देशको समृद्धि र विकास लागि वडाबाट शुरु गरे मात्र सम्भव छ । राज्यको तल्लो निकाय अर्थात् देशको महत्वपूर्ण जगको रुपमा रहेको वडाबाट विकास निर्माण अभियान सञ्चालन गरी मुलुककै विकास र समृद्धिको गतिलो जग हाल्न सकिन्छ । हाम्रो देशमा पछिल्लो पटक राज्यको पुनर्संरचनाबाट ७७ जिल्ला, १ सय ६५ वटा सङ्घीय निर्वाचन क्षेत्र, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र, ७ सय ५३ वटा स्थानीय तह र ७ हजार ६ सय ४३ वटा वडाहरू रहेका छन् ।

bijaya-santoshi-rai

नागरिकहरुसँग प्रत्यक्ष रूपमा सम्पर्क हुने तल्लो निकायको रूपमा वडाहरू रहेकाले पनि महŒवपूर्ण र शक्तिशाली निकायको रूपमा वडा मानिन्छन् । घरदैलोमा नै नागरिकहरूलाई सरकारी सेवा सुविधा प्रदान गर्न सजिलो र सहज बनाउनका लागि पनि यतिका धेरै वडाहरू बनाएको हो । वडाहरूलाई राज्यको सबैभन्दा तल्लो विकास र प्रशासनिक इकाईको महत्वपूर्ण अङ्गको रूपमा पनि अहिले विकास गर्न खोजिएको छ । वडाको उन्नति, विकास र समृद्धि नै समग्रह देशको विकास र समृद्धी हो ।

हाम्रो संविधानले पनि सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पुर्याउने परिकल्पना गरेकाले वडालाई सर्वाधिक शक्तिशाली बनाउनु जरुरी भएको छ । वडा कार्यालय भनेको स्थानीय सरकारको जनताको पहु“च भएको सबैभन्दा तल्लो अधिकार सम्पन्न प्रशासनिक निकाय हो । वडामा सम्पूर्ण वडाबासीको पहुँचको सुनिश्चितता हुन्छ । राज्यको तल्लो तहको एकमात्र सम्पर्क तथा समन्वय र सहजीकरण गर्ने माध्यम वडा कार्यालय र वडाध्यक्ष हो । त्यसैले वडामा वडा कार्यालय भनेको सिंहदरवार र वडाध्यक्ष भनेको प्रधानमन्त्रीको रूपमा वडाबासीहरुले अहिले आशा गरेका छन् ।

वडामा निर्वाचित वडाध्यक्षलगायत सदस्यहरू बढी जिम्मेवारी र जवाफदेही बन्नुपर्छ र आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ । वडाको विकास र समृद्धिका साथै वडामा शान्तिसुरक्षा, सुशासन कायम गर्नका लागि हेरक सम्भावना र चुनौतिलाई समेत ख्याल राख्दै वडाध्यक्षलगायत वडाका जनप्रतिनिधिहरूले विशेष ध्यान दिनुपर्छ । आफ्ना वडामा भएका वडाका विकासको लागि सम्भावना बोकेका ऐतिहासिक तथा सामरिक, पुरातात्विक महत्वका मठ मन्दिर, गढी, दरबार नदीनाला, वन जङ्गल, हिमाल, पहाड, झरना लगायतका पर्यटकीय स्थलहरू, शिक्षण संस्थानहरू, फलफूल तथा तरकारी खेती, चिया खेती लगायत नगदेबाली हुने खेतीयोग्य जमिनहरूको बारेमा सूची तयार गरी वडाको विकासका लागि विशेष योजना निर्माण गर्दै पकेट क्षेत्रहरू निर्धारण गर्नुपर्छ ।

वडाध्यक्षले वडाको हरेक विकासलगायत सबै गतिविधिहरूमा सदस्यहरू सहित वडावासीहरूलाई जानकारी गराउँदै प्रत्यक्ष सभागिता गराई सहयोग लिनुपर्छ । वडाध्यक्षलगायत वडाका सबै सदस्यहरूले आफ्नो वडाको सबै भौतिक, सामाजिक, सांस्कृतिक, आर्थिक वस्तुस्थितिबारे राम्रोसँग जानकारी राख्नुपर्छ र सबै वडाबासीहरुलाई पनि जानकारी दिनु पर्छ । वडाका सम्पूर्ण क्षेत्रको तथ्याङ्क सहितको विवरण वडाध्यक्षलगायत वडाका सदस्यहरूलाई स्पष्ट रूपले अनिवार्य रूपमा जानकारी हुनुपर्छ । अनि मात्र वडाको कुन क्षेत्रमा कस्तो खालको योजना कुन किसिमको योजना बनाउने थाहा भई सही रूपमा समग्र वडाको योजना तर्जुमा गर्न सकिन्छ ।

विकासको मुख्य स्रोत भनेको जमिन र जनशक्ति नै हो । वडाका जनप्रतिनिधिहरूले योजना बनाउने विधि तथा प्रक्रियाको बारेमा जान्नै पर्छ । अनि मात्र वडालाई कस्तो बनाउने कुन किसिमले विकास गर्ने भन्ने विषयमा दूरदर्शी दृष्टिकोण बनाउन सकिन्छ । वडाको कुन ठाउँमा अस्पताल बनाउने, कुन ठाउँमा शिक्षण संस्था राख्ने, हाटबजार राख्ने, खेल मैदान निर्माण गर्ने, उद्योग सञ्चालन, फोहर मैला व्यवस्थापन, आवासीय क्षेत्र, पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, विद्यालय क्षेत्र, वनजङ्गल क्षेत्रलगायतका विषयमा स्थलगत अध्ययन गरेर निर्णय लिनु उपयुक्त हुन्छ । खानेपानी, मोटरबाटो लगायतको उचित व्यवस्था गर्नुपर्छ ।

वडाको विकासको लागि तत्कालीन, अल्पकालीन, मध्यकालीन, दीर्घकालीन योजनाहरू बनाएर वडाको विकास अभियान तिव्र रूपमा सञ्चालन गर्नुपर्छ । विकासका योजनाहरूसँग वडाकार्यालयले माथिल्लो तहका सरकारहरू, सरकारी निकायहरू तथा गैरसरकारी निकायहरू सबै संघ संस्थाहरूसँग समेत समन्वय गर्ने महत्वपूर्ण काम हो । हाम्रो मुलुक गरिब भएकाले ज्यादा लगानी गर्न नसक्ने भएकाले कम लगानीमा हुने पर्यटन तथा साना उद्योग र कृषि क्षेत्रलाई वडाहले विशेष प्राथमिकता दिई पर्यटन, साना उद्योग तथा कृषिबाटै कम लगानीमा चाँडो वडाको विकास गर्नका लागि विशेष योजनाका साथ अभियान शुरु गर्नु आजको पहिलो आवश्यकता भएको देखिन्छ ।

विकास निरन्तर चलिरहने प्रक्रिया भएकाले परम्परागत विकासलाई निरन्तरता दिनुभन्दा बढी वडाबासीहरू लगायत अन्य वडावासीहरुले समेत थाहा पाउने गरी, देखिने गरी नयाँ नयाँ किसिमका योजनाहरू सञ्चालन गर्नुपर्छ । वडाको केन्द्रमा ठूलो र अग्लो घण्टाघर सहितको टावर निर्माण, वडाको सिमानामा पक्की तथा भव्य र आर्कषक स्वागत गेट (स्वागत द्वार) को निर्माण गर्नुपर्छ । वडामा प्रमुख पर्यटकीय केन्द्रहरूको स्थापना गरी त्यहाँ सम्म जाने पक्की बाटाको निर्माण गरी व्यापक प्रचार प्रसार गरी दैनिक हजारौँ पर्यटकहरू भित्र्याउनुपर्छ ।

वडाध्यक्षले सबै निकाय तथा संघ–संस्थाहरूलाई एकै ठाउँमा राखी सबै कार्यक्रमको समन्वय गरी कार्यक्रम तथा विकासका योजनाहरू प्रभावकारी रूपमा सञ्चालन गर्न लगाउनुपर्छ । कतै दोहरो र नक्कल–झक्कल (डुप्लिकेशन) गर्न दिनुहुँदैन । वडाका जनप्रतिनिधिहरू तथा कर्मचारीहरूमा अहिलेको प्रविधिको राम्रो ज्ञान हुन अति आवाश्यक हुन्छ । उनीहरूले कम्प्युटर, इमेल इन्टरनेट, ट्विटर लगायतका प्रविधि चलाउन जान्नुपर्छ । वडा कार्यालय, सार्वजानिक स्थलहरू, स्वास्थ्य चौकी, चौकहरू लगायत महत्वपूर्ण पर्यटकीय स्थलहरूमा निशुल्क वाईफाईको व्यवस्था गर्नुपर्छ ।

वडाको वेभसाइट बनाएर वडाको सम्पूर्ण जानकारी वडावासीहरूलाई गराउनुपर्छ । वडाका योजनाहरू र वडाका लागि, वडाका योजनाकाहरूका साथ पालिका स्तरीय योजना, प्रदेश र सङ्घीय सरकारबाट आएका योजनाहरूको समेत कार्यान्वयनका लागि वडाध्यक्षहरू र वडाका सदस्यहरूले विशेष ध्यान दिनुपर्छ । योजना निर्माण गरेर मात्र पुग्दैन, योजनाको कार्यन्वयन गर्नु पनि महŒवपूर्ण हो । वडाको योजना लगायत अन्य क्षेत्रबाट आएका योजनाहरू कार्यान्वयन गर्दा वडावासीहरूको आवाश्यकता, चाहनाअनुरूप वडावासीहरूकै सहभागिता र सक्रियतामा सञ्चालन गरेमात्र योजनाको लक्ष्य प्राप्ति हुने र सफलता हासिल हुनाले वडाको दिगो विसकास गर्न सकिन्छ ।

वडाको आम्दानी, पालिका, प्रदेश तथा सघीय सरकारबाट प्राप्त हुने अनुदान रकम र अन्य संघ संंस्थाहरूसँग समन्वय गरी वडाले योजनाहरु निर्माण गर्दा वडाबासीहरुको आवश्यकतालाई ध्यान दिई ठूला भन्दा पनि मध्यम र साना योजनाहरू जस्तै : साना तथा छोटा सडक निर्माणहरू, विद्यालय, बाटो निर्माण, स्वास्थ्य चौकी, कुलोनिर्माण, खानेपानी, फोहरमैला व्यवस्थापन, विपद व्यवस्थान, मल बिउ वितरण, खेलमैदान निर्माण, पर्यटन क्षेत्रको सम्वद्र्धन तथा प्रवद्र्धन लगायतका वडा स्तरीय योजनाहरू छनौट गरी कार्यन्वयन गर्नुपर्छ ।

वडामा आवश्यकता पर्ने ठूला योजनाहरू केन्द्रीय सरकार, प्रदेश सरकार, पालिकाबाट र स्वदेशी तथा अन्तराष्ट्रिय दातृसंस्थाहरूको सहयोगबाट बजेट ल्याई कार्यान्वयन गर्न विशेष पहल गर्नुपर्छ । सिँचाईको अभाव, मलखाद र बीउविजनको उचित बन्दोवस्ती र बजारको समेत राम्रो व्यवस्था हुन नसक्दा कृषि प्रणाली, निर्वाहमुखी मात्र बन्दै गएकाले वडाले खेतीयोग्य जमिनमा सिँचाईको भरपर्दो र उचित व्यवस्था गरी कृषिलाई व्यावसायिकीकरण, औद्योगिकीकरण र उत्पादनशीतामा वृद्धि गरी बेरोजगार युवाहरुलाई वडा भित्रै रोजगार बनाई आत्र्मनिभर बनाउन सकिन्छ ।

वडामा योजना सफलतापूर्वक कार्यन्वयन गर्नका लागि महत्वपूर्ण पाटोका रूपमा अनुगमन पनि भएकोले वडाध्यक्ष लगायतका वडाका जनप्रतिनिधिहरूले अनुगमनलाई समेत विशेष ध्यान दिई प्रभावकारी बनाउनुपर्छ । हरेक योजनाको अनुगमन समिति बनाएर बिशेष जिम्मेवारी दिएर अनुगमन गर्न लगाउनुपर्छ अनि मात्र सही रूपमा काम हुन सक्छ । वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरूले वडाभित्र कालोबजारीलाई नियन्त्रण गर्नुपर्छ, मिसावट गर्न दिनुहुँदैन, रासायनिक प्रयोगलाई कम गर्दै अर्गानिक खेती र प्रयोगलाई बढी प्राथमिकता दिनुपर्छ । यसका लागि छुट्टै अनुगमन समिति बनाई छड्के निरीक्षण समय–समयमा गर्नुपर्छ । गुणस्तरीयता र पारदर्शिताका लागि जनगुनासाहरूका लागि वडाले स्वतन्त्र संस्थामार्फत् सार्वजानिक सुनुवाइसमेत प्रत्येक ६-६ महिनामा गर्नुपर्छ ।

सिंहदरबारको अधिकार गाउँ गाउँ सम्म भन्ने नारा राजनैतिक दलहरूले निर्वाचनताका घन्काएता पनि निर्वाचन सकिएको यतिका लामो समय सम्म पनि गाउँ तथा वडाका विकासमा खासै ध्यान नदिँदा र वडालाई अधिकार सम्पन्न बनाउनेतर्फ कुनै पनि तहको सरकार अग्रसर नुहँदा गाउँ गाउँका जनता अहिले व्यङ्ग्य गर्न थालेका छन् – गाउँ गाउँमा सिंहमात्र आयो सिंहदरबार अहिले सम्म आएन । वडाध्यक्ष तथा वडाका सदस्यहरू जनताका वास्तविक प्रतिनिधिहरू भएकाले वडाको विकास र समृद्धि गर्नुका साथै वडाबासीहरूलाई दुःख–सुखमा समेत साथ दिनुपर्छ ।

वडाको समग्र विकासका लागि वडाध्यक्ष र वडाका जनप्रतिनिधिहरूले सबैसँग समन्वय गर्दै वडालाई नमुनाकै रूपमा विकास गर्नुपर्छ । वडाको समग्र विकास गर्न सकियो भने मात्र महानगरपालिका-उपमहानगरपालिका-नगरपालिका-गाउँपालिका विकास हुँदै समग्र मुलुकको विकास हुन्छ । त्यसैले अब सबैले र सबै तहका सरकारहरूले वडाको विकासका लागि विशेष ध्यान दिँदै वडाबाटै विकास र समृद्धिका लागि सबैभन्दा पहिले अभियान सञ्चालन गरौँ । अहिले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार शक्तिशाली र मजबुत–समेत रहेकाले वडाध्यक्ष तथा वडाका जनप्रतिनिधिहरूले वडाको समग्र विकासका लागि ठूलो अवसरको रूपमा समेत लिनुपर्छ ।
[email protected]