लिओनिङ/ चीनमा आएको आँधीले बिहीबारसम्म झण्डै दश हजार जना प्रभावित भएका छन्न् ।

देशको उत्तरी लिओनिङ प्रान्तमा बुधबार आएको आँधीका कारण नौ हजार नौ सय जना प्रभावित भएको अधिकारीले जानकारी दिएका हुन् । आँधीमा परी कम्तीमा ६ जनाको मृत्यु भएको र अरू १ सय ९० भन्दा बढी घाइते भएको समाचारमा जनाइएको छ ।

स्थानीय कैयुना सहरमा प्रतिसेकेण्ड २३ मिटरको गतिमा स्थानीय समयअनुसार बुधबार बेलुका ५ः१५ मा आँधी आएको थियो । प्रभावित क्षेत्रमा प्रहरी, अग्नि नियन्त्रक, स्वास्थ्यकर्र्मीलगायत विभिन्न क्षेत्रका गरी आठ सयभन्दा बढी उद्धारकर्मी खटिएका छन् ।
घटनास्थलमा खोजी तथा उद्धारकार्य अहिले पनि जारी रहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् । उद्धारकर्र्मी विभिन्न दश ओटा समूह बनाएर खटिएको र उनीहरूले घटनास्थलमा मान्छेको खोजी तथा उद्धार गर्नुका साथै घाइतेको उपचार गर्ने, विद्युत् लाइन जोड्ने, सडक खुलाउनेलगायतका काम गरिरहेका छन् ।

धेरै ठाउँमा अझै पनि सडक, विद्युत्लगायतका सेवा अवरुद्ध रहेको प्रभावित क्षेत्रमा खटिएकाले जनाएका छन् । आँधीका कारण औद्योगिक क्षेत्रमा रहेका एक दर्जनभन्दा बढी कारखाना भवन क्षतिग्रस्त भएका छन् । प्रकोपमा परी अरू ४३ सय घर भत्किएका छन् भने एक सय हेक्टर क्षेत्रफलमा रहेको बालीनाली पनि नष्ट भएको अधिकारीले जनाएका छन् ।

भत्किएका घरबाट झण्डै २१० जनालाई उद्धार गरिएको छ भने प्रभावित क्षेत्रबाट १६ सय जनालाई सुरक्षित स्थानमा लगिएको छ । उद्धार गरिएकामध्ये ६३ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय सरकारले जनाएको छ ।