मुम्बई / भारतको आर्थिक राजधानी मुम्बईमा अविरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

स्थानीय समयानुसार मङ्गलबार बिहान करिब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले एएफपी समाचार समितिलाई बताएका छन् ।

करिब दुई करोड बासिन्दा रहेको तटीय शहर मुम्बईमा भारी वर्षाका कारण दोस्रो दिन पनि जनजीवन अस्तव्यस्त रहेको छ ।

भारी वर्षाका कारण सरकारी विदाको घोषणा गरिएको र स्थानीय बासिन्दालाई घर बाहिर नजान र घरमा नै बस्न सल्लाह दिइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

विश्वविद्यालय र विद्यालयहरू बन्द गरिएको र मुम्बई विमानस्थलबाट उडान भर्ने करिब एक सय उडान रद्द गरिएको छ । मौसमी विवरण अभिलेख राख्ने एक निजी निकायले मुम्बईमा १३ इञ्चसम्म वर्षा भएको जानकारी दिएको छ ।

अविरल वर्षापछि मुम्बई शहरको मिथि नदीको सतह बढेकाले त्यस इलाका आसपासमा रहेका करिब एक हजार व्यक्तिलाई अन्यत्रै सुरक्षित इलाकामा लगिएको छ ।