झापा । झापा (ब्लाष्ट) अस्ट्रेलियाको मेलवोर्नमा नेपाली चलचित्र ‘मन त हो’ को च्यारिटी शो भएको छ । मेलवोर्नस्थित चर्च अफ साइनटोलोजी सिनेमा हलमा आइतवार असार १५ को अवसर पारेर चलचित्रको च्यारिटी शो गरिएको चलचित्रका निर्देशक सुवास लामिछानेले समामाजिक सञ्जाल मार्फत जानकारी दिए ।

सामाजिक संस्था विरुवा नेपालमा रहँदै आएका बालबालिकाको सहयोगार्थ सो चलचित्रको च्यारिटी शो गरिएको उनले बताए । ‘विरुवा नेपालले हाल २० जना बालबालिकाहरुलाई अध्यापन गराउँदै छ’ विरुवा नेपालका संस्थापक तथा चलचित्र लेखक गौतम लामिछानेले भने ‘उनीहरुलाई पठनपाठनसहित गाँस, वास र कपासको समेत ब्यवस्था गरेको छ ।’ यो संख्या अझै बढ्दै जाने उनले बताए ।
मेलवोर्नमा छुट्टै सामाजिक पहिचान बनाउँन सफल विरुवाका संस्थापक लामिछानेको लेखनमा तयार भएकोे चलचित्र नाम जस्तै दर्शकको मन छुनेखालको कथा रहेका दर्शकहरुको भनाई थियो । चलचित्रको गीतसंगीतले पनि उत्तिकै दर्शककको मन छुने च्यारिटी शो पछि दर्शकहरुले बताएको चलचित्रका निर्देशक लामिछानेले बताए ।

चलचित्रमा देशविदेशमा रहेर पनि मातृभूमिको लागि केही गर्नुपर्ने भावना, अन्तरजातीय विवाह, छुवाछुत प्रथाको अन्त्य, कुलत र कुसंस्कारको अन्त्य, युवा विदेश पलायनले देशले भोग्नु परेको समस्या, हिमाल, पहाड, तपाईको एकता नै देश विकासको आधार जस्ता कुराहरु समेटिएको चलचित्रका निर्देशक लामिछानेले बताए । च्यारिटी शो मा अस्ट्रेलियाका विभिन्न सामाजिक संघ÷संस्थाका प्रतिनिधिसहित एकसय ५० बढि नेपालीहरुको उपस्थिति रहेको बताइएको छ ।

च्यारिटी शो पछि आयोजित कार्यक्रममा विरुवा नेपालका लामिछाने र पद्या पाण्डेले दर्शकहरुलाई मायाको चिनो समेत प्रदान गरेका थिए । कार्यक्रममा समाजसेवी रञ्जन वैद्यले गौतमको सामाजिक कार्यप्रतिको प्रशंसा गर्दै यस कार्यलाई सक्दो सहयोग गर्ने बताएका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी निरु त्रिपाठीले गरेकी थिइन् ।