धारण गरेको छ’ कार्कीले भने । दुबै मसलाजन्य बस्तु भएपनि अलैचीको मुल्य ६ सय र सुकमेलको मुल्य ३ हजार २ सय रुपैयाँ प्रतिकेजी रहेको कार्कीले बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले आयातमा पुर्ण रुपमा रोक लगाउन नसकिने बताए । सरकारले बिषादीयुक्त कृषि उत्पादन खुलेआम रुपमा ल्याउन दिएको भन्न नहुने सुवेदीको भनाई छ । छिमेकी भएका कारण आयात निर्यात रोकिहाल्न नमिल्ने उनले बताए । सिमा नाकामा बिषादी परीक्षण प्रयोगशाला नभएका कारण पनि सरकारको निर्णय हाललाई स्थागित गर्नुपरेको उनको भनाई छ ।

भारतका प्रयाेगशाला ६ सय किमी टाडा, नेपालका नजिकै
सुवेदीले प्रयोगशाला टाढा भएका कारण हाललाई परीक्षण गरेरमात्र कृषि उत्पादन नेपाल ल्याउने सरकारको नीति स्थगित भएको बताए पनि भारतको तुलनामा नेपालको सिमा नाका नजिकै प्रयोगशाला रहेको पाइएको छ । नेपालको बिर्तामोड, सर्लाही, काठमाण्डौ, पोखरा र बुटवलमा बिषादी परीक्षण प्रयोगशाला छ । भारतको कोलकाता र लखनउमा भएको प्रयोगशाला भुगोलका हिसाबले पनि ब्यवहारिक नरहेको ब्यवसायीको आरोप छ । नेपाली बस्तुको परीक्षण ६ सय किलोमिटर टाढा लगेर गराउनुपर्ने, भारतीय उत्पादनका लागि २० किलोमिटर पनि जान नसक्ने ? एकजना तरकारी ब्यवसायीले भने । नेपाल सरकारले विषादी परीक्षणमा कडाइ गरेपछि नाकामा फलफूल र तरकारी लिएर आउने ट्रकहरु एक सातासम्म सिमामा रोकिएका थिए ।