धरान / यस्ता पनि ठाउँ छन् जहाँ एक गाग्री पानीका लागि दिन विताउनु पर्ने अवस्था छ । पानीको जोहो गर्न गएकै कारण बालबालिकाहरुको स्कुल छुटेको छ । हुँदा हुँदा गाउँमा युवाहरुलाई विवहाका लागि छोरी दिएका छैनन् । यि साह्रा समस्या खेप्न नसकेर हुँने खानेहरु बसाई सरेका छन् । तर दुँदा खानेहरु पीडा सहेर त्यही मरुभूमीमा जीवन बाँचिरहेका छन् ।
कुरा उदयपुरको पहाडी क्षेत्रमा पर्ने महाभारत शृंखलाका बस्तीहरुको हो । पानीको हाहाकारले स्थानीयहरु बसाई सर्ने क्रम बढेको छ । कतिपय स्थानमा पानी समस्याले विवहाका लागि छोरी नदिने गरेको पाइएको छ ।
चौदण्डी गढी गाउपालिकाको भञ्ज्याङ, कटरे, सुन्तलेबतासे, बेलका गाउँपालिकाको मैनामैनी क्षेत्रमा खानेपानीको चरम अभाव रहेको छ ।
चौडण्डी गाउँपालिकाको १ नं. वडाका गढी, भञ्ज्याङ, गैरीटोल, पाल्पाली, सुन्तले, फुर्केगढी, कटहरेलगायत क्षेत्रका करिव ढेड सय घर परिवार पानी समस्याले नै तराई बसाई झरेको गढीको स्थानीय टङ्क तामाङले बताए । उनले भने–‘यहाँ पानीको बढो दुख छ । धेरै जमिन हुने कोइराला सेढाईहरु जमिन बाँझो छाडेर तराई झरे । तराई झर्नेहरु बढेका छन् ।’ यहाँबाट उदयपुरको बसाहा, बेलटार, सप्तरीको फत्तेपुर, सुनसरीको नडाहा, भरौल, कालाबञ्जारतिर जाने गरेको तामाङले बताए ।

पढेका युवालाई छोरी दिन मान्दैैनन्
उदयपुरको गढी, भञ्ज्याङ, कटहरे, सुन्तले क्षेत्रका युवाहरुलाई विवहाका लागि थाहा पाउनेहरुले छोर िनै नदिने गरेको तामाङ बताउछन् । पानी लिन विहान ३ बजे उठेर कुवा गई विहानभरी पालोमा बस्दा छोरीहरुले दुख पाउने भन्दैं ति क्षेत्रमा छिमेकी गाउँबाट विवहा गर्न मान्दैंनन् । ‘पानी नै पाइदैंनन् । सबै काम माया मारेर पानीका लागि रात िदेखि नै लाइनमा बस्नु पर्छ । त्यही भएर यो गाउँमा केटाहरुलाई छोरी दिदैंनन ।’–तामाङले भने ।
यहाँ पानी त ओखती जस्तो छ
यस्ता समास्याबाट अजित भएका गाउँले भन्छन्–‘पानी नपाउनु, दुख पाउनुमा हाम्रो के दोष सरकार जो पढेलेखेका युवाहरुले विवहा गर्न छोरी पाउदैंनन् ।’ दक्षिणमा सप्तकोशी र उत्तरमा दुधकोशीको पानी हेरेर बस्दैं आएका चुरेवासीहरु पानी उपभोग गरेर होइन हेरेर जीवन विताउछन् । उनीहरुका लागि पानी ओखती जस्तो हुने गरेको छ ।

बुहारीलाई घर गरिखान चर्को
यहाँका स्थानीयहरु एक घण्टा हिडेर देविथानबाट कुवाको पानी खादैं आएका छन् । हाल यो सुख्खा यामका कारण सुकेकाले दुई घण्टाको बाटो हिडेर कालापानीको कुवाबाट पानी ल्याउने गर्छन । ‘दुई घण्टा हिड्नु पर्छ । पानी लिन विहान ३ बजे उठेन भने पालो पाइदैंन ।’–कालापानीबाट पानी लिएर फर्कदैं गर्दा भेटिएकी सीता थापाले भनिन–‘यो क्षेत्रमा घर गरिखान चर्को छ ।

पानी बोक्न जादा स्कुल भ्याउदैंनन बालिका
यता गढी क्षेत्रका बालबालिकाहरु विहान पानी लिन जादा स्कुल जान पाउदैंनन । । केही दिन अघि गढीका कक्षा ४ मा पढ्ने निसा तामाङ र माया तामाङ डोकोमा पानी गाग्री बोकेर पानी लिन जादैं गर्दा भेटिए । उनीहरु निकै हतास मनस्थितिमा दौडदैं थिए । ‘ढिलो गरे पालो पाइदैंन ।’–निसाले भनिन ।
विहान पानी लिन ५ बजे जादा फर्केर आउदा १० बज्ने गरेको उनको भनाई थियो ‘आमा पधेरा जानु हुदा मात्र स्कुल जान पाइन्छ हामीलाई पठाउनु भयो भने स्कुल जान पुगिदैंन ।’–निसाले आफ्नो बाध्यता सुनाइन ।
यहाँको पानीको समस्या नयाँ विषय भने होइन । बर्षौदेखि यहाँका स्थानीयले पानी अभाव भोगिरहेका छन् । केही बचेर तराईमा किन्न पुग्नेहरु बसाई सरेका छन् । तर तराईमा किन्न नपुग्ने हरु अभाव झेल्दै यही बसेका छन् ।
आर्थिक बर्ष सकनि लाग्यो काम भरखर शुरु
प्रदेश सरकारले चौदण्डीगढीको खानेपानी अभाव टार्न ९० लाखको बजेट विनियोजन गरेको थियो । उक्त बजेटले गढीबाट करिव ६ सय मिटर तल बलेनी खोलाबाट पानी ल्याउन आयोजना संचालन गरिएको छ । आयोजनाको अवधी सकिने केही दिन मात्र हुदा भरखर काम शुरु भएको गढीका टङ्क तामाङ बताउछन् । राजनीतिक खिचातानीले उपभोक्ता समिति नबने पछि आयोजना शुरु हुन ढिलाई भएको उनको भनाई छ ।