विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले लागुऔषध तथा सबै प्रकारका दुव्र्यसनी रोक्न प्रभावकारी कदम चाल्ने बताएका छन् । रिकोभरी नेपालद्वारा लागुऔषध तथा दुव्र्यसनीविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा यहाँ आज आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले समाजमा देखा परेका विसङ्गति र समस्यालाई पहिचान गरी उचित कदम चाल्नुपर्ने कुरामा जोड दिए ।

मुख्यमन्त्री राईले असल समाज निर्माण गर्न असल सोच, नीति र योजनाका साथ अघि बढ्ने विश्वास व्यक्त गर्दै समाजमा रहेका यस्ता समस्यालाई समाधान गरेर स्वस्थ र सम्पन्न समाज निर्माण गर्नुपर्ने कुरामा जोड दिए ।
उनले लागुऔषध तथा दुव्र्यसनीविरुद्धको कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले ‘म अघि बढछु’ नारा ल्याएको र यही नाराका माध्यमबाट सगरमाथा टिन्स क्लबद्वारा दुई लाख विद्यार्थीमार्फत सचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले समाजबाट विकृति र विसङ्गतिलाई हटाउन सामूहिकरुपमा लाग्नुपर्ने आवश्यकता औँल्याए । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले लागुऔषध र दुव्र्यसनी रोक्न चुनौती बन्दै गएकाले यसलाई निर्मूल पार्न सबैको सहयोगको आवश्यकता औँल्याए ।

रिकोभरी नेपालका केन्द्रीय उपाध्यक्ष दिपक चापागाईंले ठूलो सङ्ख्यामा देखिएका लागुऔषध प्रयोगकर्तालाई समाजमा पुनःस्थापना गरी रुपान्तरण गर्न रोजगार दिनुपर्नेमा जोड दिए । कार्यक्रममा रिकोभरी नेपालका सञ्जीव चापागाई र प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले लागुऔषध प्रयोगकर्ताको अवस्थाका बारेमा विस्तृत जानकारी गराएका थिए ।