ताप्लेजुङ/ जिल्ला अस्पताल ताप्लेजुङको मुहार फेरिँदै छ । नेपाल मेडिकल सपोर्ट जर्मनीको सहयोगमा ताप्लेजुङ विकास मञ्चले अस्पतालको भौतिक संरचना सुधार गरिरहेको छ ।

हालसम्म अस्पतालका अधिकांश भौतिक संरचनालाई सुधार गरिसकिएको मञ्चले जनाएको छ । मञ्चका अध्यक्ष सन्तोष प्रसाईंका अनुसार अहिलेसम्म ५ वटा भवनको जस्तापाता फेरिएको छ । यस्तै ८ वटा चर्पी, ५ वटा बाथरुमको समेत मर्मत सकिएको छ । पहिलो चरणमा जस्तापाता फेर्ने, चर्पी र बाथरुमको मर्मत गर्ने, हातधुने बेसिन राख्ने, नाली निर्माण र टायल बिच्छ्याउने काम सकिएको हो ।

‘हामीले ५ वटा भवनमा जस्तापाता, १२ हजार फिट टायल, ३ सय मिटर नाली निर्माण, बाथरुम र चर्पीको मर्मत गरेका छौँ’ उनले भने, ‘हाम्रो योजनाअनुसार अब थ्री–फेज वायरिङ, झ्यालढोका मर्मत र रङरोगनको काम जारी छ ।’ अस्पतालको अधिकांश भागमा पहिले पानी चुहिन्थ्यो । यहाँ अहिले निलो रङका जस्तापाता लगाइएको छ । यसैबीच ८ हजार लिटरको ड्रम राखेर खानेपानी व्यवस्थापनको कामसमेत भइरहेको छ ।

ड्रममा जम्मा गरेको पानीलाई अस्पतालका विभिन्न ३ स्थानमा फिल्टर राखी खानेपानीको व्यवस्था गर्ने योजना रहेको छ । यसको कामसमेत अन्तिम चरणमा पुगेको छ । अस्पतालमा थ्रीफेज लाइनको विजुली पु¥याउने र भएकोलाई पूरै परिवर्तन गर्ने उल्लेख भएअनुसार संस्थाले यसका लागि मात्र ६ लाख रुपैयाँ छुट्याएको छ । पहिलो चरणमा १ करोड २ लाख रुपैयाँको सम्झौता भएअनुसार काम भइरहेको मञ्चका अध्यक्ष प्रसाईंले बताए ।

पहिलो चरणमा यी काम सम्पन्न भएपछि उपचारमा प्रयोग हुने उपकरण खरिद गर्ने बताइएको छ । यसका लागि अस्पतालका डाक्टरहरूसँग समेत कस्ता–कस्ताखालका उपकरणको आवश्यकता पर्दछ, त्यसको लागत कति हुन्छ ? लगायतका विषयमा छलफल भैरहेको मञ्चले जनाएको छ । दातृसंस्थाले पहिलो चरणको कामको मूल्याङ्कन गरेर दोस्रो सम्झौता गर्न लागेको हो । यद्यपि दातृसंस्थाले दोस्रो चरणमा समेत सहयोग गर्ने मौखिक सहमति भइसकेको छ ।

यस्तै जिल्लाका अन्य ग्रामीणभेगका स्वास्थ्य चौकीहरूको समेत सुधारका लागि दातृसंस्थासँग पहल भइरहेको मञ्चका अध्यक्ष प्रसाईंले जानकारी दिए । पहिलो चरणको काम सक्ने सम्झौता असोज ६ गतेसम्म भए पनि सम्पूर्ण काम भदौभित्रै गरिसक्ने उनले बताए ।