विराटनगर /  चन्दा उठाउन जाँने क्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको जनपरिषद् प्रमुखसहित तीन जनालाई प्रहरीले हतियारसहित १४ राउण्ड गोली बरामद गरेको छ । आइतबार साँझ पक्राउ गरि आज विराटनगरमा सार्वजनिक गरेको छ ।
व्यापारी तथा वितिय संघसंस्था र सामुदायिक वनहरूमा चन्दा वापतको रकम लिन जाने क्रममा मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट प्रहरीले हिजो उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ घर भएका ४० वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ घर भएका ३४ वर्षीय सुदीप भनिने कंश धिमाल र उर्लाबारी नगरपालिका २ सालबारीका ४८ वर्षीय केन्द्रलाल धिमाललाई प्रहरीले पक्राउ गरेको हो । राई र धिमाललाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो भने उर्लाबारीका धिमाललाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । पक्राउ परेका मध्ये राई ‘विप्लव’ समूहका मोरङ जिल्ला जनपरिषद् प्रमुख र धिमाल कार्यकर्ता हुन् । पक्राउ परेकाहरुबाट दुईवटा पेस्तोल, चारवटा म्यागजिन र १४ राउण्ड गोली बरामद भएको मोरङ प्रहरीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रमुख एसपी अधिकारीले बताए ।
यसरी पक्राउ परे
उनीहरू माग गरिएको चन्दा असुल्न को १७ प ४५८६ नम्बरको मोटरसाइकलमा गइरहेका बेला इलाका प्रहरी कार्यालय बेलबारीबाट चेकजाँचमा खटिएको प्रहरी निरीक्षक रामकुमार राईको नेतृत्वको टोलीले पक्राउ गरेको हो । ‘प्रहरीले चेकजाँचको क्रममा धिमालले चलाएको सवारी रोकियो,’ मोरङ प्रहरीका प्रवक्ता डिएपी घनश्याम श्रेष्ठले भने, ‘उनीहरूले आफ्नो परिचय दिए । उनीहरूले गर्ने गतिविधी बारे प्रहरीलाई जानकारी दिएको थियो । नाम र उनीहरूको हुलियाले गर्दा पक्राउ परे ।’ विशेष गरि पक्राउ परेको समूहले वितिय कारोबार गर्ने सहकारी, सामुदायिक वनलाई लक्षित गरि चन्दा माग्ने गरेको गरेको प्रहरीले प्रराम्भिक चरणको अनुसन्धानबाट देखिएको छ । प्रहरीले राई र धिमाललाई पक्राउ गरेपछि उनीहरूले हतियार राखेको ठाउँ खुलाएका थिए । मोरङ प्रहरीको विशेष टोलीले कंशको घरबाट हतियार र गोली बरामद गरेको थियो । एसपी अधिकारीले भने, ‘तत्काल कंशको घर चेकजाँच गर्दा रातो झोलामा राखिरहेको अवस्थामा दुई थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने ४ थान म्याग्जिन र १४ राउण्ड गोली बरामद भयो ।’ थप अनुसन्धानको क्रममा उर्लाबारीस्थित सालबारीमा केही हतियार राखेको खुलेको अधिकारीले बताए ।
कंशलाल डाँडा मुद्धामा कैद भुक्तान व्यक्ति हुन
‘तत्काल प्रहरी परिचालन गरेर सोमबार केन्द्रलाललाई नियन्त्रणमा लिई उनको घरमा खोजी गर्दा ३ नाल भरुवा बन्दुक त्यसमा प्रयोग हुने बारुद, छर्रा, नटबोल्ट, केप, वासर र पुल्थ्रोमा प्रयोग भएको कपडा बरामद भयो,’ उनले भने, ‘तीन थान बन्दुकमध्ये एउटा लोड भएको अवस्थामा बरामद भएको छ ।’
प्रहरीका अनुसार पक्राउ परेका मध्ये कंश २०६६ सालमा मोरङको उर्लाबारी मंगलबारेस्थित थापा सुनचाँदी पसल र झापाको दमकस्थित लक्ष्मी बैंक लुटपाट घटनामा चलाइएको डाँका मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् । सजाय भुक्तान गरि छुटेपछि वैदेशिक रोजगारमा गएका थिए । फर्किएपछि ठेक्का पटामा संलग्न भएका प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार विप्लपका कार्यकर्ताहरू कशंको घरमा आउने र बसोबास गर्ने गरेका थिए । कंशको कानेपोखरीस्थित दहिधाप खोला छेउमा एकान्त ठाउँमा घरमा भएको कारणले गर्दा पनि विप्लप समूहमा लागेका कार्यताहरू आउजाउ बाक्को रूपमा गर्ने गरेको प्रहरीले जनाएको छ ।
‘हतियार देखाएर डर त्रास उत्पन्न गराउँदै ‘विप्लव’ समूहका व्यक्तिले विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट चन्दा संकलन गर्न खोजिरहेको भन्ने विशेष सूचना आएको थियो,’ एसपी विश्व अधिकारीले भने, ‘खोजतलास गर्न खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।’
प्रारम्भिक अनुसन्धानबाट तीनै जना वन्यजन्तुको चोरी सिकारीमा समेत संलग्न व्यक्ति भएको पनि खुलेको छ । पक्राउ परेकाहरु विरुद्ध मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गतको हातहतियार तथा खरखजना कसूरमा मुद्दा चलाउन सोमबार म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको एसपी अधिकारीले बताए ।