धनकुटा/ नेपाल यातयात स्वतन्त्र मजदुर सङ्गठन जिल्ला कार्य समिति धनकुटाले हिले क्याम्पसकी बिबिएस प्रथम वर्षको परीक्षामा जिल्ला प्रथम हुन सफल छात्रा पशुपति तामाङलाई नगदसहित सोमबार सम्मान गरेको छ ।

सङ्गठनको ४० औं स्थापना दिवसको अवसरमा हिलेमा आयोजित कार्यक्रममा छात्रा तामाङलाई नगद २ हजार ५ सयसहित सम्मान–पत्रले सम्मानित गरियो । सङ्गठनका जिल्ला अध्यक्ष कमल थिङ तामाङको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा हिले माध्यामिक विद्यालयका कक्षा ३ देखि ८ सम्मका ८ जना विद्यार्थीहरूलाई पनि प्रति विद्यार्थी नगद १ हजार १ सयसहित खादा ओढाएर सङ्गठनले सम्मान गरेको छ ।

त्यसैगरी ८०११ गाडी नम्बरका सहचालक सुमन दर्जीको करिब एक महिनाअघि असामयिक निधन भएकोले उनका परिवारलाई १० हजार नगद आर्थिक सहयोग गरिएको छ ।

सहयोग रकम मृतकका आफन्तलाई कार्यक्रममा प्रमुख अतिथि नेपाल यातयात स्वतन्त्र मजदुर सङ्गठनका प्रदेश नम्बर १ सदस्य मोहनकुमार श्रेष्ठले गरेका थिए । सङ्गठनले स्थापना कालदेखि हालसम्म गरेका काम तथा गतिविधिको कार्यपत्र अध्यक्ष कमल थिङ तामाङले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति धनकुटाका सदस्य ओङ्दा थिङ तामाङले राज्यले अहिले श्रमिकहरूका लागि विभिन्न सेवासुबिधाको व्यवस्था गरेर गर्भदेखि मृत्युसम्मका लागि सामाजिक सुरक्षा व्यवस्था गरेको बताए । उनले दुईतिहाईको बहुमतको नेकपाको सरकारले नै यस्तो व्यवस्था श्रमिकहरूको जीवन सुनौलो बनाई दिएको दाबी गरे ।

त्यस्तैगरी धनकुटा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष निरन तामाङले मजदुरहरू देशको महŒवपूर्ण अङ्ग भएकाले उनीहरूले संविधानमा व्यवस्था भएको सेवासुबिधा पाउनुपर्नेमा जोड दिए । उनले समान काममा समान ज्याला दिने व्यवस्था भइसकेकोले अतिरिक्त श्रमशोषण गर्ने दिन गएको बताए ।

राजनैतिक दलहरूको तर्फबाट नेकपा धनकुटाका जिल्ला सदस्य नारायणकाजी तामाङले श्रमिकहरूको अन्याय अत्यचारको विरुद्धमा श्रम ऐन २०७४ आइसकेकाले श्रम ऐनलाई पूर्ण कार्यन्वयनमा ल्याउनका लागि श्रमिकहरूमा एकता आवश्यक रहेको बताए । त्यस्तै सङ्गठनका निवर्तमान अध्यक्ष सिंह तितुङ तामाङले सङ्गठनले मजदुरको हकहितको लागि काम गर्दै समाजमा सेवामूलक काम तथा सहयोगसमेत गर्दै आएको बताए ।