धरान/धरान उपमहानगरपालिकाले १ अर्ब ७७ करोडको बजेट सिलिङ नगरसभामा प्रस्तुत गर्न लागेको छ ।

सोमबार कार्यपालिकाको बैठकपछि नगरसभाले एक अर्ब ७७ करोड ९१ लाख रुपैयाँ बराबरको बजेट सिलिङ प्रस्तुत गर्ने निर्णय गरेको हो । सङ्घीय सरकारको निर्देशन अनुरूप असार १० गतेसम्म बजेट सार्वजनिक गर्नुपर्ने समयसीमा तोकिएको छ । सोही अनुरूप धरान उपमहानगरले बजेट सार्वजनिक गर्ने तयारी गरेको हो ।

मङ्गलबार प्रस्तुत हुने बजेट अन्तर्गत सबैभन्दा बढी नगरका गौरब आयोजनालाई १५ करोड बजेट विनियोजन गर्न लागेको कार्यपालिका सदस्य तथा पूर्वाधार विकास समितिका संयोजक नरेश इवाराम लिम्बूल जानकारी दिए । उनका अनुसार क्रमागत योजनाका लागि १५ करोड नै बजेट विनियोजन गर्ने तयारी भएको छ । यसपटक शिक्षामा सबैभन्दा बढी २ करोड बजेट छुट्याइएको छ ।

खेलकुदमा पनि यस पटक गत वर्षभन्दा बढी बजेट विनियोजन गर्न लागिएको हो । खेलकुदमा १ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गर्ने तयारी गरिएको छ । पर्यटनमा १ करोड, स्वास्थ्यमा १ करोड ५० लाख बजेट विनियोजन गर्दैछ । नगरसभाले यसपटक ‘एक वडा, एक पार्क’ को योजना अघि सारेको छ । त्यसका लागि १ करोड बजेट विनियोजन हुँदैछ ।

नगरका गौरबका आयोजना जस्तैः सभागृह पुनर्निमाण, बसपार्क, विभिन्न पार्क निर्माणका लागि १५ करोड विनियोजन गरिन लागेको हो । सभागृहमा २ करोड ५० लाख रुपैयाँ, बसपार्कका लागि ९५ लाख रुपैयाँ, पार्क निर्माणमा २ करोड बजेट विनियोजन गरिँदै छ ।

सडक पूर्वाधार अन्तर्गत देशीलाइनको सडकमा मात्रै एक करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिन लागिएको छ । खहरेखोलाहरू नियन्त्रणमा १ करोड रुपैयाँ बजेट विनियोजन गर्न लागिएको छ । धरान–८ मा बन्न लागेको नमूना बस्ती निर्माणमा ८० लाख रुपैयाँ बजेट विनियोजन गर्ने तयारीमा नगरसभा रहेको छ ।