भद्रपुर/ धारिलो हतियार प्रहार गरी लाखौं रकम लुटपाट गर्ने दुईलाई कारागार चलान गरिएको छ ।

मेचीनगर नगरपालिका–१० का सुरज श्रेष्ठ र नवीन भन्ने नवराज गिरीलाई कारागार चलान गरिएको हो । उनीहरूले गत जेठ ९ गते मेचीनगर नगरपालिकामा–१० स्थित धुलाबारीका आरती चौहान (बुढाथोकी) र उनकी ८ वर्षीया छोरी अर्पणालाई सुतिरहेको अवस्थामा लाखौं रकम लुटेको अभियोगमा पक्राउ परेका थिए ।

प्रहरीमा ज्यान मार्ने उद्योग र डाँकामा जाहेरी दिएका थिए । प्रहरी कार्यालय झापाले आरोपितलाई सरकारी वकिल कार्यालय झापामार्फत अभद्र व्यवहार (सार्वजनिक हित, शान्ति सुरक्षा तथा नैतिकताविरुद्धको कसुर) मा प्रशासन कार्यालय झापामा मुद्दा दर्ता गराएको र झापा जिल्ला अदालतमा ज्यान मार्ने उद्योग तथा डाँकासम्बन्धी मुद्दा दर्ता गराएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

अभद्र व्यवहार मुद्दामा प्रशासन कार्यालय झापाले असार २ गते आरोपीतलाई १०– १० हजार धरौटी रकम मागेका थिए । धरौटी रकम बुझाउन नसक्दा दुवैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको उनले जनाए ।