विराटनगर ।  मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता २०७६ हुने भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको सहयोग र अखिल नेपाल फुटबल संघको आयोजनामा मुख्यमन्त्री कप हुन लागेको हो ।

प्रतियोगिताको छनौट चरणको खेल प्रदेश १ को तीन जिल्लामा हुनेछ । आयोजक समितिले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि पहिलो चरणको छनौट खेल असार १६ गतेबाट सुरू हुने भएको छ । छनौट चरणको पहिलो उद्घाटन खेल उदयुपरको गाइघाटमा हुनेछ । उदपुरमा हुने पहिलो चरणको छनौट खेलमा पाँच जिल्लाको टिम सहभागि हुनेछ । मोरङ, खोटाङ्ग, उदयपुर, सोलुखुम्बु र ओखलटुङ्गाबाट आएका खेलाडीहरू छनौट लागि उदयपुरमा खेल्ने अखिल नेपाल फुटबल संघको प्रवक्ता तथा कार्यक्रम संयोजक किरण राईले जानकारी दिए । त्यस्तै तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा र सुनसरी जिल्लालाई लक्षित गरि छनौट चरणको खेल धरानमा असार १७ गतेबाट सुरू हुनेछ । यस्तै झापा, इलाम, पाँचथर र ताप्लेजुङ्गको छनौट चरणको खेल असार १८ गतेदेखि इलाममा हुनेछ ।

लिक चरणमा हुने खेलमा छनौट चरणबाट उत्कृष्ट अंक ल्याउने ६ वटा टिम फाइनल खेल्न विराटनगर आउनेछन् । फाइनल विराटनगरस्थित सहिद रङ्गशालामा हुनेछ । प्रदेश १ मा ११ वटा जिल्ला एन्फामा दर्ता रहेको छ । तेह्रथुम, ओखलढुङगा र सोलुखुम्बु गरि तीन जिल्ला एन्फामा दर्ता नरहेको प्रवक्ता राईले बताए । दर्ता नभएको जिल्लामा पनि एन्फाले समन्वय गरि खेलाडी बनाएर टिम बनाउनेछ ।

प्रतियोगिताको बिजेता नगद पाँच लाख तथा उपविजेताले तीन लाख रूपैयाँ प्राप्त गर्नेछन् । तेस्रो देखि छैठौंसम्म हुने टिमले जनही नगद ७५ हजार रूपैयाँ पाउने राईले बताए । जम्मा ३३ वटा म्याच हुनेछ । ३३ वटा खेलमा म्यान अफ द म्याच हुने खेलाडीले ५ हजार र फाइनलमा म्यान अफ द म्याच हुने खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । खेलको उत्कृष्ट खेलाडीले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । बेस्ट किपर, बेस्ट मिल्ड फिल्डर, फरवर्ड, बेस्ट कोचले पनि जनही २५ हजार रुपैयाँ रहेको एन्फाले जनाएको छ । प्रतियोगितामा भाग लिने १४ टिमले नगद ५० हजार रुपैयाँको साथै १५ थान फुटबल पनि पाउनेछन् ।

प्रतियोगिता सम्पन्न गर्न कुल १ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको कोषाध्यक्ष शान्ति पाख्रीनले जानकारी दिइन् । उनका अनुसार प्रदेश सरकारबाट १ करोड र एन्फाबाट ३३ लाख रुपैयाँ प्रतियोगिता गर्न सहयोग प्रदान गरेको बताइन् । प्रतियोगिता फाइनल कति गते हुने तोकेको छैन । प्रवक्ता राईका अनुसार उक्त प्रतियोगिताको फाइनल असार २७ गते हुन सक्ने भएका छन् । प्रतियोगिता सम्पन्न गर्न आयोजकले विभिन्न उपसमिति तथा आयोजक समिति गठन गरेको छ ।