दमक/ २०२२ सालपछि पूर्व पश्चिम राजमार्गमा बनेका कयौँ पुलहरू यतिबेला जीर्ण अवस्थामा छन् । वर्षेनि ती पुलको मर्मत सम्भारमै करोडौँ रकम सकिने गरेको छ । यति नै बेला नेपालमै पहिलो पटक काँकरभिट्टा स्थित मेची नदी मा ६ लेनको पुल निर्माणको काम धमाधम बनिरहेको छ ।

नेपाल भारत जोड्ने पूर्वी नाका काँकडभिट्टामा नेपालको सीमाक्षेत्रमा अहिले सम्मकै सबैभन्दा ठूलो ६ लेनको पक्की पुल निर्माणको काम धमाधम अघि बढिरहेको हो । एडीबीको आर्थिक सहयोगमा भारत सरकारले निर्माण गरिदिने पुलको नेपाल भित्रको क्षेत्रमा जग्गा खाली गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

दुई देशको सीमा क्षत्रेमा पुरानो पुलले चाप थेग्न नसक्ने भएपछि नयाँ फराकिलो पुल निर्माण गरिएको हो । नेपालको पूर्वी नाका काँकडभिट्टादेखि सीमाक्षेत्र भएर बग्ने मेची नदीमाथि २४ दशमलव २ मिटर चौडाइको फराकिलो एशियन सडकको पुल निर्माणको काम धमाधम भइरहेको छ । एशियाली विकास बैंङ्क (एडीबी) मार्फत् भारत सरकारले २०१८ को फेबु्रअरीदेखि पुल निर्माणको काम प्रारम्भ गरेको थियो ।

यो क्षेत्रको रेखदेखको जिम्मेवारी पाएको सडक डिभिजन कार्यालय दमकले निर्माणाधीन मितेरी (मेची) पुल र एशियन हाइवेको एप्रोच सडकको ट्«याकमा पर्ने मेची नगरपालिकास्थित काँकडभिट्टा मेचीडाँडाका बासिन्दालाई क्षतिपूर्ति रकम वितरण गर्ने काम अन्तिम चरणमा पुगेको छ । डिभिजन कार्यालय दमकका प्रमुख डि.इ. श्यामकुमार यादवका अनुसार सडक डिभिजन कार्यालयले मेचीनगरपालिकालाई आगामी १५ दिनभित्र सो क्षेत्र खाली गराउन पत्राचार गरिसकेको छ ।

यसअघि सडक कार्यालयले चार जनाको घरजग्गाको मुआब्जाबापत १ करोड १७ लाख रुपैयाँ वितरण गरिसकेको छ । अब वितरण गरिने मुआब्जामा भने जग्गा धनी नरहेका र उनीहरूलाई घरको मात्र क्षतिपूर्ति दिनुपर्ने जनाइएको छ । सडक डिभिजन कार्यालय दमकका अनुसार यहाँ ४४ जनाका ४६ घर निर्माण गरिएका छन् । यसको क्षतिपूर्ति बापत २ करोड बीस लाख क्षतिपूर्ति बितरण गरिने भएको जनाइएको छ ।

यस क्रममा सडक सीमाभित्र परेका घरटहरा धनीलाई क्षतिपूर्ति रकम लिनका लागि सिफारिससहित पठाउन मेची नपालाई पत्राचार गरेको हो । यही असार २ गते सडकले नगरपालिकालाई पत्र पठाएको थियो । सडकको सीमाभित्र परेका घरटहराको क्षतिपूर्ति रकम सरकारले गठन गरेको क्षतिपूर्ति निर्धारण समितिको निर्णय भए बमोजिम हुने बताइएको छ । सडक डिभिजन कार्यालय दमकका प्रमुख डि.इ.यादवका अनुसार घरटहरा छिटो नहटाए पुल निर्माण रोकिने भएपछि सरकारले क्षतिपूर्ति रकम बाँडेर सडक क्षेत्र खाली गराउन लागेको हो ।

भारत र नेपालको पूर्वी सीमामाको मेची खोलामा नेपालमा अहिले सम्मकै सबैभन्दा फराकिलो पुल भएको जनाइएको छ । दक्षिण एशियाली मुलुकसँग आर्थिक समृद्धिका लागि जोडिने एशियन सडक अन्तर्गतको पुल निर्माण हुनुलाई प्राथमिकताका साथ लिइएको छ ।

पुल निर्माणको काम ३६ महिनामा सक्नुपर्ने पुलको ३० प्रतिशतभन्दा धेरै कार्य सम्पन्न भएको निर्माण कम्पनी दिनेश चन्द्र आर अग्रवाल कन्स्ट्रक्सन प्रालिका कन्स्ट्रक्सन म्यानेजर चिरन्तन सरदारले बताए । कुल १ अर्ब ३ करोड ७८ लाख भारतीय रुपयाँमा निर्माण हुने ७ सय ९० मिटरको पुलसहित डेढ किलोमिटर एप्रोच सडक विस्तार गरिने भएको छ । मेचीडाँडा बस्तीका बासिन्दाले विकासका लागि आफूहरू सकारात्मक रहेको बताएका छन् ।

एशियन सडक जोड्ने पुल निर्माणले विकाससँगै एशियाली मुलुकबीचको सम्बन्ध प्रगाढ हुनुका साथै व्यवासायिक सम्बन्धसमेत बढ्ने विश्वास गरिएको छ । फराकिलो पुल निर्माणले भन्सारको राजस्व वृद्धिसँगै व्यापार व्यवसायसमेत बढ्ने सीमाक्षेत्रका व्यवसायीको भनाइ छ । मेची भन्सार कार्यालयसमेत रहेको काँकडभिट्टा नाकामा पुल निर्माणले थप उत्साह थपेको छ भने अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र बन्ने आशामा स्थानीय बासिन्दा उत्साहित भएका छन् ।